डान्स नै मेरो ब्वाइफ्रेन्ड
कविता नेपाली ‘बुगी वुगी डान्स कम्पिटिसन’को टाइटल विजेता हुन्। टाइटल जितेपछिको अनुभव, भावी योजना आदिबारे उनीसँग अजवी पौड्यालले गरेको कुराकानी :
कविताजी, अचेल केमा व्यस्त हुनुहुन्छ ?
बुगीवुगीमा टाइटल जितेको एक महिना जति भयो। विभिन्न कार्यक्रमबाट बोलाइरहन्छन्, जानै प¥यो। अहिले म्युजिक भिडियोमा पनि हात हालेको छु। ११ कक्षामा ‘बिजनेस म्यानेजमेन्ट’को विद्यार्थी हुँ। समय मिलाएर कलेज जान्छु।
बुगीवुगीमा जानुअघि र विजेता बनेपछि आफूमा के फरक पाउनुभयो ?
त्यस्तो धेरै फरक त केही भएन तर धेरैले चिन्न थाले। मैले नचिनेका मान्छेले पनि बोलाउन थाले। धेरै जनासँग फोनबाटै परिचय हुन्छ। तर, कसैसँग लामो कुराकानी गर्ने फुर्सद नै पाइरहेको छैन। जित्नुअघि कसैले चिन्दैनथे।
सानैमा सेलिब्रिटी बन्नुभयो हगि ?
सेलिब्रिटी त भइसकेकी छैन। म एउटा साधारण डान्सर हुँ। एउटा अवसरले मलाई हाइटमा भने पु¥यायो, नसोचेको सफलता पाएँ। सानै उमेरमा पाएको यो सफलता र चर्चालाई कसरी जोगाउने होला ? दिमागमा यही आइरहन्छ।
बुगीवुगीको विजेता भएपछि तपाईंको आनीबानी पनि फेरियो कि ?
फेरियो नि। बोल्न, प्रश्नहरू ‘फेस’ गर्न, आफूलाई सहज तरिकाले प्रस्तुत गर्न सक्छु। अहिले कन्फिडेन्स बढेको छ। ढुक्क भएर कसैसँग पनि कुरा गर्न सक्छु। पहिला त डर लाग्थ्यो।
अबको योजना ?
डान्स क्षेत्रमा अझै धेरै काम गर्ने सोच बनाएकी छु। सानैदेखि डान्समा मेरो रुचि थियो। यो क्षेत्रमा अझै धेरै प्रगति गर्नुछ।
कुन कुन म्युजिक भिडियोमा अभिनय गरियो ?
अहिलेका चर्चित नायक पल शाहसँग भर्खरै मात्र एउटा आधुनिक गीतको सुटिङ सकाएँ। शुक्रबार अर्को गीतको सुटिङ छ। ‘यही त होला माया’ भन्ने गीतमा अभिनय गरेकी छु।
सुरुमा पल शाहलाई भेट्दा कस्तो लाग्यो ?
एकदम खुसी लाग्यो। उहाँले सम्झाउनुभयो। ‘कविता, तिम्रो पहिलो अभिनय हो भिडियोमा। राम्रो गर्नुपर्छ’ भन्दै कसरी, के–के गर्ने भनेर बताउनुभयो। एकदम सहयोगी हुनुहुँदो रहेछ।
फिल्म क्षेत्रमा पनि जाने विचार छ कि ?
अफरहरू आइरहेका छन् तर फिक्स भइसकेको छैन। हेरौं के के हुन्छ। सक्ने र भ्याउने जति काम गर्छु। पढाइ पनि बिगार्नु भएन। चित्त बुझ्ने रोल पाएमा र समय मिल्यो भने फिल्म पनि खेल्ने सोच बनाएकी छु।
करिअरबारे परिवारको सल्लाह–सुझाव के छ ?
पहिलेकै जस्तो हो, व्यवहारमा खासै फरक छैन। व्यस्त भएको देखेर ममीले बेलाबेलामा गाली गरिरहनुहुन्छ। ‘अरूका लागि जे भए पनि तँ हाम्री छोरी हो, घरको काममा पनि सघाउने गर’ भन्नुहुन्छ। ममी मेरो स्वास्थ्यलाई लिएर चिन्ता गर्नुहुन्छ। यो बीचमा त अलि प्रेसर पनि भयो नि !
घुमफिरको अवसर कत्तिको मिलिरा’छ ?
साँच्चि भन्दा घुम्ने मौका नै पाएकी छैन। कामै काम छ। साह्रै व्यस्त भएँ। अलिकति टाइम भयो भने पढ्नु प¥यो। परीक्षा आइरा’छ। म्युजिक भिडियोको अफर, मिटिङ, ‘कन्ट्र्याक’ आदिले दौडधुपमै चलिरा’छ जिन्दगी।
अब त प्रेम प्रस्ताव पनि आउन थाल्यो होला है ?
हो नि, कत्तिले त हैरान बनाउँछन् भन्या। तर, मलाई प्रेम गर्ने फुर्सद छैन। अहिले आफैंलाई ख्याल गर्ने त फुर्सद छैन, अरूलाई समय दिन त सोच्न पनि सक्दिनँ। अहिले मेरो लागि सबैभन्दा ठूलो कुरा नै काम र पढाइ हो। ‘लभ’ गर्ने, डेटिङ जानेतिर खासै ‘इन्ट्रेस्ट’ छैन।
तपाईंको मनमा कोही मान्छे बसेको पो छ कि ?
(हाँस्दै) छैन, छैन। कोही पनि छैन। कसैलाई त्यसरी हेरेकी नै छैन। डान्स नै मेरो प्रेमी हो। डान्ससँग मेरो बहुत प्रेम छ।
व्यस्त रहँदा कहिलेकाहीँ त तनाव ‘सेयर’ गर्ने कोही नजिकको साथी भइदिए हुन्थ्यो भन्ने लाग्छ होला नि ?
मेरा काम अरूलाई बाँड्न मिल्ने नै छैन। यो मेरो करिअर मेकिङको समय हो। प्रेमका कुराले डिस्टर्ब गर्छ, त्यसैले कसैलाई पनि ‘नो इन्ट्री’। साथीहरूलाई त समय दिन सकेकी छैन, अब प्रेमीलाई कसरी दिऊँ ? कहिलेकाहीँ त कामको कति लोड हुन्छ भने ममीले पनि मलाई डिस्टर्ब गरेजस्तो लाग्छ। अहिले म एक्लै संघर्ष गर्न तयार छु।
नाच्न सजिलो कि मोडलिङ गर्न ?
नाच्नै सजिलो। नाच्दा आफंैमा खुसी हुन्छु म। रमाइलो लाग्छ। अभिनय गर्न त गाह्रो हुने रहेछ। नाचेर मात्र नहुने, अनुहारको भाव मुख्य कुरा रहेछ। सिक्दै छु, प्रयास गरिरहेको छु। ममीले भन्नुभएको, राति निद्रामा पनि हातखुट्टा हल्लाइरहेको हुन्छु रे। तर, म गाह्रो काम गर्न मन पराउँछु। जसरी पनि सफल भएरै छाड्छु। भाग्यले पनि साथ दिनुपर्छ, असम्भव केही छैन।
भाग्यमा विश्वास लाग्छ र ?
एकदम विश्वास लाग्छ। बुगीवुगीमा टप टेनमा परेका सबैजना विजेता हुन्। तर, मैले टाइटल जित्नु केही मेहनत र धेरै भाग्यले गर्दा नै हो।