सदरमुकाम जोगाउन श्रमदान
बेनी : कालिगण्डकी नदीमा आएको बाढीले निर्माणाधीन पक्की पर्खाल बगाएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीय श्रमदानमा जुटेका छन् । बेनी नगरपालिकाको अगुवाइमा वडा कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघलगायत संघ संस्था र टोल सुधार समितिको सहकार्यमा श्रमदान गरेर नदी किनारमा ग्याबिन पर्खाल निर्माण सुरु गरिएको हो ।
बेनी बजार संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समितिसँग भएको ९५ थान ग्यावीयनमा ढुंगा भरेर किनारमा पर्खाल निर्माण गरि थप कटान हुन नदिन बजारबासीलाई श्रमदान आह्वान गरिएको बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले जानकारी दिए । सिँचाइ विकास तथा जलाधार संरक्षण कार्यालयको प्राविधिक र बेनपाको व्यवस्थापनमा ग्यावियन पर्खाल निर्माणका लागि नेपाली सेना र प्रहरीले पनि सहयोग गरेका छन् । बेनपा ९ गलेश्वरमा रघुगंगा नदीले गरेको कटान नियन्त्रणका लागि पति बाढीको सतह घट्ने बित्तिकै काम सुरु गरिने वडा अध्यक्ष बराइलीले बताए ।
रघुगंगा गाउँपालिका ८ स्थित छहरी भन्ने ठाउँमा गएको पहिरोले रघुगंगा थुनिएपछि आएको बाढी कालीगण्डकीमा मिसिँदा तटीय क्षेत्रका बस्तीमा कटान गरेको थियो । कालीगण्डकीले निर्माणाधीन अवस्थामा रहेको एक सय मिटर भन्दा बढी पक्कि पर्खाल बगाउँदा ४ करोड रुपैयाँ बराबरको क्षति पुग्नुका साथै जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्माणाधीन पर्खाल भत्किनुको कारण पत्ता लगाउन सिँचाइ विकास तथा जलाधार संरक्षण कार्यालयलाई अध्ययनको निर्देशन दिएको छ भने थप क्षत्ती हुन नदिन आवश्यक संरक्षणको काम गर्ने नगरपालिकाले जनाएको छ । रघुगंगा नदीको कटानका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकको राहुघाट खण्ड खुलाउन डाईभर्सन बनाएर नदीको धार परिवर्तन गराउने काम सुरु गरिएको प्रजिअ लीलाधर अधिकारीले बताए । खोलाको धार परिवर्तन गराई कटान गरेको ठाउँमा फिलिङ गरेर सडक सञ्चालनको तयारी भएको छ ।