इन्टरपोलको सक्रियताले फरार पक्राउ पर्न थाले

इन्टरपोलको सक्रियताले फरार पक्राउ पर्न थाले

–घटना १

मानव बेचबिखन मुद्दामा फरार दम्पती मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परे। उनीहरूले नेपाली चेलीलाई जागिरको प्रलोभनमा कुवेत पुर्‍याएर अलपत्र छाडेका थिए।

–घटना २

एक वर्षअघि बर्दिवासको एक होटलमा युवतीलाई बलात्कार गरी विदेश भागेका सिन्धुली मरिण गाउँपालिकाका ३१ बर्से सिंहलाल थिङ इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ परे। उनी बलात्कारपछि वैदेशिक रोजगारमा यूएईमा काम गरेर लुकेर बसेका थिए।

–घटना ३

वैदेशिक रोजगार कसुरमा इन्टरपोल काठमाडौंबाट डिफ्युजन जारी भएका झापा घैलाडुबाका ३७ बर्से सोमनाथ निरौला इन्टरपोलकै समन्वयमा चीनबाट नेपाल आउने क्रममा पक्राउ परे। उनले वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ उठाएर फरार भएका थिए।

नेपालमा अपराध गरी विदेशमा फरार हुने तथा विदेशमा अपराध गरी नेपाल आएर लुक्ने लामा दम्पती, थिङ र निरौला इन्टरपोलको समन्वयमा पक्राउ पर्ने प्रतिनिधि पात्र मात्र हुन्। जघन्य र ठूला अपराध गरी देशबाहिर फरारलाई प्रहरीले इन्टरपोलमार्फत् नोटिस जारी गर्न थालेपछि धमाधम पक्राउ पर्न थालेका हुन्।

प्रहरी मुख्यालयका अनुसार २९ ‘रेड’ र २४ ‘डिफ्युजन’ गरी जम्मा ५३ नोटिस कार्यान्वयनका क्रममा छन्। अपराधी पक्राउसँगै पहिले जारी नोटिस र डिफ्युजन स्वतः निष्क्रिय हुन्छन्। इन्टरपोलमार्फत् प्रहरीले पछिल्ला चार महिनामा १४ जनाविरुद्ध ‘रेड’ नोटिस र ११ जनाविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी गरेको छ। यसअघि न्यून संख्यामा मात्र यस्ता नोटिस जारी हुने गथ्र्याे। नोटिस जारी हुने क्रम वृद्धिसँगै पक्राउ पर्ने अपराधीको संख्या बढेको छ।

इन्टरपोल नोटिसका आधारमा ३२ जना पक्राउ परिसकेका छन्। प्रहरी मुख्यालयका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्री भन्छन्, ‘इन्टरपोलका सदस्य राष्ट्रबीच एक प्रकारको सञ्जाल हुन्छ। जघन्य अपराधका देशबाहिर फरार अभियुक्तहरूलाई सञ्जालमा आबद्ध देशको रेड नोटिस र डिफ्युजन नोटिसका आधारमा प्रहरीले पक्राउ गर्छ।’

सन् २००३ देखि इन्टरपोलको समन्वयमा पक्राउ परेका ३२ जनामध्ये १ अस्ट्रेलियाई, १ भारतीय, २ अमेरिकी, ३ चिनियाँ र १ कोरियाली गरी ८ जना विदेशी नागरिक छन् भने अन्य २४ जना नेपाली छन्। पक्राउमध्ये ३ जना महिला छन्। पक्राउ २४ नेपालीमध्ये १६ जनालाई इन्टरपोलसँगको समन्वयमा विदेशबाट र ८ जनालाई देशभित्रै पक्राउ गरिएको जानकारी एसएसपी क्षेत्रीले दिए।

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एलो’, ‘अरेन्ज’, ‘पर्पल’ र ‘ इन्टरपोल युनाइटेड नेसन स्पेशल’ गरी ८ क्रिमिनल नोटिस र डिफ्युजन जारी गर्छ। यस्ता नोटिस र डिफ्युजन जारी गर्न नेपालले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्छ। एसएसपी थापा भन्छन्, ‘ग्लोबल भिलेजका कारण संसार नै साँघुरो भएको र कुनै एक अपराधीले एउटा क्षेत्रमा अपराध गरेर अन्यत्र भाग्दा हुने समस्याको समाधान गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको हो।’

डिफ्युजन कार्यान्वयनका क्रममा २४ जनामध्ये १ पाकिस्तानी, १ भारतीय समेत २२ जना पुरुष र २ महिला छन्। वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा फरार अभियुक्त खोजीका लागि डिफ्युजन जारी गरिन्छ। ठगी, हत्या, बलात्कार, अपहरण, बैंकिङ कसुर, तस्करीमा संलग्न १ भारतीय र २८ नेपाली गरी २९ जना अभियुक्तको नाममा रेड नोटिस कार्यान्वयनको क्रममा छ।

प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा प्रमुख एसपी उमेशराज जोशी भन्छन्, ‘इन्टरपोलबाट जारी नोटिस र डिफ्युजनको आधारमा अपराधीको खोजी हुन्छ। पछिल्लो समय धेरै नोटिस जारी हुनु र अपराधी पक्राउ पर्नु संयोग मात्रै होइन, प्रहरी सक्रियता पनि हो।’

इन्टरपोल नेपालले अन्य देशका एनसीबीबाट सोध्ने विषयमा राहदानी र ट्राभल डकुमेन्टसम्बन्धी समस्याको निवारणसमेत गर्दै आएको छ। अध्यागमन विभाग, राहदानी विभाग, परराष्ट्र मन्त्रालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतसँग समन्वय गरी चोरी भएका र हराएका ट्राभल डकुमेन्ट र फरार अपराधीको खोजी अघि बढाइएको छ। प्रहरीले १ लाख ८० हजार ६ सय ६१ हराएका तथा चोरी भएका राहदानीको विवरण मोबाइल इन्टरपोल नेटवर्क डाडा बेस डिभाइस (माइन) नामक डिभाइस प्रयोगमा ल्याएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.