नासाको उपग्रहले हिउँ र समुद्री सतह अध्ययन गर्ने
लस एन्जलस : नेसनल एरोनटिक्स स्पेस एजेन्सी (नासा)ले पृथ्वीको सतहबाट हिउँ पग्लने क्रम र समुद्रको सतहमा भइरहेको वृद्धिसम्बन्धी अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह अन्तरिक्षमा पठाएको छ।
करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित भान्डेनबर्ग हवाई अखडाबाट प्रक्षेपण गरिएको हो। नासाले करिब आधा टन भारवहन क्षमताको आइसस्याट-२ उपग्रहले खासगरी ध्रुवीय क्षेत्रको हिउँबारे अध्ययन गर्ने जनाएको छ।
यसअघि सन् २००३ मा प्रक्षेपण गरिएको आइसस्याटको अवधि सन् २००९ मा सकिएको थियो। पहिलो मिसनले समुद्रमा हिउँ पातलिँदै गएको र ग्रिनल्यान्ड तथा अन्टार्कटिकाको तटबाट हिउँ पग्लँदै गएको पत्ता लगाएको थियो।
यसपछि पछिल्ला ९ वर्षमा अपरेसन आइसब्रिज हवाई अभियान सञ्चालन गरिएको थियो। यी हवाईजहाज उत्तरी र दक्षिणी ध्रुवमाथि उडाइएको थियो र यसबाट पग्लँदो हिउँको तह नापिएको थियो। अत्याधुनिक प्रविधिले अन्तरिक्षबाट लिइने तस्बिर र जानकारी यथार्थपरक हुनेछ।
नयाँ लेजर भूउपग्रहले एक सेकेन्डमा १० हजार तस्बिर लिन सक्छ। पहिलो मिसनमा पठाएको आइसस्याटले प्रतिसेकेन्ड ४० तस्बिर मात्र लिन सक्थ्यो। यो अन्तरिक्ष अभियान ३ वर्ष चल्नेछ भए पनि १० वर्षका लागि पुग्ने इन्धन छ।