पर्यटक एक्लै घुम्दा दुर्घटना
पोखरा : मर्दी पदयात्रामा गएकी नेदरल्यान्डकी पर्यटक कोरनेलिया जोना भान बाटो बिराउँदा हराएको वर्ष दिन पुग्न आँट्यो । ४९ वर्षीय भान अझै फेला परेकी छैनन् । २०७४ चैत ८ गते अन्नपूर्ण आधारशिविर घुमेर पोखरा फर्कंदै गरेकी कोरियाली पर्यटक जी आईलाई बाटो बिराउँदा ८ घन्टा पछि उद्धार गरिएको थियो । एक्लै पदयात्रामा गएकी उनको साथमा एक्यापको ब्रोसर भएकाले मोबाइलबाट कार्यालयमा फोन गरेकी थिइन् । ब्रोसरका आधारमा उनैले लोकेसन बताउँदा उद्धार गर्न सम्भव भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का सूचना अधिकृत ऋषि बरालले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु, धौलागिरी उच्च हिमाली क्षेत्रको पदयत्रामा पर्यटक बिनागाइड एक्लै जानेको संख्या बढेको छ । पर्यटक बिनासहयोगी उच्च हिमाली क्षेत्रको पदयात्रामा जाँदा पर्यटक हराउने क्रम बढेको पर्यटन टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलको भनाइ छ ।
पदयात्रामा बिनासहयोगी एक्लै उच्च हिमाली क्षेत्रको पदयात्रामा निस्कने पर्यटक पदयात्रा मार्ग नचिन्दा हराउने, जंगल क्षेत्रमा अलपत्र हुने, भिर, खोलाबाट खसेर हराउने, लेक लागेर समस्यामा पर्ने गरेको टानका अध्यक्ष भुजेलले बताए । बिनागाइड पदयात्रामा जाने पर्यटक समस्यामा पर्दा उनीहरुले हारगुहारसमेत पाउँदैनन् । यसैले पर्यटकको सुरक्षा गर्न जोखिम मानिएका उच्च हिमाली क्षेत्रको पदयात्रामा अनिवार्य सहयोगी लाग्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने टान पोखराका पूर्वअध्यक्ष रामचन्द्र शर्माले बताए ।
बिनासहयोगी पदयात्रामा पर्यटक एक्लै जाँदा पर्यटक हराउने घटनाका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पदयत्रा पर्यटन जोखिम रहेको सन्देश गएको उनको भनाइ छ । बिनागाइड गएकी बेलायती पर्यटक एक वर्षअघि मनाङकी एक महिला व्यवसायीसँग गरेको असहज व्यवहारका कारण लखेटिएकी थिइन् । पर्यटकले आफ्नो गल्ती ढाकछोप गरेर स्थानीय महिलालाई एकोहोरो दोषी बनाएर अन्तर्राष्ट्रिय मिडियामा रोइलो गरेको पर्यटन व्यवसायीको भनाइ छ ।
उच्च हिमाली क्षेत्रका पदयत्रामा जाने पर्यटकले सतकता नअपनाउँदा स्थानीयसँग टसल पर्नेमात्र होइन पदयत्रा मार्ग नचिनेर हराउदा भीर, जंगल र खोलामा फस्ने गरेको व्यवसायी बताउँछन् । एक्लै पदयत्रामा जाने पर्यटकले स्थानीय संस्कृति, सभ्यता र स्थानीय नागरिकसँग राम्रो व्यवहार गर्न नसक्दा समस्यामा पर्ने गरेको नेपाल टे«किङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाइन्स मजदुर युनियन कास्कीका अध्यक्ष विजय केसीले बताए ।
जोखिम क्षेत्रको पदयात्राको सूची बनाएर त्यसक्षेत्रमा अनिवार्य गाइड र सहयोगी लैजानुपर्ने नियम बनाउनुपर्ने पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले सुझाए । ‘यसो हुँदा पर्यटक सुरक्षित हुने र पर्यटन मजदुरले पनि रोजगार पाउँछन्’, उनले भने । १० वर्षअघिसम्म पदयत्रामा जाने पर्यटकमध्ये ७० प्रतिशत पर्यटकले गाइड र सहयोगी लिएर जान्थे । पछिल्लो समय ३० प्रतिशत पर्यटकले मात्र पदयात्रामा जाँदा गाइड र सहयोगी लिएर जाने गरेको टान पोखराका पर्यटन बोर्डका पूर्वसदस्य सापकोटाले बताए ।