धान मासेर केराखेती

धान मासेर केराखेती

बेसीसहर : नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सुनील सुनारले धान रोप्ने खेतमा व्यावसायिक केराखेती सुरु गरेका छन्। विघटित नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसीएल नेपालका जिल्ला अध्यक्षसमेत रहेका सुनारले सुन्दरबजार नगरपालिका–१ कुन्छामा केराखेती गरेका हुन्। उनी हाल नेकपाका जिल्ला कार्यदल सदस्यसमेत हुन्।

३५ वर्षीय सुनारले धान खेती गर्र्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी कुँडुले खेतमा केरा खेती गरेका हुन्। सुरुमा १० रोपनी जग्गामा केराका बिरुवा रोपेका उनले हालसम्म एक हजार पाँच सय बिरुवा रोपिसकेकोे बताए। उनले गत जेठबाट केरा खेती सुरु गरेका हुन्।

‘अहिले सुरुआत मात्र गरेको छु। विस्तारै जग्गा व्यवस्थापनसँगै केरा खेती विस्तार गर्ने सोच छ’, उनले भने। धान खेती गरिँदै आए पनि खेताला नपाउने र उत्पादन पनि घट्दै गएपछि सोही खेतमा केरा लगाउन थालेको उनले बताए। ‘धान खेती गरेको थिएँ। गाउँमा काम गर्ने मान्छे पाउन मुस्किल भो। खेत बाँझो पो हुने हो कि भन्ने चिन्ता लाग्यो। खेत बाँझो राख्नुभन्दा केरा खेती गर्दा ठिक हुन्छ जस्तो लाग्यो। अनि केराका बिरुवा रोप्न सुरु गरेँ’, सुनारले भने।

धान खेती गर्दाजस्तो श्रम र कामदारका लागि ज्याला खर्च बढी नहुने र कम मेहनतमा बढी आम्दानी गर्न सकिने भएकाले केरा खेती थालेको उनले बताए। आगामी वर्ष थप १० रोपनी जग्गामा खेती विस्तार गर्ने सुनारले बताए। युवामा विदेश पलायनको समस्या बढ्दै गएको र खेतीयोग्य जमिन बाँझो हुन थालेपछि आफैंबाट व्यावसायिक खेती सुरु गरिएको उनले सुनाए।

‘हामीमा सबैजसो फलफूल तथा तरकारीजन्य बस्तु भारतबाट आयात हुन्छ। त्यही तरकारी, फलफूल आफ्नै माटोमा उत्पादन गर्न सकिए यसले कृषिमा आत्मनिर्भर बढाउँछ। युवा विदेश जानु पर्दैन। समृद्धि हामी आफैंले ल्याउने हो’, उनले भने। सुनारले केरा खेतीसँगै चार रोपनी जग्गामा कागती खेती पनि गरेका छन्।

सुरुमा दुई सय कागतीका बिरुवा लगाइएको र थप्दै जाने उनले बताए। सुनारका घरपरिवारले पनि उनको काममा साथ दिएका छन्। केरा र कागती खेतीका लागि साढे चार लाख रुपैयाँ खर्च भएको सुनारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.