धाैलागिरि अञ्चल अस्पताल : दरबन्दी छ, डाक्टर छैनन्
बागलुङ : धौलागिरि अञ्चल अस्पताल बागलुङमा १६ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि उपस्थिति शून्य छ । साविकको धौलागिरि अञ्चल सदरमुकाम बागलुङ बजारमा रहेको अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नभएपछि सेवाग्राहीको विश्वास र भरोसा घट्दै जान थालेको छ ।
अस्पतालमा अहिले विशेषज्ञ डाक्टरका रूपमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारी मात्र कार्यरत छन् । त्यसबाहेक विशेषज्ञ डाक्टरका रूपमा सरकारले धेरै प्रयासपछि पठाएका वरिष्ठ कन्सल्टेन्ट सर्जन र जनरल फिजिसियन दुवै वीर अस्पतालमा काजमा गएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । कतिपय अवस्थामा अञ्चल अस्पतालमा सम्भव हुने समस्या पनि जनशक्ति अभावमा अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
अस्पतालमा प्रमुख जनरल फिजिसियन, प्रमुख कन्सल्टेन्ट अब्स एन्ड गाइनो, प्रमुख कन्सल्टेन्ट पिडियाट्रिसियन, वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक, वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट प्याथोलोजिष्ट, वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट, वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन, अस्पताल नर्सिङ प्रशासक, वरिष्ठ कन्सल्टेन्ट ईएनटी सर्जन, मेडिकल जर्नालिस्टको दरबन्दी भए पनि पदपूर्ति हुन सकेको छैन ।
दर्जनभन्दा बढी विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि हाल एक प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको भरमा अस्पताल सञ्चालन भइरहेको सूचना अधिकारी गौतमले बताए । उनका अनुसार अस्पतालमा फरक–फरक पदमा ७८ जनाको दरबन्दी छ । जसमा ५८ जना कार्यरत रहेको र १४ जना विशेषज्ञसहित २० जनाको पद रिक्त छ । ८ जनाको दरबन्दी रहेको मेडिकल अधिकृतमा ६ जना कार्यरत छन् ।
फरक–फरक समयमा मन्त्रालयले अञ्चल अस्पतालका लागि डाक्टरको सरुवा गरे पनि उनीहरूले मन्त्रालयबाटै सरुवासँगै काजको चिठी लिएर आउने गरेको अस्पताल विकास समितिका पूर्वअध्यक्ष टीकाराम सापकोटाले बताए । उनका अनुसार बागलुङमा प्रशस्त मात्रामा निजी अस्पताल नभएको र अन्यत्र काम गर्ने मौका नपाइने भएकाले मन्त्रालयले खटाएका डाक्टर पनि अस्पतालमा नआउने गरेका हुन् । ‘अञ्चल अस्पताल भएकाले यसप्रति सेवाग्राहीको अपेक्षा बढी छ र यो स्वाभाविक पनि छ,’ धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सागर राजभण्डारीले भने, ‘दरबन्दीअनुसार विशेषज्ञ डाक्टर नहुँदा ठूलो समस्या, गुनासो र आलोचना खेप्नुपरेको छ ।’
आफ्नो ड्युटीका अतिरिक्त समयमा पनि निरन्तर खटेर काम गर्दासमेत बेला–बेला जनशक्ति अभावका कारण समस्या भोगिरहेको उनले सुनाए । अस्पतालमा विशेषज्ञ सेवा प्रवाह गर्ने डाक्टर अभावमा केही साताअघि प्रसूति गराउन आएका महिलालाई पोखरा रेफर गरेको तर सडक अवरुद्ध भएपछि पर्वत र म्याग्दी पु¥याएर सफल अपरेसन गरिएको थियो । यसपछि अञ्चल अस्पतालले जिल्ला अस्पतालले गर्ने अपरेसन र उपचार पनि गर्न नसकेको भन्दै अस्पतालको अझ बढी आलोचना भएको थियो ।
धौलागिरिका ४ जिल्लालाई लक्ष्य गर्दै सरकारले ०६४ सालमा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरेर अञ्चल अस्पताल बनाएको थियो । राज्यले अञ्चल अस्पतालको मान्यता दिए पनि सोहीअनुसार जनशक्ति र उपकरण उपलब्ध गराउनुपर्ने डा.राजभण्डारीले जोड दिए । ‘मन्त्रालय, विभागमा आफैं गएर पनि पटक–पटक ध्यानाकर्षण गराएको छु, यहाँका जनप्रतिनिधि, नेताले पनि आफ्ना तर्फबाट पहल गर्नुभएको छ’, उनले भने, ‘तर यहाँ डाक्टर आउनै नमान्ने खालको समस्या पहिल्यैदेखिको छ, धेरै पहलपछि ५ जना विशेषज्ञ डाक्टर आउने खबर आएको छ, हामी आशावादी छौं ।’