संविधान दिवसमा मुख्यमन्त्री मौन, संशोधन माग्दै मन्त्री सडकमा
जनकपुरधाम : संविधान संशोधनको माग गर्दै निस्केको प्रदर्शनमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेतृत्व गरेका छन्। संविधान दिवसका दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार विरोध जुलुस निकालेको थियो।
जुलुसमा मन्त्री साह पनि हातमा कालोपट्टी बाँधेर नेतृत्व गरेका थिए। उनलाई राजपाले नै जनकपुरमा विरोध कार्यक्रमको नेतृत्वका गर्न निर्देशन दिएको थियो।
मन्त्री साहसँगै सांसद वृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, उपमेयर रिता झा, हंसपुर नगर प्रमुख रामज्ञान यादव, उपप्रमुख रेणु झालगायत प्रदर्शनमा सहभागी थिए।
राजपाले संविधान दिवसको विरोधमा मधेसका जिल्लामा साँझ सात बजेदेखि आठबजेसम्म एक घन्टा बत्ती निभाएर ‘ब्ल्याक आउट’ समेत गरेको छ।
यसैगरी प्रदेश सरकारले मनाएको संविधान दिवसमा मुख्यमन्त्री सहभागी भएनन्। प्रदेश २ को सत्ता साझेदार दलमध्ये एकले संविधान दिवसमा विरोध प्रर्दशन गरिराख्दा अर्कोले विरोध वा समर्थन केही नजनाई मौन बसेको छ।
पटक पटक संविधानमा असन्तुष्टि जनाउँदै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधान दिवसको अवसरमा प्रदेशमा आयोजित कार्यक्रममा सहभागिता समेत जनाएनन्। संघीय सरकारको परिपत्र अनुसार प्रदेश सरकारका कर्मचारीले वृक्षारोपन कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाउँदा सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले भने सहभागिता जनाएनन्।
संघीय समाजवादी फोरम नेपालबाट प्रदेश सरकारको मुख्यमन्त्री बनेका राउतले संविधान दिवसको अवसरमा शुभकामना सन्देश समेत दिएनन्। सरकारी कर्मचारी र सुरक्षाकर्मीहरुको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको थियो।
प्रदेशका प्रमुख सचिव राजेश्वरमान सिंहको नेतृत्वमा कार्यालयमा वृक्षारोपण कार्यक्रम गरिएको थियो। दिवस मनाउने क्रममा सहभागी हुन मुख्यमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराईएपनि कोही सहभागि नभएको मन्त्रिपरिषद कार्यालयका सचिव हरि फुलायलले बताए।