युएइमा सामूहिक तीज विशेष कार्यक्रम
युएइ : 'को पूर्वेली को पश्चिमेली हामी सबै नेपाली,नेपालको पहिचान कला र संस्कृति सम्मान' भन्ने मूल नाराका साथ दाङ, प्युठान र रोल्पा समाज युएइको संयुक्त आयोजामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। परदेशमा नेपाली कला र संस्कृतिको संरक्षण, प्रवर्दन र जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त तीज विशेष सांगीतिक कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, लोक तथा दोहोरी गायक दिपु मगर र मेक्सम खाती युएइ पुगेका थिए भने स्थानीय कलाकारहरुको पनि उक्त कार्यक्रममा प्रस्तुति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ, युएइका अध्यक्ष रमेश श्रेष्ठले नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसरमा संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेर एक उदाहरणीय काम गरेको बताए । उनले अन्य कार्यक्रमहरुमा गैरआवासीय नेपाली संघ, युएइको सधैं सहयोग रहने बताए ।
परदेशीको कथालार्इ टिपेर शृजना गरिएको बोल माया गाएर चर्चाको शिखरमा पुगेकी गायिका शान्ति श्रीले उक्त गीत गाउँदा दर्शकहरु भाबुक भएका थिए भने उनका अन्य गीतहरु साथै दिपु मगर र मेक्सम खातीको प्रस्तुतिमा दर्शक झुमेका थिए। तीन जिल्लाहरु मिलेर संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा दर्शकहरुको भिडले हल खचाखच भरिएको थियो।
उक्त कार्यक्रमले नेपालीहरु बीच एकताको सन्देश प्रबाह गर्नुका साथै विदेशी भूमीमा नेपाली कला र संस्कृति प्रवर्द्वनमा सहयोग पुगेको कार्यक्रम संयोजक तथा रोल्पाली सेवा समाज युएइका सल्लाहकार डिलाराम ओलीले बताए। कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, युएइका महासचिव कुमार केसी र हरि डाँगीले गरेका थिए।
दाङ्ग देउखुरी समाजका अध्यक्ष कमल गिरिको अध्यक्षतामा भएको कार्यक्रममा प्युठान स्वर्गद्वारी समाज, युएइका सचिव जेबी जिसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।