कम्युनिस्ट एकता प्रजातन्त्रका लागि खतरा : पौडेल
लुभेन बेल्जियम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट एकताले प्रजातन्त्र खतरामा परेको बताएका छन्।
बेल्जियमको शैक्षिक नगरी लुभेनमा १०५ औं बिपी जयन्तीको अवसरमा आयोजित ‘लोकतान्त्रिक समाजवाद र नेपालको राजनीति’ विषयक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्।
‘नेपालमा कम्युनिस्ट पार्टी बनाएर लेनिन र माओको साम्यवाद नभई कम्युनिस्ट क्याडर्सको नयाँ वर्ग जन्माउने प्रयत्न भइरहेको छ’, नेपाली कांग्रेसले खबरदारी गर्दै गरे पनि क्रियाकलाप हेर्दा इतिहासमै डरलाग्दो नयाँ वर्ग जन्माउनेतर्फ उन्मुख छ। कार्लमार्क्सको साम्यवाद दिवासप्ना मात्र हो।’
पौडेलले वर्तमान सरकार संविधान संशोधन गरेर राष्ट्रपतीय शासनतर्फ अग्रसर भएको आरोपसमेत लगाएका छन्। ‘सरकारले संविधान संशोधनको कुरा गरेको छ। तर आदिवासी जनजातिका माग सम्बोधन गर्ने भन्दा पनि राष्ट्रपतीय शासनको लागि सरकार उद्धत देखिन्छ’, नेता पौडेलले भने।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा संविधान संशोधन गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
‘दुई तिहाइको दम्भमा संविधान संशोधन गरेर नयाँ वर्ग जन्माउने षड्यन्त्र भए कांग्रेस चुप बस्दैन,’ नेता पौडेलले भने।
त्यसैगरी नेता पौडेलले विदेशमा रहेका सबै नेपालीलाई स्वदेश फर्किन आग्रह गरेका छन्। ‘विदेशमा बस्नुहुने सबैलाई स्वदेश फर्कन आग्रह गर्दछु, तपाईहरूको यो मिहिनतले नेपालमै प्रगति हुन्छ’, नेता पौडेलले भने, ‘यहाँ अधिकांश नेपाली मालिक बनेर रोजगारी सिर्जना गरेको देख्दा खुशी लाग्यो। नेपालमा यस्तै व्यवसायीको खाँचो छ।’
कार्यक्रममा आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष एवम् पूर्वसभासद नगेन्द्र कुमाल, बेनेलक्सका राजदूत लोकबहादुर थापालगायतको उपस्थिति थिायो।
कार्यक्रममा बेलायत, आयरल्याण्ड, नेदरल्याण्ड, स्पेन, लक्जेम्बर्ग र फ्रान्सका कार्यकर्ता सहभागी थिए । केजिन राई /बेल्जियम