सहिद स्मारक ‘ए’ डिभिजन लिग : आर्मी र एनआरटीबीच उद्घाटन खेल
काठमाडौं : असोज १३ गतेदेखि सञ्चालन हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत लिग सञ्चालन समितिले बुधबार सार्वजनिक गरेको लिगको खेल तालिका ‘ड्र’ अनुसार पहिलो खेलमा आर्मीले एनआरटी प्रतिद्वन्द्वी पाएको हो। उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
तालिकाअनुसार असोज १४ गतेबाट पहिलो चरणका दैनिक दुई खेल हुनेछन्। पहिलो चरणमा असोज १४ गते ब्रिगेड ब्वाइज र मनाङ मस्र्याङ्दी तथा मच्छिन्द्र र च्यासल युथ, १५ गते फ्रेन्ड्स र थ्रीस्टार तथा जावलाखेल र नेपाल पुलिस क्लब, १६ गते हिमालयन शेर्पा र एपीएफ तथा सरस्वती र संकटा युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
चार वर्षदेखि विभिन्न बहानामा अवरुद्ध हुँदै आएको लिगको तयारीमा अहिले एन्फा र क्लबहरू जुटेका छन्। एन्फाले फुटबलमा पुनः माहोल बनाउने भन्दै पहिलो पटक रेलिगेसन बिनाको लिग सञ्चालन गर्न लागेको हो। लिगका लागि क्लबले खेलाडीको दर्ता र तयारी सुरु गरेका छन्। टोलीमा प्रत्येक क्लबले चार विदेशी (एकजना सार्क राष्ट्रको कोटा) सहित कम्तीमा १८ जना खेलाडी दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। चार महिनासम्म चल्ने लिगमा कुल ९१ खेल हुनेछन्।
खेल मिलेमतोलाई ध्यानमा राखेर एन्फाले प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ। कुल पाँच करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालन हुने लिगको विजेता टोलीले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौं हुने टोलीले क्रमशः १५ लाख, सात लाख र पाँच लाख रुपैयाँ हात पार्नेछन्। लिगको अनुशासित टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसैगरी सर्वोत्कृष्ट विधाका स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। लिगको विजेता टोलीले सन् २०१९ मा आयोजना हुने एएफसी एसिएन कप खेल्ने अवसरसमेत प्राप्त गर्नेछ। रेलिगेसन नहुने भएकोले लिगको अन्तिम १३औं र १४औं स्थानमा रहने क्लबलाई आगामी वर्ष सञ्चालन हुने ‘ए’ डिभिजन लिगमा एक र दुई अंक घटाइने एन्फाले जनाएको छ। एन्फाले लिगमा सहभागी १४ वटै क्लबलाई तयारी खर्चस्वरूप २० लाख रुपैयाँ प्रदान गरेको छ। २०७१ सालमा भएको लिगको पछिल्लो संस्करण थ्रीस्टार क्लबले जितेको थियो।