मधेसका मुसहरले वृक्षारोपण गरेर संविधान दिवस मनाए
बर्दिबास : मधेस केन्द्रित दलले तेस्रो संविधान दिवसलाई कालो दिनको रुपमा मनाउँदै गर्दा महोत्तरीको बर्दिबासका मुसहरले भने आफ्नो गाउँमा वृक्षा रोपण गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेसनद्वारा १६ महिना अघि निर्माण भएको एकीकृत नमूना मुसहर बस्तीका स्थानीयले 100 बोट वृक्षा रोपि संविधान दिवस मनाएका हुन्।
चुरे क्षेत्रको संरक्षणमा काम गर्दै आएका बर्दिबासस्थित सामुदायिक विकास तथा पैरवी मञ्च नेपालले उपलब्ध गराएको बिरुवाका बोट मुसहर बस्तीबासीले आफ्ना घर अगाडीको फुलबारीमा रोपेको बस्तीका युवा मञ्जय मुसहरले जनाए।
बस्तीमा वृक्षा रोपण गर्दा गाउँले मंगलबारदेखि नै खाल्टो खन्न जुटेका थिए।बुधबार बिहानैदेखि चलेको वृक्षा रोपण कार्यक्रम पाँच घण्टासम्म चलेको थियो। तराई मधेसको पर्यटकीय स्थलको रुपमा विकास भएको एकीकृत नमूना मुसहर बस्तीका सडकको दुवै तिर वृक्षा रोपण गरिएको हो। बस्तीका केटाकेटीको विशेष सक्रियता रहेको वृक्षा रोपणमा कसैले खाल्टो खनेका थिए भने कसैले फूलमा पानी हालेका थिए।
वृक्षा रोप्ने कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख विमल भट्टराई, दलित अधिकारकर्मी सन्त परियार, पूर्व शिक्षक बासुदेव महतो, समाजसेवी शंकर फुयाँललगायतको सहभागी थियो।