दुई लाख नक्कली भारतीय रकमसहित एकजना पक्राउ
महेन्द्रनगर : नक्कली भारतीय रकम सहित कञ्चनपुरको बेलौरी क्षेत्रमा एक भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीको टोलीले ती भारतीय नागरिकलाई २ लाख नक्कली रकम सहित पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाका अनुसार पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंह रहेका छन् ।
उनले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीले ५ सय दरका २ लाख रकम सहित पक्राउ गरेको हो ।
बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई खप्टे नालाबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक चुडामणि पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले सिंहलाई सो नक्कली नोटसहित पक्राउ गरेको हो ।
उनले नेपाल प्रवेश गरेर नक्कली भारतीय नोटको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी गरिरहेको थियो ।
पक्राउ परेका भारतीय नागरिक सिंहलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएका छ । ती भारतीय नागरिकले नेपालतर्फ समेत कसैसंग मिलेर कारोबार गर्ने गरेको छ वा छैन भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
गतवर्ष समेत प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले बेलौरी क्षेत्रबाटै नक्कली पैसा छाप्ने गिरोहका २ जनालाई पक्राउ गरेको थियो ।
ती गिरोहका दुईजनाले सीमावर्ती भारतीय गाउँमा बसेर नेपाली नक्कली रकम छपाईको काम गर्दै आएका थिए । प्रहरीले नक्कली नोट छाप्न आवश्यक पर्ने मेशिन सहितका सामाग्री र केही रकम समेत बरामद गरेको थियो ।