आँधीबाट मर्नेको संख्या ६५ पुग्यो
मनिला : फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको संख्या ६५ पुगेको छ। फिलिपिन्सको केन्द्रीय प्रहरीका अनुसार लुजोन द्वीपमा आँधीमा परी ५४ र उत्तरी फिलिपिन्समा ११ व्यक्तिको मृत्यु भएको छ। प्राकृतिक विपत्तिमा परी ४३ जना बेपत्ता रहेका र ६४ जना घाइते भएको प्रहरीले जनाएको छ।हाल फिलिपिन्समा केही मत्थर देखिएको उक्त आँधी हङकङ र चीनको पूर्वी तटीय सहरमा प्रवेश गरेको छ।
त्यहाँ पनि आँधीले ठूलो क्षति पुर्याएको बताइएको छ।प्रहरी प्रवक्ता बेनिग्नो दुरानाले सोमबार मृत्यु हुनेको संख्या ६५ पुगेको बताए। फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीपमा म्याङ्कुट आँधी आएपछि धेरै जनधनको क्षति भएको छ। आँधीका कारण फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ। आँधीले रुखहरू ढालेको, घरका छाना उडाएको, झ्याल फुटाएको छ। लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ।
आँधीपछि गएको भूस्खलनको कारण यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ। हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण ६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी सन् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। रासस÷एएफपी
ग्रिफ्टोन : संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी छ। बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं प्रभावित भएका छन्। दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो। यो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका छन्।
केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ। ती क्षेत्रमा आँधी पनि कायमै छ। आँधीले कैयौं भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ।
टेक्सास राज्यका गभर्नर जर्ज अबोटले शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपत्कालीन प्रभावित क्षेत्र घोषणा गरेका थिए। यहाँको दक्षिणपूर्वी क्षेत्रहरूमा बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरू फुट्ने र पहिरो जाने सम्भावना छ। अधिकारीहरूले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन्। बाढी र आँधीले यहाँ अर्बैाँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको क्षति पुगेको छ।
आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ। उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ। वर्षाका कारण ती क्षेत्रहरूका नदीको सतह अस्वाभाविक रूपमा बढेको छ।
मौसमविद्हरूले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन्। उनीहरूले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन्।
मौसमविद्हरूले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन्। साथै उनीहरूले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन्।
सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ। तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ। आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो। अधिकारीले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताए।
अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ।
गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पुर्याएको थियो। टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो।
मौसम अधिकारीहरूले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन्। उनीहरूका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ। एएफपी