यू-१९ क्रिकेट : जितका लागि नेपाललार्इ २४५ रनको लक्ष्य
काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आयोजनामा जारी चार टोली सम्मिलित यू–१९ एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । अफगानिस्तानले नेपाललाई जितका लागि २४५ रनको लक्ष्य दिएको छ ।
लखनउ स्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम 'बी'मा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २४४ रनको योगफल बनायो ।
नेपालका लागि पवन सर्राफ, सागर ढकाल र मोहमद संसद आलमले २–२ विकेट र रसिद खानले १ विकेट लिए ।
अफगानिस्तानका लागि ओपनर रियाज हसनले नेपालविरुद्ध शतकीय इनिङ खेले १४९ बलको सामना गरेका उनले १२ चौका र २ छक्कासहित उनले ११७ रन बनाइ नटआउट रहे । त्यसपछि बासिर खानशिरले ३२ रन, आरिफ खाने २४ रनको योगदान दिए ।
९.३ ओभरमा ४० रन बनाउँदा अफगानिस्तानको पहिलो विकेट लिएको नेपालले अन्य ब्याट्सम्यानलाई उच्च स्कोर गर्नबाट रोकेपनि ओपनर रियाज हसनको विकेट लिन नसकेपछि अफगानस्तिान ठूलो स्कोर बनाउन सफल भयो ।
आयोजक भारतको ए र बीसहित अफगानिस्तान र नेपालको राष्ट्रिय टोली सम्मिलित प्रतियोगिताको राउन्ड रोबिन लिगमा सुरुआती दुई खेलसँगै फाइनल पुग्ने अवसर गुमाएर पछि नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। फाइनल खेलमा उपाधिका लागि भारतको ए र बी टोली पनि अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल र अफगानिस्तान दुवै टोली राउन्ड रोबिन लिगको सुरुआती दुई खेलमा भारतको ए र बी टोलीसँग पराजित भएका थिए। टेस्ट टोलीको मान्यता पाएका भारत र अफगानिस्तानको युवा टोली सम्मिलित प्रतियोगितामा नेपालका लागि तेस्रो स्थानको सफलता पनि महत्वपूर्ण हुनेछ।