काठमाडौंको कागेश्वरी महादेवमा सुनको काग किन देखाइन्छ ?
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीको कागेश्वरी महादेव मन्दिरमा मेला सुरु भएको छ। मेलामा सोमबार बिहानैदेखि हजारौं तीर्थयात्रीको भीड लागेको छ। हरेक वर्ष भदौ शुक्ल अष्टमीका दिन यहाँ मेला लाग्ने गर्दछ। किंवदन्ती अनुसार कागले गाईको दूध पहरामा रहेका शिव लिङ्गमा चढाउँदै गरेको गोठालाले देखेको जनविश्वासका आधारमा वर्षेनी यो मेला लाग्दै आएको छ।
सांस्कृतिक तथा धार्मिक महत्वको मेला अवलोकन गर्न साँखु, थली, जोरपाटी, सुन्दरीजल, नयाँपाटी, गागल, भक्तपुर र ललितपुरबाट पनि दर्शनार्थीको उल्लेखनीय उपस्थिति छ।
कागेश्वरी मेलासम्बन्धी विभिन्न धार्मिक मान्यता रहिआएका छन्। यमराजको दूत कागले मान्छेलाई छुँदा अशुभ हुने र त्यसबाट मुक्त हुन कागेश्वरी मन्दिरको पोखरीमा नुहाउनु पर्ने धार्मिक मान्यता रहेको छ।
महादेवका ६४ लिंगमध्ये कागेश्वरी महादेव पनि एक भएकाले यसको दर्शन गर्दा मनोकामना पूर्ण हुने आस्थाका साथ यहाँ भक्तजनको भीड लाग्ने गर्दछ। कागको रूपमा रहेका कागेश्वर महादेवको स्नान गरी जल चढाई पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ। त्यस्तै गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले त्यहाँको पवित्र जल लिएर राजधानीको उत्तरपूर्वी कागेश्वरीमा अवस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथा मनोकामना पूर्ण हुने विश्वास रहिआएको छ।
कागेश्वर महादेव उत्पत्तिका सम्बन्धमा पनि विभिन्न किम्बदन्ती छन्। प्राचीनकालको एक किम्बदन्तीअनुसार महादेव कैलाशबाट हराएपछि ब्रह्मा, विष्णु, इन्द्र र पार्वती महादेवलाई खोज्न विभिन्न स्थानमा गएका थिए।तर, कहि भेटाउन सकेनन्। पछि कागले सूचना दिएपछि महादेव यही स्थानमा भेटिएका थिए। कागको सूचनाका आधारमा महादेव फेला परेपछि यो स्थानलाई कागेश्वर महादेवका रुपमा स्थापित गरिएको स्थानीयको भनाइ छ। त्यसैले भदौ शुक्ल अष्टमीका दिन मन्दिरपरिसरमा सुनको कागको प्रतिमूर्ति राखिने र त्यसको विधिवत तरिकाले पूजा गरिन्छ।
धार्मिक मान्यता अनुसार कागलाई यमराजको दूत पनि मानिन्छ। त्यसैले तिहारमा कागको विशेष पूजा गरिँदै आएको छ। त्यस्तै काग संवाहकको सूचक पनि मानिन्छ। मुखमा खानेकुरा बोकेको काग देखिएमा शुभ मानिन्छ।बिहानपख घरको छतमा आएर काग कराएमा पाहुना आउने संकेत मानिन्छ।
आजको दिन मन्दिरमा पूजाआजा गर्दा सम्पूर्ण पाप नास हुने र सुख, शान्ति प्राप्त गरी मरणोपरान्त सुखभोगको फल मिल्ने मान्यता रहिआएको छ। कागेश्वरी मनोहरा नगरपालिका-५ थलीकी शारदा विष्टले कागको रूपमा रहेका कागेश्वर महादेवमा स्नान गरेर जल चढाई पूजा गर्दा सम्पूर्ण पाप नास हुने र परिवारमा सुख, शान्ति प्राप्त हुने बताइन्।
मेलामा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु सिंखडा,नगर प्रवक्ता राजाराम पुडासैनी, प्रत्येक वडाका वडाध्यक्ष,कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति रह्यो।
उपप्रमुख सिंखडाले कागेश्वरीलाई उपत्यकाको उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा विकसित गर्न कागेश्वरी मनोहरा नगरपालिकाले बृहत् कागेश्वरी पर्यटनस्थलको अवधारणा समेत विकास गरेको जानकारी दिइन्। कागेश्वरी महादेव मन्दिरको नामबाट नै नगरपालिकाको नामांकरण भएको हुँदा सोमबार नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।