यू-१९ क्रिकेट : अफगानिस्तानविरुद्ध नेपाल २५ रनले विजयी
काठमाडौँ : भारतीय क्रिकेट बोर्डको आयोजनामा भइरहेको मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली यू-१९ राष्ट्रिय टोलीले पहिलो जित दर्ता गर्न सफल भएको छ। भारतको यू-१९ टोलीसँग लगातार दुई खेलमा पराजय भोगेपछि नेपाली टोलीले अफगानिस्तानको यू-९ टोलीलाई आइतवार २५ रनले पराजित गरेको हो ।
लखनउस्थित इकाना अन्तर्राष्ट्रिय मैदानमा भएको समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले पवन सर्राफको शानदार ७८ रन सहयोगमा ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १८९ रन जोडेको थियो ।
नेपालका लागि ब्याटिङमा पवन सर्राफले सर्वाधिक अविजित ७८ रन बनाउँदा सन्दीप जोराले २८, राशिद खानले २४ र लोकेश बमले १६ रन बनाए । नेपालका लागि सर्वाधिक ७८ रन बनाएका सर्राफले ९६ बलमा १० चौका र १ छक्का हाने ।
बलिङतर्फ अफगानिस्तान यू-१९ टोलीका लागि नविद कबिरले सर्वाधिक ३, अबिद मोहम्मदी र अरिफ दव्लतजाईले समान २-२ विकेट लिन सफल भए ।
१९० रनको लक्ष्यसहित ब्याटिङमा उत्रेको अफगानिस्तानलाई नेपाली बलरले ४७.४ ओभरमा १६४ रनमै अल आउट गरे । पराजित अफगानिस्तानका लागि कप्तान अहमद मेहरनले सर्वाधिक ५७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ४ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरी र राशिद खानले समान २-२ विकेट झारे ।
प्रतियोगितामा एक मात्र खेल जितेको नेपाल २ अङकसहित तेस्रो स्थानमा रहँदा तीनै खेल हारेको अफगानिस्तान चैथो स्थानमा छ ।
यो मैत्रीपूर्ण प्रतियोगितामा नेपाल, अफगानिस्तान, भारत अन्डर १९- ए र बी टिम सम्मिलित छन् । समूह चरणको खेल सकिएपछि अब भारतको यू-१९ 'ए' र 'बी' फाइनलमा भिड्नेछन् । नेपाल र अफगानिस्तानबीच तेस्रो स्थानका लागि खेल हुनेछ ।