नोकिया ६.१ प्लस नेपाली बजारमा
काठमाडौं : नोकियाले नेपाली बजारमा आफ्नो पछिल्लो उत्पादन ‘नोकिया ६.१ प्लस’ सार्वजनिक गरेको छ। नोकियाप्रति पछिल्लो समय ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले नोकिया ६ सिरिजअन्तर्गत ‘६.१ प्लस’ को बिक्री सुरु गरेको हो। कम्पनीले यसको बजार मूल्य ३७ हजार ६ सय ३५ रुपैयाँ तोकेको छ।
प्रविधि र बनावटको उत्कृष्ट समि श्रणका रूपमा हेरिएको नोकिया ६.१ प्लस स्मार्टफोनलाई कम्पनीले नयाँ क्यामराका साथ सार्वजनिक गरेको छ।
५.८ इन्चको क्रिप्स फुल एचडी प्लस साथमा आएको उक्त स्मार्टफोनको स्क्रिन सुरक्षाका लागि गोरिल्ला ग्लास प्रयोग गरिएको छ। एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टममा आएको उक्त स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ६३६ चिपसेट छ।
ड्युल क्यामराका साथ आएको फोनमा कम्पनीले पछाडि १६ मेगापिक्सल र पाँच मेगापिक्सलको क्यामरा प्रयोगमा ल्याएको छ। उक्त क्यामरामा कम्पनीले एफ २.०/१.० यूएम र एफ २.४/१.१२ गरी दुई वटा अपेचरसहित उपलब्ध गराएको जनाएको छ। त्यस्तै सेल्फीका लागि एफ २.०/१.० युएम अपेचर लेन्ससहित १६ मेगापिक्सलको क्यामरा प्रयोग गरिएको छ। स्मार्टफोनमा प्रयोग भएको क्यामराको मद्दतले उत्कृष्ट फोटो/भिडियो लिन सकिनेछ। चार जीबी र्यामका साथ सार्वजनिक भएको उक्त स्मार्टफोन ६४ जीबी इन्टरनल स्टोरेजका साथ उपलब्ध भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नोकिया ६.१ प्लसमा ३०६० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ। क्विक चार्जिङ सिस्टमका साथमा आएको स्मार्टफोनमा एम्बिएन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, ई–कम्पनस, फिंगरप्रिन्ट सेन्सरलगायत सुविधा छन्। कालो र सेता रङमा उपलब्ध स्मार्टफोनमा कनेक्टिभिटीका लागि यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ ५.०, ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ।