पीडितले बयान फेरेपछि एक दिनमै घटना युटर्न
जाजरकोट : क्षतिपूर्ति र अवैध मेडिकल संचालकलाई कारबाहीको माग गदै आफन्तले शनिबारसम्म शव बुझ्न मानेका थिएनन्। तर चौबिस घण्टाभित्र आफन्तले नै बयान फेरेपछि महिला मृत्यु प्रकरण पुरै युटर्न भएको छ।
घटना थप रहस्यमय भएको छ। छेडागाड नगरपालिका- ५, थलहबजारस्थित जयलक्ष्मी मेडिको फर्ममा उपचारका लागि गएकी छेडागाड -१० नल्फुकी ३८ वर्षीया पन्चकला नाथ योगीको गत बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।
सामान्य ज्वरो आउँदा उपचार गर्न गएकी ति महिलाको मेडिकल संचालक तिलक बोहराको लापरबाहीले ज्यान गएको भन्दै आफन्तले क्षतिपूर्ति र कारबाहीको माग गदै शव बुझ्न मानेका थिएनन्। तर भित्रीरुपमा पीडित पक्ष र मेडिकल संचालक पक्षबीच रकम लेनदेनमा कुरा मिलेपछि आइतबार पीडित पक्ष शव बुझ्न सहमत भएका हुन्।
पीडित पक्षले शव मात्र बुझेका छैनन् भवितब्यमा महिलाको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा लिखित निवेदन समेत दिएपछि थप आशंका उब्जिएको छ। 'शनिबारसम्म मेडिकल संचालककै लापरबाहीले महिलाको मृत्यु भएको भन्दै किटानी जाहेरी दिन तयारीमा थिए तर, आइतबार एक्कासी उनको मृत्यु भवितब्यमा परेर भयो भनेर जाहेरी आयो हामी आश्चार्यमा परेका छौं, निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकबहादुर विष्टले भने, 'मेडिकलवालाले औषधी बिक्री गर्न मात्र पाउँछ त्यो पनि अवैध मेडिकल हो भन्ने कुरो आएको छ।उसले आफै चेकजाँच गरेर सुई लगाएको देखिन्छ। जुन मेडिकल अधिकृतबाहेक अन्य स्वास्थ्यकर्मीले गर्न मिल्दैन।'
पीडित पक्षले जाहेरी नदिए पनि घटनाको प्रारम्भिक अनुसन्धानबाट प्रहरीले इलाजसम्बन्धी कसुर २०७४ अनुसार फौजदारी अभियोगमा मेडिकल संचालक विरुद्ध आइतबार नै मुद्धा दर्ता गराएको प्रहरी निरीक्षक विष्टले बताए।
' पीडित पक्ष मिले पनि गैरकानुनी कार्य छ भने प्रहरी चुप लागेर बस्दैन। आफ्नो प्रक्रिया अघि बढाउँछ विष्टले भने, 'अदालतले मेडिकल संचालक बोहरालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। घटनाको विस्तृत रुपमा छानबिन गर्छौं।'
घटना लगत्तै उनी पक्राउ परेका थिए। स्रोतका अनुसार पीडित पक्षलाई मेडिकल संचालक पक्षले सात लाख रुपैयाँमा सहमत गराएको बताइएको छ। उक्त रकम लेनदेन पछि लास बुझ्ने र भवितब्यले मृत्यु भएको बयान गर्ने सहमति भएको स्रोतको दावी छ।
उक्त कुरा मिलाउन केही राजनैतिक दलका नेता समेत सक्रिय भएका थिए। मृतकका ससुरा सेतुनाथ योगीले समेत कुरा फेरेका छन्। 'उपचार गरेर फर्कने क्रममा बाटोमा बुहारीको मृत्यु भयो। जे हुन भैहाल्यो। मुद्धा लडेर पनि पैसा मात्र खर्च हुने हो। बुहारी फर्केर आउने होइन। त्यही भएर भवितब्यमा परेर ज्यान गएको भनि प्रहरीमा निदेदन दिएको हुँ' उनले भने, 'तर कसैको दबाब र पैसाको प्रभावमा परेको छैन।'
ज्वरोको उपचारका लागि आएकी ति महिलालाई मेडिकल संचालन बोहराले तीनवटा सुई लगाएको र केही समय पछि घरै लैजाने क्रममा बाटोमै निधन भएको थियो। मेडिकलमा नभई घर जाने क्रममा ति महिलाको मृत्यु भएकाले उपचारमा कुनै लापरबाही नभएको मेडिकल संचालकको तर्क छ।पीडित पक्षले मेडिकलमा ज्वरोको तीनवटा सुई लगाएको केही घण्टामै मृत्यु भएकाले उपचारमा लापरवाही भएको भन्दै क्षतिपूर्ति र कारबाहीको माग गरेर शव समेत बुझेका थिएनन्।तर उनीहरुको अडान २४ घण्टाभित्र युटर्न भएको अधिकारकर्मीको भनाई छ।