मुख्यमन्त्री गुरुङ चीन जाने
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आउँदो ९ गते चीन भ्रमणमा जाने भएका छन्। १५ असोजसम्मको उनको भ्रमणमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारि शर्मा, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेसमेत सहभागी हुँदैछन्।
हाइनान प्रान्तका सरकार प्रमुखको निमन्त्रणामा मुख्यमन्त्री चीन जान लागेका हुन्। हाइनान प्रान्तको विशेष प्रान्तीय दिवसमा मुख्यन्त्री गुरुङलाई निम्तो आएको प्रदेश सरकार स्रोतको भनाइ छ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार मुख्यमन्त्रीको चीन भ्रमणलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ।
भ्रमणमा प्राविधिक विद्यालय स्थापनाबारे छलफल हुने बताइएको छ। गण्डकी प्रदेशको पर्यटन पर्यटन, कृषि र शिक्षा लगायत विषय मुख्यमन्त्रीको भ्रमणको उद्देश्य रहेको मन्त्री बस्नेत बताउँछन्।
हाइनान प्रान्तसँग गण्डकीको मितेरी साइनो गाँस्ने योजनासमेत छ। चिनियाँहरुले मुख्यमन्त्रीको यसै भ्रमणका बेला साइनो गाँसिहाल्ने प्रस्ताव गरे पनि तयारी पूर्वक सम्बन्ध गाँस्ने गण्डकीको योजना छ।