दुर्गमका बिरामी बचाउन एयर एम्बुलेन्स सञ्चालन गरिने

दुर्गमका बिरामी बचाउन एयर एम्बुलेन्स सञ्चालन गरिने

सुर्खेत : कर्णाली प्रदेश सरकारले टेलिमेडिसिन र एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। स्वास्थ्य सेवा नपुगेका दुर्गम क्षेत्रका बिरामीलाई विशेषज्ञ सेवा उपलब्ध गराउन टेलिमेडिसिन सेवा सुरु गर्न लागिएको हो। यस्तै भौगोलिक विकटताका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै ज्यान जाने समस्या न्यूनीकरण गर्न एयर एम्बुलेन्स सञ्चालन गरिनेछ।

दुर्गममा यही महिनाभित्रै टेलिमेडिसिन सेवा सञ्चालन गर्ने प्रदेश सरकारले घोषणा गरेको हो। कर्णालीमा बिरामीले अस्पताल नपुग्दै बाटोमै ज्यान गुमाउने गरेका र बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा पाउन नसकेको समाचार अन्नपूर्णमा मंगलबार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले असोज महिनाभित्रै दुर्गमका अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिने जनाएको हो। यस्तै सडक सुविधा नपुगेका विकट क्षेत्रका सिकिस्त बिरामी र सुत्केरीको ज्यान बचाउन एयर एम्बुलेन्स सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ।

‘कर्णालीको भौगोलिक अवस्था जटिल छ, दुर्गममा बिरामीले समयमै उपचार नपाउने समस्या छ’, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘बिरामीले भरपर्दो र विशेषज्ञ उपचार पाउनुपर्छ, त्यसका लागि अब हामी यो महिनाभित्रै टेलिमेडिसिन सेवा सुरु गर्छौं। दुर्गमका सिकिस्त बिरामी र गर्भवती तथा सुत्केरी महिलाको ज्यान जोगाउन एयर एम्बुलेन्स सेवा सुरु हुन्छ, यसअन्तर्गत प्रदेश सरकारले नै हेलिकोप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर अस्पताल पुर्‍याउनेछ।’ प्रदेशका सबै अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गरिने भन्दै मन्त्री रावलले तत्कालका लागि असोजभित्रै हुम्ला र डोल्पामा सेवा सुरु हुने बताए।

हुम्ला र डोल्पा सडक सञ्जालमा नजोडिएकाले यो महिनाभित्रै त्यहाँका अस्पतालमा टेलिमेडिसिन सेवा सुरु गरिने मन्त्री रावलको भनाइ छ। यसअन्तर्गत टेलिफोन वा इन्टरनेटको माध्यमबाट विशेषज्ञ चिकित्सकहरूले दुर्गमका बिरामीसँग प्रत्यक्ष कुराकानी गर्दै उपचारका लागि परामर्श दिनेछन्।

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिन सेवामार्फत दुर्गमका बिरामीको उपचार गर्नेछन्। दुर्गममा विशेषज्ञ डाक्टरहरू उपलब्ध नभएका कारण पनि यो प्रविधि तत्कालका लागि उपयोगी हुने मन्त्रालयको दाबी छ। विस्तारै प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्य संस्थामा यो सेवा जडान गरिने भन्दै मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको हो।

यस्तै प्रदेश सरकारले सडक र यातायात सुविधा नपुगेका क्षेत्रका बिरामीका लागि भने एयर एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ। ‘बिरामीले अस्पताल नै पुग्न नपाउने समस्या छ, विकट भएका कारण बिरामी अस्पतालसम्म पुग्न नपाउने बाध्यता पनि छ’, सामाजिक विकास मन्त्री रावलले भने, ‘यस्तो अवस्थामा सरकारले एयर एम्बुलेन्सबाट बिरामीको उद्धार गर्नेछ, बिरामीको अवस्था हेरेर हेलिकोप्टरबाट अस्पतालसम्म पुर्‍याउने छौं।’

एयर एम्बुलेन्स सञ्चालनका लागि मन्त्रालयले एक करोड रुपैयाँ छुट्याएको छ। यस्तै संघीय सरकारले थप ५० लाख बजेट यसैका लागि उपलब्ध गराएको छ। यही बजेट दुर्गमका सिकिस्त बिरामी र सुत्केरीलाई अस्पतालसम्म पुर्‍याउन खर्च गरिने मन्त्रालयले जानकारी दिएको हो। एयर एम्बुलेन्सबाट दुर्गमका बिरामीलाई अवस्था हेरेर सदरमुकाममा रहेका अस्पताल र काठमाण्डौंसम्म पुर्‍याइने मन्त्री रावलले जनाए।

बिरामीको स्वास्थ्य उपचार र उनीहरूको ज्यान जोगाउन सरकार गम्भीर रहेको भन्दै मन्त्री रावलले प्रदेशका सबै जिल्ला अस्पताललाई ५० शड्ढया, प्रदेशका हरेक निर्वाचन क्षेत्रमा २५ शड्ढया र सुर्खेतमा रहेको क्षेत्रीय अस्पताललाई पाँच सय शड्ढयाको बनाउने प्रदेश सरकारको योजनासमेत सुनाए। यस्तै मन्त्रालयले दुर्गममा सुपथ मूल्यमा औषधि वितरण गर्ने योजना पनि बनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.