गागन नदीले बगायो हुलाकी सडक
![गागन नदीले बगायो हुलाकी सडक](https://annapurnapost.prixacdn.net/media/albums/lahan-pull-basko_LHN_20180916032946_ytXpW3rUb0.jpg)
लहान : सिरहाको औरही गाउँपालिका–५ स्थित गागन नदीले हुलाकी सडक बगाउँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । नदीमा बाढी बढ्दा स्थानीयलाई सडक वारपार गर्न निकै समस्या भएको छ । स्थानीय सुरेश यादवले भने, ‘नदीले हुलाकी सडक बगाएको पाँच बर्ष बढी भयो । न पुल बनाउन सम्बन्धित निकायले ध्यान दिएको छ न त नदी पुरानो ठाउँमा फर्काउने प्रयास गरिएको छ ।’
बाढी आउँदा सडक पार गर्न मुस्किल पर्ने गरेका कारण स्थानीय युवाहरूले चन्दा संकलन गरेर बाँसको अस्थायी पुल बनाएको उनले सुनाए । युवाहरूले बनाएको उक्त बाँसको अस्थायी पुलबाट साइकल तथा मोटरसाइकल मात्र पार हुन्छ । त्यो पुल पनि जीर्ण बनिसकेको छ । सुरेश थप्छन्, ‘चन्दा उठाएर बनाइएको बाँसको पुल पनि भत्किसक्यो ।
फेरि अर्को पुल बनाइयो । त्यो पनि जीर्ण बनेको छ ।’ उनले तत्काल मजबुत अस्थायी पुल बनाएर स्थायी पक्की पुलका लागि पहल गरिदिन आग्रह गरे । औरही गाउँबाट सबैभन्दा नजिक नेपाली बजार बरियारपट्टी र भारतीय बजार लदनियाँ पर्छ । यी दुई बजारसँग यहाँका जनताको दैनिकी जोडिएको छ ।
यहाँका हरेक व्यक्ति दैनिक उपभोग्य सामानका लागि सातामा कम्तीमा दुई÷तीन दिन बरियारपट्टी वा लदनियाँ पुग्ने गरेका स्थानीय महेश यादवले बताए । भने, ‘बाढी आउँदा सामान किन्न बजार पनि जान पाउँदैनौं ।’ गागन नदीले हुलाकी सडक मात्र भत्काएर छैन, सयौं बिघा उब्जाउ खेतमा बालुवा थुपारेको छ । जसले गर्दा कुनै बाली उब्जिदैन ।
नदीले निकै दुःख दिएको स्थानीयले दुःख पोखे । नदीमा तटबन्ध निर्माण गर्न स्थानीयले पटक पटक मन्त्री तथा प्रशासन गुहारे पनि सुनुवाइ नभएको स्थानीय सञ्जय यादवले बताए । नदीले आफ्नो एक बिघा जग्गामा बालुवा थुपारेर मरुभूमि बनाइदिएको उनले पीडा पोखे । चार महिनादेखि मधेसको लाइफ लाइन मानिने हुलाकी सडक सिरहा खण्ड अवरुद्ध छ । भगवानपुर– सिरहा सदरमुकाम बस सेवा समेत महिनौ दिनदेखि ठप्प बनेको हो ।
हुलाकी सडकमा ठाउँ–ठाउँमा तीन फिट गहिरो हिलो जमेको छ । मोटरसाइकल गुडाउन पनि मुस्किल पर्ने गरेको भगवानपुरका विजय यादबले बताए । भने, ‘१ किलोमिटर हुलाकी सडक पार गर्न १० पटकभन्दा बढी ओर्लिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)