राई इज किङ, कारण गेटअप पनि
राजेशपायल राई चर्चित गायक हुन्। फ्यानहरूमाझ उनको गेटअपलाई लिएर निकै चर्चा हुने गरेको छ। रबरले बाँधेको लामो कपाल मुसार्दै राई भन्छन्, ‘मैले कपाल नकाटे, त्यही पनि फेसन बन्छ।’ ‘फैलियो माया दूबोसरि’, ‘बैगुनी रैछौ मायालु’, ‘दर्शन नमस्ते’ जस्ता चर्चित गीतका गायकसमेत हुन् उनी। राईको गेटअपमाथि समीरबाबु कट्टेलले गरेको कुराकानी :
पहिले एकैपटक दुवै हातमा घडी लाउँथेँ। छालामा एलर्जी भएपछि लाउनै छाडिदिएँ। आजकल घडीको काम मोबाइलले गर्छ।
तपाईंलाई मन पर्ने पहिरनबारे भन्नुस् न !
म फेसनेबल मान्छे होइन। जे पहिरनले सुहाउँछ, त्यही लगाउँछु। चाहे त्यो ब्रान्डेड होस् वा सस्तो ! संसारभर चलेको ब्रान्ड भन्दैमा त्यसको पछि लाग्दिनँ। प्राय टिसर्ट, जिन्स पाइन्ट लगाउँछु। अहिले लगाएको योे जुत्ता इटालियन ब्रान्डको हो। प्रायः कन्भर्स सुज मन पराउँछु।
जुत्तामा नेपाली ब्रान्ड प्रयोग गर्नुभएको छैन ? छाला जुत्तामा त नेपाल आत्मनिर्भर बन्दै गएको छ नि !
हामीले नेपाली उत्पादन लगाउनुपर्ने पक्कै हो। तर, म नेपालमा सपिङ गर्दिनँ। विदेश गएको बेला बढी किनमेल गरिन्छ। पहिले सपिङ गर्न ममीसँग जान्थेँ। त्यस बेला नेपाली ब्रान्ड नलगाएको होइन। तर, म जहिलेबाट आत्मनिर्भर बन्दै गएँ र आफूूखुसी पैसा खर्च गर्न सक्ने भएँ, त्यसै बेलादेखि कन्सर्टमा जाँदा विदेशमै किनमेल गर्छु। ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ पनि त हुन्छ !
कुन ब्रान्डको जिन्स लगाउनुहुन्छ ?
म धेरैजसो जारा, सिल्भररोटका जिन्स–कपडा लगाउँछु। हामी एसियनको फिटिङमा प्रायः यिनै त हुन्छन् नि !
तपाईंको कपाल सधैं आकर्षक हुन्छ। कपालको स्टाइल पनि फरक हुन्छ ! आफ्नै कपालबारे बताइदिनुस् न !
म २०६५ सालदेखि ब्युटी क्लब एसको ब्रान्ड एम्बेसेडर हुँ। त्यहाँ सान्ड्रा पुनकै रोजाइमा मेरो कपाल बनाइन्छ। कपालको हकमा बढीभन्दा बढी कोरियन सेलिब्रिटी र गायकको स्टायलबाट प्रभावित छु। कपालमा हार्ड जेल लगाउँछु। कपाल लामो हुँदा त्यो पनि आवश्यक पर्दैन। हेड एन्ड सोल्जर स्याम्पुले नुहाउँछु। गाउँतिर गएका बेला सबै सामान बोकिँदो रहेनछ। जे पाइन्छ त्यही प्रयोग गर्छु।
तपाईंको अनुहार सधैं उस्तै, चम्किलो र कलकलाउँदो देखिन्छ। कसरी ?
म अनुहारको सौन्दर्यमा खासै ध्यान दिन्नँ। आजसम्म फेसियल, क्लिन्जिङ आदि गरेको छैन। एकताका सान्ड्राजीले फेसियल गरौं भन्नुभएको थियो तर मैले नै मानिनँ। उहाँहरूको भाषामा मेरो फेस ओइली छ रे। म नेचुरल मन पराउँछु। कुनै सुटिङमा पनि आजसम्म मेकअप गरेको छैन।
औंलामा फलामको औंठी रैछ। ग्रहदशामा विश्वास गर्नुहुन्छ ?
ग्रहदशा हेराउँदिनँ। मेरो राशि तुला हो रे भन्नेसम्म थाहा छ। राशिमा त्यति विश्वास पनि लाग्दैन। यो औंठी जुम्लातिरबाट भुवन भन्ने एउटा भाइले ल्याइदिएको हो। ती भाइले ‘यो औंठीले राम्रो गर्छ’ भन्यो, लगाइहालेँ। चारपाँच वर्षजति भयो। फापेजस्तो पनि लाग्दैछ।
पहिले दुवै कानमा टप हुन्थ्यो क्यारे ! आज एउटा मात्रै कानमा टप छ नि !
हो, सुनको टप लगाउने गरेको छु। अस्ति नुहाउँदा एउटा खसेछ। त्यसपछि लगाएको छैन।
यति व्यस्त भएर पनि घडी लगाउनुभएको छैन। मोबाइलले नै काम चलाउन थाल्नुभएको हो ?
– पहिले एकैपटक दुवै हातमा घडी लगाउँथेँ। छालामा एलर्जी भएपछि घडी छाडिदिएँ। हो, आजकल मोबाइलले नै काम चल्छ।
मोबाइलचाहिँ कुन ब्रान्डको बोक्नुहुन्छ ?
– अहिले चलाइरहेको मोबाइल आइफोन, एक्स हो। यो निस्किँदा म अमेरिकामा थिएँ। उतै किनेको। अर्को फेर्न मन लागेको छैन।
दुबै हातमा चुरा लगाउनुभएको छ नि ! किन ?
– यसलाई पोजेटिभ भाइब्स भन्छन्। हीरा, पन्ना त्यस्तै के पो हो ! नक्षत्रको आधारमा लगाएजस्तै हो। यो बुद्धिज्मसँग सम्बन्धित छ। यसले सकारात्मकतातिर धकेल्ने विश्वास गरिन्छ। अर्कोचाहिँ यो रिफ्लेक्सन अफ वेभ्स पनि हो। अमेरिकामा यो अनलाइनबाट किन्न पाइन्छ।
माला पनि लगाउनुभएको रैछ !
हो, दुईवटा लगाएको छु। लामो मालाचाहिँ विदेशमा किनेको। यसले सकारात्मक सोच अभिवृद्धि गर्छ भन्ने विश्वास छ। ५६ हजार रुपैयाँ परेको थियो। अर्कोचाहिँ यतै मन्दिरतिर पाइने डोरो हो।
टुथपेस्ट कुन चलाउनुहुन्छ ?
दाँत धेरै नै संवेदनशील हुँदो रहेछ। पहिलेपहिले बाक्लै सफा पनि गराएँ। त्यति बेला धेरै चुरोट खाएर होला, असाध्यै बिग्रिएको थियो। अहिले सामान्य हुँदै छ। प्रायः पतञ्जलीको पेस्ट प्रयोग गर्छु। लिस्ट्रिन भन्ने ब्रान्डको झोलले मुख कुल्ला गर्छु। मेरो सास गन्हाउँदैन। त्यसमा भने ढुक्क छु।
तपाईंको गेटअपमा कति खर्च हुन्छ ?
यति नै खर्च हुन्छ भन्ने लेखाजोखा राख्दिनँ। जे मन पर्छ, त्यही किनिहाल्ने बानी भएकाले पनि ठ्याक्कै भन्न सम्भव छैन। पहिलेपहिले धेरै नै गिफ्ट आउँथ्यो। आजकल गिफ्ट पातलो भएको छ।
तपाईंका हितैषी, शुभचिन्तकबाट गिफ्ट आओस् भन्ने लाग्छ ?
– घडी लाउँदैन भन्ने थाहा नभएर होला, धेरैजसो घडी नै गिफ्ट आउँछ। भरसक कसैले पनि गिफ्टको कष्ट नगरून् जस्तो लाग्छ। तर, स्नेहपूर्वक दिएका उपहार स्वीकार गर्छु।
बाल्यकालका पहिरनबारे पनि बताइदिनुस् न !
– म खोटाङको बुइपा गाउँमा हुर्किएँ। सानो हुँदा बुवाले जे ल्याइदिनुहुन्थ्यो, त्यही लगाउँथेँ। दाजु रविन र म दामले (एकै उमेरको) भएकाले बुवा हामीलाई एउटै रङको, एकैखाले कपडा ल्याइदिनुहुन्थ्यो। हामी सानो छँदा घरमै दर्जी बोलाएर कपडा सिलाउने चलन थियो।