सेलिब्रिटी विद्यार्थी
टाउकोमा हेल्मेट लगाउने । हेल्मेटको फित्ता कस्ने । मोटरसाइकललाई किक हानेर स्टार्ट गर्ने । एक्सिलेटर बटार्ने । गुरुले यसरी नै सम्झाएअनुरूप अवेरनेस इन्टरनेसनल एकेडेमीकी छात्राले अभिनय गरिन् । शंखमूलस्थित विद्यालय प्रांगणमा पंक्तिमा उनको अगाडि बस्ने छात्रले उनलाई हेरेर आफूले बुझेअनुरूप अभिनय गरे । खेल अगाडि बढ्दै जाँदा पंक्तिमा सबैभन्दा अगाडि बस्ने छात्रको पालो आयो । आफूसम्म आइपुग्दा उनले पछाडिको साथीले हात हल्लाउँदै ‘बाई’ भनेको मात्रै बुझे र त्यसै गरे ।
शिक्षक विमल घिमिरेले कक्षा १० का विद्यार्थीलाई हाम्रो संस्कृति पाठमा रहेको ‘एक कान दुई कान मैदान’ उखान अथ्र्याउन उक्त खेल खेलाएका थिए । हल्लाका रूपमा आएका कुरालाई विश्वास गर्न हुँदैन भनेर विद्यार्थीले सजिलै बुझिहाले ।
उनै शिक्षकले ह्रस्व दीर्घका नियम सिकाउन बनाएको गीत यति बेला चर्चामा छ । गीतले विद्यार्थीलाई व्याकरणका नियम त बुझायो नै, गीतमा प्रस्तुति दिने विद्यार्थीलाई पनि सेलिब्रिटी बनाइदियो ।
कक्षा ९ की सुकृति ज्ञवाली गोठाटारमा बस्छिन् । साँझ घर पुग्दा ८ बज्छ । एक दिन स्कुलको भ्यानबाट झर्नासाथ दुईजना आन्टीले ‘ए तिमी त एआईएको गीतमा छौ नि हैैन’ भन्दा उनी दंग परिन् । आफू यसअघि पढेको विद्यालयको प्रिन्सिपल, विद्यार्थी साथी र टोलका अरूले पनि भिडियोमा उनलाई देखेको कुरा सुनाउँदा उनी खुसी भइन् ।
अनुज पौडेल पनि घर पुग्दा आफ्नो दाइलाई देखेर दंग परे । कक्षा १० मा पढ्ने अनुजका दाइले युट्युब खोल्दै भाइलाई ‘तिम्रो गीत त ट्रेन्डिङमा छ नि’ भनेर देखाए । हालै कक्षा १० की दिलासासिंह ठकुरी एक वत्तृmत्वकला प्रतियोगितामा भाग लिन गएकी थिइन् । उनका प्रतिस्पर्धीले उनलाई ‘तिमी ह्रस्व दीर्घको गीतमा देखिएकी विद्यार्थी होइन’ भनेर सोध्दा उनलाई गर्व लाग्यो ।
गीतले सुधार्यो नतिजा
गीतले विद्यार्थीलाई सेलिब्रिटी मात्रै बनाएन, उनीहरूको नेपालीको नतिजा पनि सुधार्यो । पहिले घोकेर पढ्दा बिर्सन्थ्यो । गीत बनेपछि सम्झन सजिलो भएकाले परीक्षामा पहिलेभन्दा कम बिग्रियो । पछिल्लो टेस्टमा राम्रो अंक ल्याएको उनीहरूले खुसी हुँदै सुनाए । विद्यालयमा हुने वादविवाद, कविता वाचन र वक्तृत्वकला प्रतियोगितामा मात्रै नभई स्वतन्त्र लेखनमा पनि सजिलो भएको कक्षा १० की सिर्जना दाहालको अनुभव छ ।
गीतले साना कक्षामा पढ्ने विद्यार्थीलाई पनि नेपाली सुधार्न प्रोत्साहन गरेको छ । स्कुल आउँदा वा घर जाँदा भ्यानमा विद्यार्थी यही गीत गाउँछन् । एउटाले झुक्किएर बिगारे अर्काले ‘यसो होइन यसो हुनुपर्छ’ भनेर सम्झाउँछन् ।
भाषाको महत्व बुझायो
अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले अंग्रेजी भाषा महत्वपूर्ण छ । तर, हामी नेपाली भएकाले नेपाली भाषा हाम्रो गौरव हो । यो भावना गीतले विद्यार्थीमा जगाएको छ । विद्यार्थी जीवनदेखि नै राष्ट्रियताको भावना जगाउन जरुरी देख्ने दिलासा भन्छिन्, ‘अंग्रेजी भाषामा आफ्नोपन हुँदैन, तर नेपाली भाषामा मौलिकपन हुन्छ । यसलाई संरक्षण गर्दै जानुपर्छ ।’ शुद्धसँग नेपाली बोल्दा अग्रजसँगको सम्बन्ध पनि सुध्रने उनको भोगाइ छ ।
नेपाली साहित्यकारका राम्रा साहित्य र पत्रपत्रिकामा छापिने लेख बुझ्न नेपाली भाषा जान्नुपर्ने सिर्जनाले बताइन् । हामी अंग्रेजी भाषालाई जति महत्व दिन्छौं, त्यति नै मातृभाषालाई माया गर्नुपर्छ भन्ने ठान्छिन् कक्षा ९ की शर्मिला साउद ।
कहिल्यै बोरिङ नलाग्ने कक्षा
शिक्षक घिमिरे कक्षामा आउँदा कहिले गाउँदै त कहिले नाच्दै आउँछन् । त्यसैले विद्यार्थीलाई उनको कक्षा कहिल्यै बोरिङ लाग्दैन । डान्स कक्षामा नाच्दानाच्दै थाकेर आएका विद्यार्थी पनि नेपाली कक्षा छुटाउन चाहँदैनन् । कुनै पनि पाठ पठाउँदा समाजसँग सम्बद्ध धेरै विषयलाई जोडेर सिकाउने उनको बानी छ । कक्षा अवधिभर विद्यार्थीको ध्यान शिक्षकमै केन्द्रित हुने हुनाले पढाएको कुरा सधैं ताजा रहन्छ । ‘हरेक कुरा राम्ररी हेर, जान, नबुझेको सोध अनि बुझेर लेख भन्नुहुन्छ’, आफ्नो गुरुको प्रशंसा गर्दै अनुजले भने, ‘छिटो पढाऊँ भनेर कहिल्यै भन्नुहुन्न, आनन्दले पढाउनुहुन्छ र सबै बुझाएर जानुहुन्छ ।’
पढाउने शैलीमा परिवर्तन
शिक्षकको योजना पाठ सकाउने भन्दा विद्यार्थीलाई कसरी बुझाउने भन्नेमा केन्द्रित हुनुपर्छ भन्छिन् दिलासा । ‘शिक्षकले हाम्रो मनोविज्ञान बुझेर पढाए प्रश्न सोध्न डर लाग्दैन, अनि हामीले बुझ्छौं’, उनले प्रस्ट्याइन् । नेपाली कक्षाबाट सिकेर विद्यालयमा अन्य शिक्षकले पनि पढाउने शैलीमा परिवर्तन गरेका उनीहरूले बताए । कहिलेकाहीँ कुनै विषय अलि गाह्रै लागे
अडियो भिडियो कक्षामा लगेर उनीहरूलाई बुझाइन्छ । यसरी देखेका कुरा दिमागमा लामो समयसम्म टिक्ने हुँदा परीक्षामा एकपटक दोहोर्याए उनीहरूले सम्झिहाल्छन् ।