शिक्षक सेवा आयोगमा कसरी नाम निकाल्ने
गत जेठमा शिक्षक सेवा आयोगले मावि, निमावि र प्रावि तहमा १२ हजार सात सय ३९ दरबन्दी खुलायो। यस विज्ञापनमा करिब दुई लाख ७९ हजार परीक्षार्थीले दरखास्त दिएका छन्। खुला तथा समावेशी समूहमा खुलाइएको उक्त परीक्षामा कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ। म हाल इलामको फाफोकथुम गाउँपालिका–७ एकतप्पास्थित सिंहदेवी माविको माध्यमिक तह नेपाली विषय शिक्षकको रूपमा कार्यरत एक शिक्षक हुँ। यस लेखमा शिक्षक सेवामा नाम कसरी निकाल्ने भनेर आफ्नो अनुभवका आधारमा केही टिप्स प्रस्तुत गरेको छु।
वर्तमान शिक्षा पद्धतिअनुसार विद्यालय तहको संरचना आधारभूत र माध्यमिक तह गरी दुई खण्डमा विभाजन गरिएको छ। तर, आयोगले पुरानै संरचना प्रावि, निमावि र माविअनुसार विज्ञापन गरेको छ। उक्त परीक्षा सञ्चालनका लागि आयोगले २०७५ सालमा नयाँ पाठ्यक्रम तय गरेको छ। जसअन्तर्गत वस्तुगत, विषयगत र समस्याप्रधान एवं नवीन प्रविधि भनेर तीन खण्डमा पाठ्यक्रमको विभाजन गरेको छ। हाल वस्तुगत र विषयगतका लागि क्रमशः ४० र ६० अंकको अंकभार तय गरिएको छ। ४० अंक उत्तीर्णांक तोकिए पनि प्रतिस्पर्धाका आधारमा नाम निकालिनेछ।
वस्तुगत परीक्षाका लागि ४० अंक छुट्ट्याइएको हुँदा परीक्षार्थीले यसलाई बढी महŒव दिनुपर्ने देखिन्छ। वस्तुगत परीक्षामा ३० अंक प्राप्त गर्न सके प्रतिस्पर्धामा आउन सहज हुन्छ।
आयोगको वस्तुगत परीक्षाको लागि मावि तथा निमावि तहमा छुट्ट्याइएको ४५ मिनेटको समयभित्र ४० वटा प्रश्नको समाधान गरिसक्नुपर्नेछ। यसका लागि परीक्षार्थी नआत्तिई विषयवस्तुमा गम्भीर र सजक हुँदै उत्तर दिनुपर्ने हुन्छ। २०७३ सालभन्दा अघिको पाठ्यक्रमले निर्धारण गरेको व्यवस्थाअनुसार शिक्षामा नवीनतम् चिन्तन विषयलाई विषयगत परीक्षाअन्तर्गत समावेश गरे पनि हाल यसलाई वस्तुगत परीक्षाभित्र समावेश गरेको हँुदा सोहीअनुसार अध्ययन गर्नुपर्ने देखिन्छ।
मावि र निमावि तहको परीक्षा तयारी गर्दा दुवै तहलाई समानान्तर रूपमा अगाडि बढाउँदा सजिलो हुन्छ। पाठ्यक्रमले निर्धारण गरेको विषयलाई हेर्दा पनि खासै भिन्नता देखिँदैन। त्यसैले, माथिल्लो तहको तयारीले तल्लो तहलाई समेत सजिलो हुन्छ। माध्यमिक तहका लागि स्नातक तहको शैक्षिक योग्यता तोकिनुले पनि सोही तहको अध्ययनबाट अधिकांश विषयवस्तुहरू समेटिएको पाइन्छ।
अघिल्लो पाठ्यक्रमले शिक्षण पद्धतिलाइ बढी जोड दिए पनि वर्तमान पाठ्यक्रमले विषयवस्तुको ज्ञानलाई बढी जोड दिएको छ। यसले गर्दा हरेक विषयको लागि कक्षा ११ तथा १२ र स्नातक तहको पाठ्यवस्तुको गहिरो अध्ययन गर्न सके नाम निकाल्न सजिलो हुन्छ। कक्षा ११ तथा १२ ले विषय वस्तुको आधारभूत ज्ञानलाई समेटेको छ भने स्नातक तहले यसको सुक्ष्म विश्लेषण गरेको छ। त्यसैले, उक्त तहहरूमा अध्ययन गर्नुपर्ने ऐच्छिक विषयहरूको अध्ययन गर्ने हो भने ६० अंकको विषयगत परीक्षाको निम्ति अन्य सामग्रीको खोजी गरिरहनु पर्ने आवश्यकता देखिँदैन।
पूर्वाञ्चलबाट नेपाली विषयको खुलातर्फ २६ वटा कोटा थियो। जसमा करिब २३ सयको हाराहारीमा परीक्षार्थीहरू सामेल थिए। मैले सोही आयोगको मावि र निमावि दुवै तहको लिखित परीक्षा पास गरेँ। शिक्षक सेवा आयोग पूर्ण रूपमा निष्पक्ष भएको लाग्यो।
परीक्षार्थीले पाठ्यक्रमको अध्ययन गर्न आवश्यक छ। प्रकाशित साल, मूल पाठ्यपुस्तकहरूको खोजी गरी अध्ययन गर्दा द्विविधा हुँदैन। कुनै एउटा पुस्तकको सतही अध्ययनले नाम निकाल्न असम्भव देखिन्छ। कम्तीमा तीन÷चार वटा पुस्तकको अध्ययन गरी मुख्य कुराहरूको नोट गर्ने बानी बसाल्नुपर्छ।
भरसक घोकेर होइन, बुझेर पढ्ने बानीले विषयवस्तुलाई सामान्यीकरण हुने पढाइ चिरस्थायी हुने निश्चित छ। विषयवस्तुको अध्ययनमात्रै सबै कुरा होइन, परीक्षामा सहभागी भएपछि समयको व्यवस्थापनको पनि ठूलो भूमिका हुन्छ। सादा कागजमा लेख्ने अभ्यास, उपयुक्त मार्जिन छोडाइ, अक्षरको बान्की, शुद्ध लेखाइ, विषयवस्तु व्यक्त गर्ने शैली, पूरा प्रश्नको उत्तर दिनेजस्ता कुराहरूले परीक्षालाई सकारात्मक प्रभाव पार्छ। यी कुराहरूमा परीक्षार्थीले ध्यान दिनुपर्छ। विषयवस्तुको ज्ञान र व्यक्त गर्ने तरिका साथै परीक्षामा सोधिएका प्रश्न ध्यानपूर्वक पढ्ने बानी गर्नुुपर्छ।
परीक्षार्थीले आत्मविश्वासका साथ उत्तर दिनुपर्छ। तहगत रूपमा भाषिक प्रयोग गर्दै स्तरीय अभिव्यक्तिको अपेक्षा प्रश्नले गरेको हुन्छ। शिक्षण क्रियाकलापहरूसँग सम्बन्धित प्रश्नको उत्तर दिँदा विद्यार्थीकै तहमा ओर्लिएर एउटा कुशल शिक्षकले कक्षा शिक्षण गर्दा अपनाउने कार्य व्यवहारलाई आधार मानेर समस्याको समाधान गर्नुपर्छ।
विद्यार्थीको स्तर, क्षमता, ज्ञान, सीप, तहका साथै मनोवैज्ञानिक पक्षलाई मध्यनजर गर्दै सरल र बोधगम्य भाषा शैलीको प्रयोेग परीक्षामा बढी प्रभावकारी हुन्छ। व्याख्यात्मक शैलीभन्दा बुँदागत रूपमा उत्तर दिन सके थोरैमा धेरै कुराहरू समेट्न सकिन्छ, यसले उत्तर पुस्तिका परीक्षक बढी प्रभावित हुन्छन्।
कुनै पनि सेवा आयोगको परीक्षा पास अंकसँग मात्र सम्बन्धित नभएर प्रस्तिपर्धाको विकल्प हुदैन। झिनोभन्दा झिनो अंकको अन्तरले पछि परिने हुँदा परीक्षकलाई आकर्षित गर्ने उपायहरूको खोजी गर्दै सफलताको सिढी चढ्न सकिन्छ। विगतमा लिएका प्रश्नहरू संकलन गर्ने नमुना प्रश्नहरू संकलन गर्ने र तिनीहरूको समाधान गर्दै जाने हो भने लेखाइको गति र उत्तर दिने शैली सुदृढ हुँदै जान्छ।
धेरैजसो परीक्षार्थीहरू मर्नुभन्दा पहिले खुट्टा तन्काउनु भनेझै केही आउँदैन के लेख्नु, कसरी लेख्नु भनेर विचलित भएको पाइन्छ। धैर्य र आत्मविश्वास नै सफलताको कडी हो।
मेरो अनुभव
२०६३ सालमा मैले स्नातक तह उत्तीर्ण गरेँ। अर्को वर्ष यूएई गएँ। त्यहाँ दुई वर्षसम्म सामान्य कामदारको रूपमा काम गरी २०६६ सालमा नेपाल फर्किएर स्नातककोत्तर ज्वाइन गरेँ। २०६८ सालमा शैक्षिक वर्ष पूरा गरेपछि काठमाडौं, रातोपुलस्थित एप्पल एकाडेमी स्कुलबाट शिक्षण पेसा सुरु गरेँ। पछि चाबहिलमा रहेको विनायक अंग्रेजी माविमा शिक्षण गर्दागर्दै २०७० सालमा शिक्षक सेवा आयोगले खुला विज्ञापन ग¥यो। यसबेला वर्षौंदेखि विद्यालयमा अस्थायी रूपमा शिक्षण गर्दै आएका शिक्षकलाई स्थायी गराउने प्रक्रिया मात्र होला भन्दै धेरै तयारी नगरी परीक्षामा सामेल भएँ। नतिजा त्यस्तो भएन, निष्पक्ष प्रतिस्पर्धा देखियो। यो बुझेर २०७२ सालको शिक्षा आयोग खुल्दा वैशाखदेखि असारसम्म पूर्ण रूपमा आयोगको तयारी गरेँ। मावि र निमावि तहको अञ्चल स्तरमा खुलाइएको पूर्वाञ्चलबाट नेपाली विषयको खुलातर्फ २६ वटा कोटा थियो। जसमा करिब २३ सयको हारहारीमा परीक्षार्थी सामेल थिए।
मैले सोही आयोगको मावि र निमावि दुवै तहको लिखित परीक्षा पास गरी मावि तहको अन्तर्वार्ताबाट आठौं स्थानमा नाम निकाल्न सफल भएँ। मेरो यो सफलताले शिक्षक सेवा आयोग पूर्ण रूपमा निष्पक्ष भएको प्रमाणित पनि भयो।
त्यसैले, हाल आयोगको परीक्षा तयारीमा रहनुभएका सबैलाई ध्यानपूर्वक तयारी गर्न अनुरोध छ। जीवन भनेकै संघर्षको पर्याय हो। एकै पटकमा सफल हुन नसकिएला तर असफलता नै सफलताको सूचक ठानी उद्देश्यबाट कति पनि विचलित नभई पढाइलाई निरन्तरता दिनु हुन पनि अनुरोध गर्न चाहन्छु।