कलम बिर्साउने ‘एस पेन’
कम्प्युटरको स्क्रिन अघि बसेर किबोर्डमा उल्लेखित ‘की’ को माध्यमबाट माइक्रोसफ्ट वर्डमा लेख्ने नयाँ पद्धतिले पुरानो लेखनशैलीमा परिवर्तन गरेको छ। बाल्यकालमा कखरा सिक्न प्रयोग भएको ‘कलम’लाई नयाँ प्रविधिले विस्थापित गरिरहेको छ। पछिल्लो समय शिक्षा सिकाइ शैलीमा आएको परिवर्तनले कलमलाई विस्थापित गरिदिने हो कि भन्ने पनि अनुमान लगाउन थालिएको छ। तर, हातमा कलम समाएर कपीमा लेख्दा आउने जुन आनन्द छ, त्यसलाई नयाँ प्रविधिले पनि निरन्तरता दिन सक्छ भन्ने कुराको उदाहरण सामसुङले देखाइदिएको छ।
सामसुङले केही समय अघिमात्रै भारतको नयाँ दिल्लीमा आफ्नो नयाँ स्मार्टफोन ‘सामसुङ ग्यालेक्सी नोट ९’ सार्वजनिक गर्यो। आफ्नो उत्पादनमा एसिया प्रशान्तलाई ध्यानाकर्षित गराउनु सामसुङको चाहना थियो। नयाँ सार्वजनिक गरिएको यो फोनको सबैभन्दा महत्वपूर्ण पक्ष त्यसमा भएको पेन अर्थात् ‘एस पेन’ थियो। सामसुङ ग्यालेक्सी नोट ९ मा ‘एस पेन’ नयाँ चाहिँ होइन। सामसुङ ग्यालेक्सी नोट ९ का अघिल्ला संस्करणमा पनि प्रयोग गरिएको थियो।
सन् २०११ देखि अहिलेसम्म आइपुग्दा ‘एस पेन’ एउटा नोट टिपोट गर्ने कलममा मात्रै सीमित भएन। पहिलोपटक नोटप्याडमा नोट गर्नका लागि मात्र प्रयोग गर्न मिल्ने एस पेन सन् २०१२ मा आउँदा चित्र बनाउन मिल्ने सुविधाका साथ आएको थियो। २०१३ मा त्यसलाई पनि परिस्कृत गर्दै कम्पनीले एस पेनमै एयर कमान्ड, स्क्र्यापबुक, एस फाइन्डर, एक्सन मेमोलाई समावेश गर्यो। त्यसपछिको संस्करणमा एस पेनमा स्मार्ट सेलेक्ट सुविधा थप भयो, जसको मद्दतले मोबाइलको स्क्रिनमा कुनै स्थानलाई सेलेक्ट गर्ने बित्तिकै त्यसलाई गुगलमा पठाएर उक्त स्थानको म्याप सहजै हेर्न सकिने भयो।
यतिमात्रै हैन, सन् २०१५ आएको नोट ५ मा कम्पनीले अझ धेरै सुविधा थप्यो। सरल र सहज बन्दै गएका एस पेनमार्फत स्क्रिन अफ भएकै समयमा पनि उक्त स्क्रिनमा लेख्न सकिने सुविधा ल्यायो। त्यसमा कम्पनीले एयर कमान्ड, स्क्रोलिङ क्याप्चरलगायतका सुविधा पनि उपलब्ध गराएको थियो। नोट ७ मा आइपुग्दा एस पेनमा प्रयोग भएको पेनको लेख्ने भागलाई अति संवेदनशील र मसिनो बनाइयो, जुन पानीमा पर्दासमेत खासै फरक पर्थेन। उक्त संस्करणमा एस पेनमार्फत प्रयोगकर्ताले आफ्नै एनिमेसन बनाउन सक्ने भए। अझ महत्वपूर्ण के छ भने, प्रयोगकर्ताले एस पेनमार्फत कुनै शब्दलाई छनोट गरी त्यसलाई तुरुन्तै उपलब्ध भाषामा उल्था गर्न सकिने सुविधा ल्याएको थियो। नोट ७ बाट नोट ८ मा आइपुग्दा एक वर्षको अवधिमा एस पेनमा घेरै परिवर्तन भएको थियो। नोट ८ मा एस पेनबाटै आफूले चाहेअनुसार लाइभ म्यासेज बनाएर पठाउन सकिने भयो।
यसरी एक संकरणबाट अर्को संकरणमा आउँदा जुन रूपले एस पेनमा परिवर्तन हँदै आयो, त्यो परिवर्तन नोट ९ मा पनि देखिन्छ। ‘ब्लुटुथ’कै माध्यमबाट एस पेनले डीभाइसमा काम गर्न सकिने भएको छ। युट्युबको भिडियो एस पेनबाट बन्द गर्न र चलाउन सकिनेछ। म्युजिक बजाउन, फोटो खिच्न, सेल्फी लिन र प्रिजेन्टेसनमा स्लाइड परिवर्तन गर्न समेत यसलाई प्रयोग गर्न सकिने भएको छ। एस पेनमा ल्याएको यस्ता सुविधाले पुरानो कलमलाई आत्मसात् गर्नुका साथै अबको युग प्रविधिको युग हो भनी दर्शाउन पनि महत्वपूर्ण भूमिका खेलेको छ।
उक्त एस पेनलाई प्रयोगमा ल्याउन डिभाइसको रूपमा रहेको ग्यालेक्सी नोट– ९ पनि सामसङ मोबाइलकै इतिहासमा पहिलो पटक सबैभन्दा धेरै पाँच सय १२ जीबीको इन्टरनल मेमोरी राखिएको छ। ६ जीबी ‘र्याम’ भएको मोबाइलमा एक सय २८ जीबीको इन्टरनल मेमोरी हुनेछ भने ८ जीबी ‘र्याम’सहितको मोबाइलको इन्टरनल मेमोरी पाँच सय १२ जीबी रहेको छ। फोनमा चार हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। १० एनएम प्रोसेसरमा आधारित यो फोनमा कम्पनीकै अहिलेसम्मको उत्कृष्ट क्यामरा प्रयोगमा ल्याएको छ।
यसका साथै सामसुङका प्रिमियम प्रविधिका मापदण्ड ग्यालेक्सी नोट ९ मा रहेका छन्। तीव्र ताररहित चार्जिङ, आईपी ६८ को पानी र धुलो प्रतिरोधक पनि छ। यसमा हाइब्रिड दुइटा सिम छ, जसमा सामसुङ हेल्थ र सामसुङ पे को सुविधा छ। यसमा डिफेन्स ग्रेड नक्स, सेक्युरिटी प्लेटफम, बायोमेट्रिक सेक्युरिटी प्लेफम, फिङगर प्रिन्ट स्याक्निङ, आइआरआईस स्क्यानिङ, अनुहार चिन्ने क्षमता र महत्वपूर्ण सूचनालाई सुरक्षित राख्न सक्ने विशेषता समावेश गरिएको कम्पनीले बताएको छ। यो फोनको नेपाली बजार मूल्य एक लाख नौ हजार नौ सय रुपैयाँ तोकिएको छ।