बार्सिलोनाले जित्दा दुवै मड्रिड बराबरीमा रोकिए
काठमडौँ : स्पेनिस ला लिगा अन्तरगत गएरातिको खेलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले रियल सोसिडलाई पराजित गरेको छ । सोसिडको घरेलु मैदान एनोएटामा भएको ला लिगाको चौथो चरणको खेलमा बार्सिलोना २–१ ले विजयी भएको हो ।
एक गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सालाई जिताउने क्रममा लुइस स्वारेज र डेम्बेलेले गोल गरे । खेलको १२ औँ मिनेटमा सोसिडले एर्टिज एल्युस्टोन्डोको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको बार्साका लागि खेलको ६३ औँ मिनेटमा स्वारेजले बराबरी गोल गरे ।
बराबरी गोल गरेको तीन मिनेट नबित्दै डेम्बेलेले गोल गरेपछि बार्सा २–१ ले अघि बढ्यो । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्साले नतिजा आफ्नो पक्षमा पा¥यो ।
बार्साले जित निकालेपछि भएको अर्को खेलमा उपाधि दाबेदार रियल मड्रिड भने एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको छ। बिल्बाओले पहिलो हाफको ३२ औँ मिनेटमा इकेर म्युनिएइनको गोलमा अग्रता लिएको अवस्थामा खेलको ६३ औँ मिनेट इस्कोले गोल गर्दै रियललाई हारबाट जोगाए ।
गएराति नै भएको ला लिगाकै अर्को खेलमा एट्लेटिको मड्रिड पनि बराबरीमा रोकियो । उसलाई एडी इबरले १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।