निर्मला बलात्कार-हत्या प्रकरण : प्रहरीमाथि छानबिन गर्न विज्ञ टोली
काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको हो ।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको हत्यापछि प्रहरीले नै प्रमाण मेटाएको, मुख्य अभियुक्त जोगाउन नक्कली अभियुक्त खडा गरेको, घटनास्थललाई सामान्यीकरण गरेर हेरेको र पीडितका अभिभावकलाई अटेरी गरेकोलगायत आरोपपछि ६ जना प्रहरी कर्मचारी निलम्बनमा छन् ।
निर्मला बलात्कार–हत्या प्रकरणपछि प्रमाण लुकाउन प्रहरीले गरेका क्रियाकलापसँगै उनीहरूको संलग्नता पुस्ट्याइँका लागि विज्ञ टोली गठन गरिएको हो । विज्ञ टोलीमा बस्न्यातसँगै प्रहरी वरिष्ठ उपरीक्षक नीरज शाही, उत्तम सुवेदी, प्रहरी उपरीक्षक गणेश रेग्मी, प्रहरी नायब उपरीक्षक रमेश थापा, सन्तोष आचार्य, प्रहरी निरीक्षक दधिराम न्यौपाने, कौशल बुढाथोकी र दीपक कार्की छन् ।
यो टोलीमा फरकफरक क्षमताका प्रहरी कर्मचारी छन् । बस्नेत र थापा अपराध अनुसन्धानमा पोख्त छन् । शाही साइबर अपराध अनुसन्धानमा, न्यौपाने पोलिग्राफ परीक्षण र कौशल कल डिटेल विश्लेषणमा पोख्त मानिन्छन् । सुवेदी, आचार्य र कार्की देशभरका प्रहरी कर्मचारीविरुद्ध आउने उजुरी हेर्ने शाखामा छन् । रेग्मी अहिले कानुनका विज्ञ हुन् । उनले ‘च्यालेन्ज अफ द नेपाल पुलिस विथ स्पेसल फोकस अन मेन्टेनिङ रुल अफ ल इन्कन्टेम्पोररी सोसाइटी’ मा विद्यावारिधि गरेका छन् ।
टोलीले कञ्चनपुर घटना प्रकरणमा निलम्बनमा परेका सबै प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयमा उपस्थित गराउँछ । उनीहरूले प्रयोग गर्ने फोनको कल डिटेल हेर्ने, फेसबुक र भाइबरको अभिलेख हेर्ने, उनीहरूसँग बयान लिने र आवश्यक परे पोलिग्राफसमेत परीक्षण गर्नेछ ।
कञ्चनपुर घटना प्रकरणलाई लिएर गृह मन्त्रालयको निर्देशनमा प्रहरी मुख्यालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, अंगुर जीसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिसकेको छ ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले शनिबार पाँचजना प्रहरी कर्मचारीलाई निलम्बन गरी छानबिन थाल्ने रायसहितको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाएपछि निलम्बन प्रक्रिया अगाडि बढेको थियो । तर प्रहरी महानिरीक्षक खनालले ‘तत्कालै निलम्बन नगरौं । यसले प्रहरीको मनोबलमा असर पुग्छ’ भनेर गृहमन्त्रीलाई अनुरोध गरेका थिए । थापाले प्रतिवेदनअनुसार कार्यान्वयन नगरे बाहिर नराम्रो सन्देश जाने भन्दै निलम्बन प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको स्रोत बताउँछ ।
निलम्बनमा परेका प्रहरी कर्मचारीमाथि नै आवश्यक छानबिन गर्नुपर्ने देखिएपछि विज्ञ टोली गठन गरिएको प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । ‘हो न हो, कञ्चनपुर घटना यहाँसम्म आइपुग्नमा प्रहरीकै मिलेमतो जसरी बाहिर आएको विषयमाथि सत्यतथ्य जाँच गर्न विज्ञ टोली बनाएर छानबिन थालिएको छ, ‘यो टोलीले सबै प्रकारको विधि अपनाएर निलम्बित प्रहरीमाथि छानबिन गर्छ र दोषी देखिएमा कारबाही गर्छ ।’