रेफ्री किन्न खोज्ने अधिकारी गिरफ्तार
किगाली (रुवान्डा) : अफ्रिकी कप अफ नेसन्सको छनोट प्रतियोगिताको दौरान आफ्नो टोलीको पक्षमा निर्णय दिन रेफ्रीलाई पैसा दिएर किन्न खोज्ने रुवान्डाका फुटबल अधिकारी पक्राउ परेका छन्। उनीहरूलाई रेफ्रीको उजुरीका आधारमा पक्राउ गरिएको हो।
रुवान्डाको फुटबल संघका महासचिव फ्रांकोइज रेगिस उवाऐजु र प्रतियोगिता निर्देशक इरिक रुहामिरिजा पक्राउ परेका हुन्। उनीहरूलाई अफ्रिकी फुटबल महासंघको निर्देशनमा रुवान्डाका प्रहरीले पक्राउ गरेको हो। यी दुई अधिकारीले गत आइतबार आइभरीकोस्टविरुद्ध भएको अफ्रिकी कप अफ नेसन्स प्रतियोगिताको छनोट खेलमा आफ्नो टोलीलाई विजयी बनाउन रेफ्रीलाई पैसाको प्रस्ताव गरेको आरोप लगाइएको छ।
यद्यपि उनीहरूको प्रस्तावलाई अस्वीकार गरेका नामिबियाका सो रेफ्रीहरूले उजुरी गरेपछि महासचिव फ्रांकोइज र प्रतियोगिता निर्देशक इरिक पक्राउ परेका हुन्। उनीहरूविरुद्ध नामिबियाका रेफ्री ज्याक्सन पाभाजाले खेलको निर्णय प्रभावित पार्ने उद्देश्यले आफूलाई पैसाको प्रस्ताव गरेको उजुरी गरेका थिए।
यद्यपि रुवान्डाको फुटबल संघले भने आफ्ना कुनै पनि अधिकारीले खेलको नतिजाका लागि रेफ्रीलाई पैसाको प्रलोभनमा पार्ने प्रयास नगरेको स्पष्ट पारेको छ। फुटबल संघले रेफ्री पाभाजाको उजुरीले आफूहरू अचम्ममा परेको र गलत बुझाइका कारण यो अवस्था उत्पन्न भएको हुनसक्ने पनि बताएको छ।