महिला फुटबललार्इ घरमै अवसर
काठमाडौं : महिलामा फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता कमै हुन्छ। नेपालमा राष्ट्रिय स्तरका प्रतियोगिता पनि त्यति हुन सकेको छैन। घरेलु फुटबलको संरचना कमजोर बन्दा जुनियर स्तरको महिला प्रतियोगिता प्राथमिकतामै पर्न सकेको छैन। यस्तो अवस्थामा नेपाली यू-१६ महिला फुटबल टोलीले एक महिनाको अवधिमा दुईवटा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको छ।
हालै भुटानमा सम्पन्न यू-१५ साफ च्याम्पियनसिपमा भाग लिएको महिला टोलीले बुधबारदेखि घरेलु मैदानमै आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। च्याम्पियनसिपको समूह ‘ई’ को छनोट खेल नेपालले आयोजना गर्न लागेको हो। हल्चोकस्थित एपीएफको मैदानमा हुने समूहको पहिलो खेलमा नेपालले बुधबार फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली टोलीले लगातार पाएको अवसरलाई यसपटक सदुपयोग गरेरै छाड्ने दाबी गरेको छ।
‘जुनियर महिला टोलीले लगातार ठूला प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा हो। हामी यस मौकालाई खेर जान दिने छैनौं। फिलिपिन्स राम्रो टोली हो। ‘हामीले प्रतिद्वन्द्वीलाई कमजोर आँकेका छैनौं। पछिल्लो समय बहिनीहरूले राम्रो मेहनत गरिरहेका छन्। भुटानमा भएको यू-१५ साफ च्याम्पियनसिपको सहभागिताले पनि खेलाडीको मनोबल उच्च रहेको छ,’ नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले भनिन्।
भुटानमा एक महिना अघि मात्र यही छनोट च्याम्पियनसिपको तयारीमा लागि भएको यू-१५ साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा पराजित भएको थियो। प्रशिक्षक गंगाले फिलिपिन्सलाई हराउन सके अघिल्लो यात्राका लागि सहज हुने पनि बताइन््। नेपाली टोलीकी कप्तान प्रीति राईले सबै खेलाडीको आपसी तालमेल राम्रो मिलेकोले यसपटक छनोट चरण पार गरेर छाड्ने बताइन्।
यसैगरी फिलिपिन्सका प्रशिक्षक मारिल्ली बेनिटेजले घरेलु मैदानको फाइदा नेपाललाई भए पनि आफूहरूले उत्कृष्ट खेल खेल्ने बताइन्। ‘हामी राम्रो तयारी गरेर नेपाल आएका छौं। काठमाडौंको मौसमसँग घुलमिल हुनका लागि पाँचदिने अघि यही तयारी गरिरहेका छौं। टोलीका अधिकांश खेलाडी स्कुले विद्यार्थी छन्। फिलिपिन्सको लक्ष्य छनोट चरण पार गर्ने नै हो,’ बेनिटेजले भनिन्। यसैगरी समूहको अर्को टोली म्यानमारका प्रशिक्षक सानसान थिन र मलेसियाका प्रशिक्षक थिमबानगान बिन गनाईले पनि आफ्नो टोलीको अन्तिम लक्ष्य छनोट चरण पार गरेर छाड्ने दाबी गरे।
च्याम्पियनसिपका लागि नेपाली टोलीले दुई महिनादेखि तयारी गरिरहेको छ। नेपाली टोलीमा अधिकांश खेलाडी भुटानमा खेलेर आएका खेलाडी छन्। नेपालले समूह चरणको दोस्रो खेल असोज ५ गते म्यानमार र तेस्रो खेल ७ गते मलेसियासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिपको फाइनल चरणका लागि छनोट हुनेछन्।