भीमफेदी गाइजको मौलिक डान्स

भीमफेदी गाइजको मौलिक डान्स

‘भीमफेदी गाइज’ अहिलेको चर्चित ‘डान्स ग्रुप’ हो। यसका अगुवा हुन्, निर्मल लामा (३९)।  एक दशक अगाडिको कुरा हो, निर्मल कोरियाबाट नेपाल फर्किए। देशमै केही गर्ने उनको चाहना थियो। सानैदेखि नाच्न मन पराउने उनलाई नाचेरै केही गर्न सक्छु भन्ने भइरहन्थ्यो। त्यसैले, नेपाल आएर उनले डान्स ग्रुप बनाए। र, ग्रुपको नाम राखे ‘भीमफेदी गाइज।’

भीमफेदी निर्मललगायत उनको समूहका अन्य सहकर्मीहरू जन्मे, हुर्केको ठाउँ हो। प्रायः जिन्स प्यान्ट, लुज टिसर्ट, क्याप र लेदर ज्याकेटमा देखिने यो ग्रुपलाई देख्दा लाग्छ, यिनीहरू हिपहप डान्स गर्छन्। तर यो गु्रपको उद्देश्य भनेको प्रत्येक गीतमा नेपालीपन झल्कने मौलिक नृत्य गर्नु हो।

निर्मल भन्छन्, ‘विदेश जानु मेरो रहर थिएन, परिवारको करकापमा गएको थिएँ,’ नेपाल फर्केर कोरियन भाषा सिकाउने काम गरे। ‘पछि गाउँमै डान्स सिकाउन थाले। डान्स सिक्न आउनेहरूमध्ये क्षमता भएकालाई मैले गु्रपमा सामेल गराएँ,’ उनी भन्छन्। सुरुमा त थुप्रै केटाहरू गु्रपको सदस्य बने। तर अहिले ती सबै ग्रुपमा छैनन्। पछि समूहमा सात जना बाँकी भए, दुई जना फेरि बिदेसिए। अहिले भीमफेदी गाइज पाँच जनाको समूहले सम्हालेका छन्।

ग्रुपमा रहेका मञ्जित वाइबाले (२३) एसएलसीपछि पढाइ अगाडि बढाउन सकेनन्। ‘घरबाट पढ्न दबाब आइरहन्छ तर मलाई पढाइमा ध्यान नै गएन,’ उनी भन्छन्। एक समय कुलतमा फस्नै लागेका वाइबा भीमफेदी ग्रुपमा सामेल भएपछि सुध्रिए। भन्छन्, ‘निर्मल दाइले कुलतमा फस्न दिनु भएन, अहिले डान्समा नै रमाइरहेछु।’ बोलिरहनुपर्ने मञ्जित जस्तै समूहमा अरू केटाहरू पनि छन्। समूहमा बस्दा सबै रमाइलो गर्न रुचाउँछन्।

मञ्जित जस्तै मिथुन लामा (२८) ले पनि एसएलसीसम्म मात्र पढे। उनी पनि झन्डै कुलतमा फस्न लागेका थिए रे। ‘डान्स गर्दा सुरुमा परिवार त्यति खुसी नभए पनि अहिले खुसी छन्,’ उनी भन्छन्, ‘काम गर्दै आउँदा अहिले डान्सर भनेर चिनिन थालेको छु।’ हाल मिथुन आफैं पनि डान्स सिकाउँछन्। प्लस टु सकाएर बसेका अञ्जन लामा (२१) र सविन लामा (१९) यी दुवैजना भीमफेदी गाइजमा सामेल भएको धेरै वर्ष भएको छैन। तर नृत्यमा दुवै पारंगत छन्।

निर्मल लामा समूहमा अभिभावकको भूमिका निभाउँछन्। उनी भन्छन्, ‘भाइहरूलाई राम्रो काम गर्नुपर्छ भनेर म सधैं सम्झाउँछु। घरमा बुवाआमालाई कहिल्यै दुःख नदिनु भन्छु।’

भाइहरू साथमा हुँदा आफू बलियो भएको पनि महसुस हुन्छ। निर्मल भन्छन्, ‘भाइहरूको परिवार पनि आफ्नो छोरा मेरो साथमा छ भन्दा ढुक्क हुन्छन्।’ सुरुआतको समयमा गीतको कन्सेप्ट, कोरियोग्राफीदेखि क्यामेरा एङ्गलिङ सबैमा ध्यान दिनुपर्दा निर्मललाई धेरै गाह्रो हुन्थ्यो। तर अहिले बाँडेर काम गर्दा टिम मिलेको छ।

भीमफेदी गाइजले डान्स गरेको ‘ए सरकार’, ‘मेरो मायाले छुन्छ छुँदैन’, ‘म परे झापाली’, ‘सोल्टिनी सारै राम्री’ ‘काजीको घोडा’, ‘गोर्खे सलाम’ जस्ता गीतहरू निकै चर्चित छन्। आफ्नो नृत्यमा सकेसम्म राष्ट्रप्रेम र नेपालीपन झल्काउन भीमफेदी गाइज माहिर छ। म्युजिक भिडियो बनाउँदा पनि सकेसम्म कथावस्तु जोड्ने गरेका छन्। ती कथाहरूमा कहिले बेरोजगार युवा त कहिले गाउँले केटोको भूमिकामा यो ग्रुप हुन्छ। साथै कहिले कमेडियन त कहिले लभरबोइको रूपमा यो ग्रुपले अभिनय पनि गर्दै आएका छन्।

तामाङ, मगर, थारू सबै गीतमा नाचेको अनुभव सँगालेका छन्। नेपालमा कभर संगहरू चलाउन नेपालीपन झल्काउनु नै राम्रो हुने ठहर भीमफेदी गाइजको छ। एक महिनाअगाडि रियालिटी सो ‘बुगीउगी’ र प्रदर्शनमा आउन लागेको फिल्म ‘चौका दाउ’को ‘राधा पियारी’ बोलको गीतमा पनि भीमफेदी गाइजले वेस्टर्न लुकमा मौलिक नृत्य गरेका छन्।

उनका अनुसार यो ग्रुपले ‘भीमफेदी डायरी’ भन्ने फिल्म पनि बनाएका थिए। २०११ तिर बनाएको उक्त फिल्ममा डान्सरको संघर्ष र दुःख देखाउन खोजेका छन्। नेपाली प्याटर्नमा डान्स गर्ने भीमफेदी गाइजका निर्मल लामा नेपाल टेलिभिजनबाट आउने ‘खोजी प्रतिभाको’ रियालिटी सोमा प्रथम भएका थिए। भीमफेदी गाइजलाई कामको चापचाप छ। जोसँग काम गर्दा पनि राम्रै पारि श्रमिक पाएको उनीहरू बताउँछन्। भीमफेदी गाइजले अब छिट्टै चर्चित डान्स गु्रप ‘कार्टुन क्रु’सँग पनि काम गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.