पदाधिकारीको विवादले खेलाडी मारमा

पदाधिकारीको विवादले खेलाडी मारमा

काठमाडौं : खेल पदाधिकारीको व्यक्तिगत र राजनीतिक स्वार्थ केन्द्रित विवादका कारण खेलाडी मारमा पर्नु नेपाली खेलकुदको पुरानो रोग हो। ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको संघारमा त पदाधिकारीबीचको विवादले झनै चरम रूप लिन्छ। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक होस् वा एसियाली खेलकुद। पदाधिकारीबीचको विवादको झिल्को नेपाली खेलाडी र खेल पदाधिकारीसँगै त्रिभुवन विमानस्थल हुँदै विदेशी भूमि (प्रतियोगिता आयोजनास्थल) सम्म पुग्ने गरेको छ।

पछिल्लो समय, आगामी अक्टोबरमा इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुने ‘एसियन पारा खेलकुद’ (फरक क्षमता भएकाहरूको खेलकुद) मा नेपालको सहभागिता समेत खेल पदाधिकारीको आपसी विवादको मारमा परेको छ। प्रतियोगिताको मिति नजिकिँदै जाँदा नेपाली खेलकुदमा अस्तित्वमा रहेका दुई पारा ओलम्पिक खेलकुदका पदाधिकारी खुलेरै एकअर्कामाथि आरोप प्रत्यारोपमा ओर्लिएका छन्। प्रतियोगिताको तयारीमा व्यस्त खेलाडीहरू भने त्यसको मारमा परेका छन्।

‘एसियन पारा खेलकुद’ सुरु हुन एक महिनाभन्दा कम समय बाँकी रहे पनि दुई खेल निकायबीचको विवादकै कारण नेपाली खेलाडी आफ्नो सहभागिताको विषयमा समेत ढुक्क बन्न सकिरहेका छैनन्। ‘एसियन पारा खेलकुद’ अक्टोबर ८ देखि १६ तारिख (असोज २२ देखि २० गतेसम्म) सम्म जकार्तामा आयोजना हुँदैछ। तर, उक्त प्रतियोगितामा आफूले खेलाडी पठाउन पाउनु पर्ने दाबीसहित नेपाली पारा खेलकुदमा सक्रिय दुईवटा संघ एकअर्काको विरोध गर्दै विभिन्न खेल निकाय धाउन व्यस्त छन्।

राधा घलेको नेतृत्वमा रहेको ‘राष्ट्रिय पारालम्पिक कमिटी नेपाल’ लाई अन्तर्राष्ट्रिय पारालम्पिक कमिटीको मान्यता प्राप्त भने दीपक कोइरालाको नेतृत्वमा रहेको अर्को ‘नेपाल पारा ओलम्पिक कमिटी’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले एसियन पारा खेलकुदमा खेलाडी पठाउने अधिकार आफूलाई मात्र रहेको राष्ट्रिय पारालम्पिक कमिटीका पदाधिकारीको दाबी छ भने राष्ट्रिय मान्यता पाएकाले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीले स्थान पाउनुपर्ने नेपाल पारा ओलम्पिक कमिटीका पदाधिकारीको अडान रहँदै आएको छ।

अनि, यी दुई खेल संघका पदाधिकारीको ‘स्वार्थकेन्द्रित’ विवादको प्रत्यक्ष मारमा परेका छन्, अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा व्यस्त रहनु पर्ने खेलाडीहरू। अन्य राष्ट्रका खेलाडीहरू प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त रहँदा नेपाली खेलाडी भने आफ्नो सहभागिताको विषयमै अन्योलमा छन्। ‘मलाई एथलेटिक्समा भाग लिने भनिएको छ तर, अझै मेरो सहभागिता निश्चित भइसकेको छैन’, सीता भण्डारी भन्छिन्, ‘पदाधिकारीबीच विवाद नभइदिए हामी खेलाडीले ढुक्क भएर खेल्न पाउने थियौं।’

अर्का खेलाडी केशव थापा पनि प्रतियोगितामा आफ्नो सहभागिता अझै अनिश्चित रहेको बताउँछन्। ‘अन्योलबीच पनि म लैनचौरमा आफ्नै तरिकाले तयारी गरिरहेको छु। तयारी राम्रै छ। दुई संघबीच विवाद छ भन्ने सुनिन्छ। हामी खेलाडीले देशका लागि खेल्ने हो। पदाधिकारीहरू पनि मिलेर आए हामीले तनावमुक्त भएर खेल्न पाउने थियौं’, प्रतियोगितामा भाग लिने भनिएका टेबुलटेनिस खेलाडी थापा भन्छन्।

राष्ट्रिय पारालम्पिक कमिटीकी अध्यक्ष घले भने नेपालले एसियन पारा खेलकुदमा ६ वटा खेलमा भाग लिने निश्चित भइसकेको बताउँछिन्। घलेका अनुसार, प्रतियोगितामा नेपालले एथलेटिक्स, पौडी, टेबुलटेनिस, पावर लिफ्टिङ, जुडो र ब्याडमिन्टन खेलमा सहभागिता जनाउनेछ। ‘प्रतियोगितामा ६ वटा खेलका २५ जना खेलाडीले भाग लिनेछन्। खेलाडीको छनोट गरेर हामीले नामसमेत पठाइसकेका छौं। अहिले खेलाडी पनि तयारीमा व्यस्त छन्’, घले भन्छिन्।

३ नम्बर प्रदेशसभा सदस्यसमेत रहेकी घले खेलाडी र पदाधिकारी गरी ३१ जनाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भए पनि प्रतियोगिता सुरु हुँदासम्म यो संख्या बढेर ४२ सम्म पुग्न सक्ने बताउँछिन्। ‘हामीले पठाउने भनेको ३१ जनामात्र हो तर, केही पदाधिकारीले आफ्नै खर्चले भए पनि जाने इच्छा गर्नु भएको छ’, उनी भन्छिन्। उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि केही व्यक्तिले जहिले पनि विवाद निकाल्ने गरेको आरोप लगाउँछिन्।

‘फरक क्षमता भएका खेलाडीले पनि देशकै गौरव बढाउन खेल्ने हो। तर, केही व्यक्ति भने जहिले पनि अनावश्यक विवाद झिकेर खेलाडीलाई मानसिक तनाव दिने काम गर्छन्। विगतमा पनि उनीहरू जापानी दूतावास घेर्नेदेखि लिएर विमानस्थलमै कालो झन्डा देखाउनसमेत पछि परेनन्’, घले भन्छिन्, ‘अहिले पनि विभिन्न निकायमा हाम्रो विरोध गर्दै हिँडेका छन्। यस्तो कार्यले खेलाडीलाई पनि मानसिक तनाव पर्छ।’

उनी राखेपमा दर्ता रहेको नेपाल पारा ओलम्पिक कमिटीका पदाधिकारीले सरकारबाट अनुदान प्राप्त गरे पनि खेलाडीको हितमा कुनै गतिविधि नगरेको आरोप पनि लगाउँछिन्। ‘हामी मिलेर अघि बढ्न तयार छौं तर, उहाँहरू मिल्न चाहनुहुन्न। सरकारबाट अनुदान प्राप्त गरे पनि उहाँहरूले खेलाडीको हितमा काम गरेको हामीलाई थाहा छैन’, घलेको आरोप छ। आफूहरूलाई एसियन पारा खेलकुदमा भाग लिन समेत सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ।

नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष कोइराला भने घलेको नेतृत्वको कमिटी गैरकानुनी भएको दाबी गर्छन्। ‘उहाँहरूको कमिटी गैरकानुनी हो। राखेपमा पनि दर्ता छैन। अदालतले समेत चार वर्षअघि नै त्यो कमिटी आधिकारिक नभएको फैसला सुनाइसकेको छ’, कोइराला भन्छन्, ‘अदालतले त्यो कमिटीलाई देशभित्र प्रतियोगिता आयोजना गर्न र आधिकारिक रूपमा खेलाडी विदेश लैजान पनि रोक लगाएको छ।’

एसियन पारा खेलकुदमा सहभागी गराउन खेलाडी छनोटसमेत नगरिएको आरोप पनि उनले लगाए। ‘उहाँहरूले एसियन पारा खेलकुदका लागि खेलाडीको छनोट पनि गर्नु भएको छैन। मनखुसी खेलाडी छानिएको छ। हामीले राष्ट्रिय प्रतियोगिता गरेर तयार पारेको खेलाडीलाई पनि विदेश भ्रमणको प्रलोभन दिने काम भइरहेको छ’, कोइराला भन्छन्। आफूहरू विवाद समाधानका लागि इच्छुक भए पनि अर्को पक्षले मिल्न नचाहेको आरोपसमेत कोइरालाको छ।

राखेपका सदस्यसचिव केशवकुमार विष्ट भने राष्ट्रिय पारालम्पिक कमिटीलाई अदालतले मान्यता नदिएको र राखेपमा समेत दर्ता नरहेकाले उनीहरूको गतिविधिको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताउँछन्। ‘एसियन पारा खेलकुदका लागि खेलाडी कसरी छानिए र कति खेलाडी सहभागी हुँदैछन् भन्ने विषयमा राखेपलाई कुनै जानकारी छैन’, विष्ट भन्छन्, ‘राखेपले अदालतको फैसलाको सम्मान गर्नुपर्ने भएकाले पनि त्यो संघको गतिविधिमा हाम्रो कुनै संलग्नता रहने गरेको छैन।’

नेपाली खेलकुद लामो समयदेखि पदाधिकारीहरूको विवादमा अल्झँदै आएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको आडमा अधिकांश खेल संघ दुई खेमामा विभाजित छन्। खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पुलको रूपमा काम गर्ने राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) आफै पनि लामो समयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता गरी दुई चिरामा विभाजित छ।

भर्खरै इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औं एसियाली खेलकुद (एसियाड) का लागि खेलाडी र प्रशिक्षक छनोटको विषयलाई लिएर समेत थुप्रै खेल संघमा विवाद देखिएको थियो। एसियाडअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि नतिजामुखी मानिएका तेक्वान्दो र कराँतेजस्ता खेलमा समेत चरम विवाद देखिएको थियो। खेल संघका पदाधिकारी आपसी विवादमा अल्झिएर बस्ने अनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीबाट पदकको आशा गर्ने प्रवृत्ति नेपाली खेलकुदको विकासमा सबैभन्दा ठूलो बाधक बनेको देखिन्छ। युवा तथा खेलकुद मन्त्रालय र राखेपजस्ता नेतृत्वदायी खेल निकाय पनि यस्ता विवाद समाधान गर्न निरीह देखिँदै आएका छन्। एसियन पारा खेलकुदमा ४३ राष्ट्रका खेलाडीले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा १८ वटा खेल समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.