गल्फको शुक्रबारे बिदा

गल्फको शुक्रबारे बिदा

गल्फका इस्लामिक देशहरूमा शुक्रबार साप्ताहिक बिदा हुने भएकाले बेग्लै चहलपहल हुन्छ। हप्ता दिनको प्रतीक्षापछि बेग्लै खुसीको लहर बोकेर आउँछ शुक्रबार। एउटा फुर्सदिलो दिनले बिस्तारै बामे सार्छ। तर, यस बेलासम्म पनि हाम्रो कोठाचाहिँ शून्यता ओढेर बसेको छ। मात्रै एसीको एकोहोरो घ्यार्रर्र खप्टिएको छ, कोठालाई चिसो पार्न। बिदाको दिनमा ओभरटाइम काममा जाने साथीहरू हिजो साँझ पकाएको खाना टिफिनमा हालेर, खुसुक्क कसैलाई डिस्टर्ब नगरी बिहानै आआफ्नो दैनिकी चेपेर कोठाबाट निस्केका छन्। अन्य साथीहरू बिदाको दिनमा अबेरसम्म सुतेर हप्ताभरिको थकानले कोरेको धर्सालाई मनमस्तिष्कको पानाबाट सुताइको इरेजरले मेटाउने कोसिस गर्दै छन्। उठेपछि नुहाइधुवाइ र सरसफाइ चल्छ। गजबको दिनचर्या हुन्छ बिदाको दिनमा। किचनमा केही स्वादिलो पाक्छ।

परदेशमा दैनिकी यन्त्रवत् मेसिनझैं चल्छ। दिनैभरि काममै पेलिन्छन्। धुलो र पिठो भएर काम गर्नुपर्ने हुन्छ। दिनभरि काममा जोतिने र बेलुकी खाएर सुत्ने दैनिकीले जीवनलाई सीधा रेखामा एकोहोरो घिसारिरहेको हुन्छ। बेलाबेलामा छाडी आएको घरपरिवारको सम्झनाले मनमुटुको तारलाई छोएर नमीठो तरंग उत्पन्न गर्छ। सन्तानको अनुहारको झझल्कोले मन अमिलो बनाउँछ। साथै कामको थकानले फतक्कै गलाउँछ। दिमागका कुनाहरूमा अनेक यस्ता पीर, चिन्ता र सोचहरू दबिएका हुन्छन्; जुन फुर्सदमा फुतफुती बाहिर आउने गर्छन्।

एउटा कोठाभित्र अनेकथरी साथीभाइ छन्। फरक जात, धर्म, संस्कार र संस्कृतिमा हुर्केकाहरू तर पनि एकअर्काप्रति सद्भाव तथा सदाशयता राख्छन्। शुक्रबार अनेक योजना बन्छ। हप्ताभरि कामको चक्करमा राम्रो बोल्न नपाएका साथीभाइसित साथमा बसेर खानपान गर्न पाइन्छ। बजारतिर डुल्न र किनमेल गर्दा रमाइलो हुन्छ। घरपरिवारदेखि टाढाको परदेशी जीवनमा यसरी केही उमंग थपिन्छ।

मुस्लिम समुदायले शुक्रबारलाई धेरै पवित्र मान्छन्। यिनीहरू एक दिनमा पाँचपटक नमाज पढछन्। हरेक टोलछिमेकमा मस्जिद हुन्छ। अरू दिनमा नभ्याए पनि शुक्रबारचाहिँ धार्मिक गुरु इमामको उपस्थितिमा त्यहीँ पुगेर नमाज अदा गर्छन्। अन्य दिनमा दिनैभरि धुलो र पसिनामा लतपतिने मजदुर ज्यान बिदाको दिनचाहिँ सफा लुगामा ठाँटिएर अजानको आवाज पछ्याउँदै नमाजको लागि मस्जिदतिर ओइरिन्छन्। दिनैभरि शून्यता ओढेर धुमधुम्ती बस्ने लेबरक्याम्प शुक्रबारको दिन अनेक चहलपहलले भरिन्छ। धेरैलाई यही एक दिन दाह्री काट्न समय जुर्छ।

बिदाको चलन

संसारैभरिका मुस्लिमहरूले शुक्रबार, यहुदीले शनिबार र क्रिस्चियनहरूले आइतबारको दिन बिदा मनाउने चलन छ। यसरी साप्ताहिक बिदा दिने चलनको आफ्नै इतिहास छ। सन् १८०० को आखिरी वर्षहरूमा संसारैभरि औद्योगिक क्रान्तिको सुरुआत भयो। मानिसहरू उद्योगहरूमा काम गर्न थाले। प्रायः उद्योगमा मालिकले हप्तामा सातै दिन काम गराउँथे। कामदारहरूले यसविरुद्ध आवाज उठाउन सुरु गरे। त्यसपछि हप्ताको आखिरमा बिदा दिने चलन आयो। यसमा अनेक मजदुर संगठन तथा मजदुर आन्दोलनहरूको योगदान छ। साप्ताहिक बिदालाई स्थापित गर्न प्रसिद्ध मोटर व्यवसायी हेनरी फोर्डको पनि महत्वपूर्ण योगदान छ। उनले सन् १९०० तिरदेखि नै आफ्नो मोटर फ्याक्ट्रीका कामदारलाई हप्तामा दुई दिन बिदा दिन थालेका थिए। फोर्डको सोच के थियो भने उनका थुप्रै कामदारले पनि फ्याक्ट्रीमा बनेका कार किन्छन्। कामदारहरूलाई यी कारमा आफ्नो परिवारसित डुल्न बिदा चाहिन्छ। हेनरी फोर्ड आफ्नो फ्याक्ट्रीमा उत्पादित कार अझ धेरै बेच्न चाहन्थे। त्यसपछि फोर्डले झैं अन्य उद्योग मालिकहरूले पनि आफ्ना कामदारहरूलाई हप्तावारी बिदा दिन थाले।

गल्फ देश भन्नेबित्तिकै धेरैको मनमस्तिष्कमा अनेक सोच र दृश्य सल्बलाउँछन्, विशेष त खजुरका एकले बोटहरू, उँटको लामो क्याराभान, विशाल मरुभूमि र तातो चल्ने हावा। साथै कट्टर इस्लामिक शासन प्रणाली, बुर्का ओढ्ने महिलाहरू तथा दाह्री–जुँगाले अनुहार झपक्क छोपिएका पुरुषहरू। तर, अचेल अरबीहरू पनि फेसन र बाहिरी दुनियाँको प्रभावबाट अछूतो छैनन्। चिसो हावा चल्दा साँझ, बिहान शीतल नै हुन्छ। जसोजसो दिन चढ्छ, गर्मी बढछ। घामको मुहारले उग्र रूप धारण गर्दै जान्छ। कतै, घाम मस्जिदको अग्लो मिनारको टुप्पोमा गएर अडेको प्रतीत हुन्छ त कतैबाट हेर्दा, अग्लो बिल्डिङको पछाडिबाट चियाइरहेको झैं लाग्छ। अत्यधिक गर्मीले मध्याह्नतिर चराचुरुंगी रूखका हाँगाहरूमा पातले छेलिएर बसिरहेका हुन्छन्।

एक शुक्रबार

एक शुक्रबार खाना खाएर हामी चारजना मार्केट जान निस्क्यौं। कोठाबाट निस्केर बस स्ट्यान्डसम्म पुग्दा नै पसिनाले लुछुप्पै भयौं। बस कुर्दै उभिनुपर्दा गर्मीले हपहपी पार्‍यो। धन्न बिदाको दिन भएर बस चाँडै आयो। यात्रुको चापले गर्दा सार्वजनिक बिदाको दिन बस धेरै चल्छन्। बसभित्र चारजना फिलिपिनी युवती अगाडितिर महिलाको आरक्षित सिटमा बसेका छन्। हामी पछाडि गएर बस्यौं। बसबाहिर परपरसम्म बालुवाघारी मात्रै फैलिएको छ। कतैकतै खजुरका बोट, ससाना बुट्यान र झ्याङहरू मरुभूमिमा हरियालीको चिनारी बनेर उभिएका छन्। ठाउँठाउँमा ऊँटको बगाल देखिन्छ। कतैकतै भेडाबाख्रा पनि चरिरहेका छन्। केही समयपछि बल्ल अग्ला बिल्डिङका चुचुरा देखिन थालेका छन्, जो हामी मार्केट नजिक पुगेको संकेत हो।

साउदी अरब तथा कतार जस्ता कडा कानुन भएका देशबाट हरेक बिहीबार बेलुकी बहराइनमा शुक्रबारे बिदा मनाउन आइपुग्ने अरबीहरूको कारको लर्को नै लाग्छ

बसपार्कमा पुगेर बसबाट ओर्लिन्छौं। त्यहाँ भीडको समुद्र उर्लेको छ। आउनेजाने यात्रीहरू बराबर संख्यामा देखिन्छन्। ड्राइभरहरू ‘याल्लाह, याल्लाह। जल्दी जल्दी’ चिच्याइरहेका छन्। मान्छेहरू आफू पुग्नुपर्ने रुटको गाडी खोज्दै आफ्नै सुरमा छन्। बाटोछेउतिर ट्याक्सीवाला सम्भावित ग्राहकको अनुहारमा ताक्दै उभिएका छन्। पार्किङ तथा बाटोछेउतिर पार्क गरिएका गाडी सफा गर्न बंगलादेशीहरू बाल्टिनमा पानी, हातमा लुगाको टालो र फोम लिएर घुम्दैछन्। बिदाको दिन तथा फुर्सदमा एक्स्ट्रा कमाइका लागि यसरी पार्टटाइम काम गर्ने अनेक हुन्छन्। कोही कोक, पेप्सीका खाली क्यान बटुल्दै हिँडिरहेका पनि भेटिन्छन्। स्क्र्यापमा बेचेर राम्रो आम्दानी गर्छन्। कोही सब्जी मार्केटबाट सस्तो सागसब्जी, फलफूल किनेर ल्याएर बाटोछेउतिर अस्थायी दोकान थापेर बेच्छन्।

हाम्रो समूह मुख्य बजार पुग्न बसपार्कबाट निस्किन्छ। मध्याह्न दिन, शिरमाथि घाम बेपत्ता चर्किएको छ। फुटपाथे व्यापारीको अस्थायी पसलले मान्छेहरू चाहेर पनि छिटो हिँड्न सकेका छैनन्। त्यसमाथि आँखाहरू बाटोमा भन्दा सोरुमतिर ताकिरहेका छन्। बुर्का ओढेकी मुस्लिम महिलाहरूसित ठोकिनबाट जोगिन पनि ध्यान पुर्‍याउनुपर्ने हुन्छ। शरीर पसिनाले निथ्रुक्क छ तर थकानको रंग बजारको रंगीन इन्द्रेणीमा मिसिएर बिलाएको छ। आँखाहरू सेल लागेको दुकान खोज्दै छन्। अनेक आकारप्रकारका मानिस बजारको सडकमा पोखिएका छन्। कोही गर्मी छल्न खजुरको बोटमुनि, आकाशे पुलमुनि, पार्क र गार्डेनतिर गफ गर्दै बसेका छन्। कोही सोरुमभित्र किनमेलको निहुँमा गर्मीबाट जोगिने जुक्ति लगाउँदै छन्। मानिसहरू व्यस्त र मस्त देखिन्छन्। कोही बाटोमा ठूल्ठूला सुटकेस लतार्दै जाँदैछन्। उनीहरू पक्कै चाँडै बिदामा घर जानेहरू हुन्।

स्थानीय मुस्लिम पुरुषहरू सेतो रङको लुगा तथा शिरमाथि घोप्टिएको कचौराजस्तो अर्धगोलाकार सेतै टोपीमा छन्। अरबी आइमाईहरू कालो बुर्कामा छोपिएका तिनका पछिपछि हिँडिरहेका छन्। अरबी जोडीहरूको पछाडि बच्चाहरूको ठूलै हूल हुन्छ। बच्चा जन्माउने सवालमा उनीहरू हिचकिचाउँदैनन्। बजारमा साउथ एसिया, अफ्रिका तथा युरोपतिरका मानिस पनि प्रशस्तै भेटिन्छन्। गैरमुस्लिम महिलाहरूले बुर्का कमै ओढ्छन्। सुपर मार्केटतिर निकै रमाइलो हुन्छ, बिदाको दिनमा। बहराइन गल्फका अन्य देशहरूभन्दा केही खुला छ। यहाँ रक्सीदेखि मुस्लिम समुदायले बर्जित गरेको सुँगुरको मासुसम्म पाइन्छ। छिमेकी साउदी अरब तथा कतार जस्ता कडा कानुन भएका देशबाट हरेक बिहीबार बेलुकी बहराइनमा शुक्रबारे बिदा मनाउन आइपुग्ने अरबीहरूको कारको लर्को नै लाग्छ।

बाटोछेउका रेस्टुरेन्टबाट अनेक थरी खानाको परिकारको वासना आउँदै छ। त्यही रेस्टुरेन्टको किचनमा फलामको सुइरोमा मसलाको पेस्ट दलिएको सिंगो चिकेनको रातो डेडबडी आगोमाथि विस्तारै घुमिरहेको छ। रेस्टुरेन्टबाहिर बोर्डमा अनेक परिकारका स्वादिष्ट फोटाहरूले पेटभित्र भोकको किटाणुलाई बौराइदिन्छ। अचेल नेपाली पुगेको हरेक देशमा नेपाली स्वादको खाना पस्किने होटल–रेस्टुरेन्ट, नेपाली पहिरन बेच्ने फेन्सी पसल तथा नेपाली सरसामान पाइने दोकानहरू प्नि भेटिन्छन्। नेपालीहरूले अन्य व्यापार पनि गर्न थालिसकेका छन्। आजभन्दा दसपन्ध्र वर्ष अघिसम्म गल्फतिर यस्तो माहोल थिएन। उहिले त बिदाको दिनमा नेपालीहरू चोक र पार्कतिर झुरुप्प झुरुप्प बसेर गफ गरिरहेका भेटिन्थे। साथीहरू अनलाइन वेबसाइटबाट डाउनलोड गरेर नेपाली समाचारको फोटोकपी बेचिरहेका हुन्थे। नेपालबाट ल्याइएका गीत र फिल्मको ओरिजिनल डीभीडीबाट कम्प्युटरमा कपी गरेर बेच्नेहरू धेरै भेटिन्थे। बिदाको दिनमा सडकपेटी र पार्कतिर यस्ता सीडी, डीभीडी, पत्रिका, लुगाफाटा र अन्य सरसामानका अस्थायी पसलहरू फैलिएका हुन्थे।

हामी किनमेल सिध्याएर क्याम्प फर्किन बसपार्कमा आइपुगेका छौं। त्यहाँ भीड र चहलपहल अझै कायम छ। मेन मार्केटको तरकारी बजारमा सागसब्जी सस्तो र फ्रेस पाइन्छ। थुप्रै पसलमा सेल लागेको हुन्छ, त्यो छुटाउने कुरै भएन। अनेक थोक किनमेलले सबैको अनुहारमा थकानको बादल उड्दै छ। बसभित्र यात्रुका अनेक थरी भाषामा गज्याङमुज्युङ स्वर मात्रै आउँदै छ। धेरै त दिनभरिको भेटघाट, बजारतिरका दृश्यहरू तथा किनमेलकै कुराकानी छ। हेर्दाहेर्दै बस हामी बस्ने क्याम्प नजिकको बसस्टपमा रोकिन्छ। यसरी एक शुक्रबारे बिदाले फन्को मार्छ।

कोठामा पुग्दा, आज कतै नगएका साथीहरू रिल्याक्सको मुडमा बसिरहेका छन्। एकजना साथी भर्खर पकाएको तात्तातो भात र तरकारी डेक्चीमै बोकेर कोठामा पसेको छ। कोही खानपान सकेर बेडमाथि आरामले पल्टेका छन् त कोही मोबाइलभित्रको संसारमै मस्त छन्। कोठाको एक कुनामा टीभी पनि चलिरहेकै छ। ओभरटाइममा खट्न गएका साथीहरू पनि अनुहारभरि थकानको सहीछाप बोकेर फर्केका छन्। बजारतिर किनमेल गरेर आएका साथीहरू सामान खोतल्न थाल्छन्। एकजना साथीले आज किनेर ल्याएको नयाँ मोडलको मोबाइल हेर्न सब झुम्मिएका छन्। अर्को साथीले घर लान ठूलो फ्ल्याट टीभी किनेको छ। कोहीचाहिँ आफूले पनि यस्तै टीभी लाने घोषणा गर्दै छन्। अब नुहाइधुवाइ गरेपछि खाना पकाउने चाँजोपाँजो मिलाउनु छ। आजलाई नचाहिए पनि भोलिलाई पकाउनु छ। किनभने बिहान पकाउन भ्याइँदैन। त्यसपछि नयाँ घामको स्वागतमा उठ्नलाई निदाउनु छ। भोलि अर्को हप्ताको थालनी हुन्छ। फेरि यस्तै शुक्रबारे बिदा पर्खिंदै एउटा नयाँ दिन सुरु गर्नु छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.