सार्वजनिक यातायातमा एक दिन

सार्वजनिक यातायातमा एक दिन

लक्ष्मी बर्देवा

चाबहिलबाट सूर्यविनायक भक्तपुर जानुपर्ने थियो। स्कुटी बिग्रेकाले सार्वजनिक यातायातको सहारा लिनुपर्ने भयो। बसमा खास भीडभाड थिएन। म गाडीभित्र छिर्नै लाग्दा बसका सहचालकले ‘छिटो चढ्नुस छिटो’ भन्दै पछाडिबाट ठेले। मलाई असहज महसुस भयो। किनभने त्यो ठेलाइँ सामान्य थिएन। तर बोल्न उचित ठानिनँ।

म सँगै एकजना दौरा सुरुवाल लगाएका वृद्ध बा पनि उभिरहनु भएको थियो। उहाँ मभन्दा अगाडिदेखि नै त्यहाँ हुनुहुन्थ्यो। मैले वृद्ध सिट आरक्षणमा आँखा लगाएँ, त्यहाँ बाजेभन्दा कम उमेरका बाआमा बसेका थिए। मित्रपार्कमा एउटा महिला सिट खाली भयो। मैले उही बाजेलाई बस्ने आग्रह गरेँ। उहाँ बस्नेबित्तिकै उठ्नुभयो, ‘नानी सिट त पूरै भिजेको छ।’ हामीलाई अलि भित्र छिर्नु भन्दै झ्यालबाट भित्र टाउको छिराएर रिसाइरहेको सहचालकले बाजेको कुरामा झर्कंदै भने, ‘पानी परेको छ बाजे, अलिअलि त भिजिहाल्छ नि। तपाईंको घरको सोफा हो र, बसको सिट हो।’

सहचालकको कर्कश स्वरले बाजे अप्ठ्यारो मान्दै पुनः सिटमा बसे। गौशालामा यात्रु थपिएपछि उभिन पनि गाह्रो भयो। त्यसमाथि अलि उता सर्नु, अलि यता सर्नु भनेको सुन्दासुन्दा दिक्कै लागिसकेको थियो। यस्तैमा एयरपोर्टबाट एकजना महाशय बस चढे, तीनपाने लगाएर। त्यसै पनि यात्रुको चाप बढी भएर एक जनाको साससमेत अर्कोसँग ठोक्किने अवस्था थियो, झन् त्यहीमाथि रक्सीको गन्ध।

मैले तीनपाने लगाएको यात्रुलाई भनेँ, ‘दाइ अलि पर सर्दिनुस् न है। मलाई साह्रै गाह्रो भो।’ उसले उल्टै आँखा तर्दै उडाउने भावमा भन्यो, ‘त्यस्तो खुल्ला चाहिने मान्छे त ट्याक्सी चढ्नुपर्छ। कहाँ बस चढेर हुन्छ र ? ’ त्यसपछि मैले केही बोल्नु मेरै मुर्खता हुन्छ भन्ने लाग्यो। किनकि त्यहाँ मेरो कुरामा समर्थन गर्दै एक जनाले पनि बोलेनन्, बरु नाक थुन्दै बसिरहे।

मैले तीनपाने लगाएको यात्रुलाई भनेँ, ‘दाइ अलि पर सर्दिनुस् न है। मलाई साह्रै गाह्रो भो।’ उसले उल्टै आँखा तर्दै उडाउने भावमा भन्यो, ‘त्यस्तो खुल्ला चाहिने मान्छे त ट्याक्सी चढ्नुपर्छ।’

सिनामंगलमा एक जना करिब ३५÷३६ उमेरकी अन्टी चढिन्। उनको आँखा महिला सिटमा गएर अडियो, जहाँ तिनै बाजे बसेका थिए। उनले बाजेलाई उठाउँदै भनिन्, ‘बाजे महिला सिट हो छोडिदिनु पर्‍यो।’ मैले ती अन्टीलाई भने, ‘यो मेरो सिट हो, मैले बाजेलाई बस्न देको।’ उनले उल्टै मलाई नै सम्झाउँदै भनिन्, ‘कहाँ त्यसरी हुन्छ र ? अधिकार र नियम भन्या मान्नुपर्छ। कि तिमी बस कि म बस्छु,’ उनी मेरो जवाफ पनि पर्खिनन्। बाजेलाई उठाएर राष्ट्रपतिकै पद जितेसरि ढसमस्स बसिन्।

अब भने मलाई भक्तपुरसम्मको यात्रा पनि अत्यास लाग्न थाल्यो। मानवता भन्ने चिज बाँकी नभएको हो कि ? हरे सार्वजनिक यातायातको यो बेथिति। मैले बाजेलाई जानुपर्ने ठाउँ सोधे। उहाँ पनि सूर्यविनायक नै जानुपर्ने रहेछ।

कोटेश्वरमा एउटा सिट खाली भयो। तर हामी उभिएको भन्दा अलि अगाडिको सिट भएकाले त्यो सिट पाउनु मुस्किलै थियो। धन्न एक युवकले ती बाजेलाई बोलाएर बस्न आग्रह गरे। बल्ल मेरो छटपटी शान्त भयो। कोटेश्वरबाट गाडी गुड्नै लागेको थियो। ट्राफिक र ड्राइभरको बाझाबाझ भयो। धेरैबेर बस रोक्यो भनेर ट्राफिक लाइसेन्स माग्दै थिए। ड्राइभर नदिने पक्षमा थिए। करिब १५ मिनेटपछि बस गुड्यो। रिसले होला, ड्राइभरले बीचमा खासै नरोकी रफ्तारमा बस कुदायो। त्यसपछि भने सूर्यविनायक पुग्न खासै समय लागेन।

म ओर्लिएर पैसा थमाउँदै क्याम्पसको कार्ड निकाल्दै थिएँ। सहचालक बसमा चढ्दै भन्यो, ‘अघि ट्राफिकले चिट काटेको थाहा छैन ? कार्डको छुट छैन।’ मैले केही भन्नुअगावै बस कुद्यो। तर मैले ट्राफिकले चिट काट्नु र मैले कार्डको छुट नपाउनुबीचको सम्बन्ध आजसम्म बुझ्न सकेकी छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.