खाने तेलमा अखाद्य लेदो
बेसीसहर : सदरमुकाम बेसीसहरमा खाने तेलमा अखाद्य लेदो पदार्थ भेटिएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनमा यस्तो भेटिएको हो। उत्तम नामको तोरीको तेलमा लेदो भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले जानकारी दिए।
मनाङे चौतारास्थित भरत रावलले सञ्चालन गरेको दिनेश ट्रेडर्समा लेदो भएको तेल भेटिएको हो। सहायक प्रजिअ थापाका अनुसार उत्तम तेल सुशील वनस्पति प्रालि पर्साले उत्पादन गरेको हो। लेदो भेटिएपछि सोही पसलबाट ४९ कार्टुन १६ पोका तेल अनुगमन टोलीले जफत गरेको छ।
यसअघि पनि लमजुङको सुन्दरबजारमा पनि सोही तेलमा लेदो भेटिएको राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीले बताए। अधिकारीका अनुसार लेदो भेटिएको उत्तम तोरीको तेल जाँचका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएपछि अखाद्य प्रमाणित भएको थियो। तर, उक्त तेल बजारमा निर्वाध बिक्रीवितरण हुँदै आइरहेको छ।
उत्पादक वा कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, काला बजारी ऐन र खाद्य ऐन अन्तर्गत कारबाही गर्न सक्ने कानुनी प्रावधान छ। उपभोक्ता संरक्षण ऐन २०५४, नियमावली २०५६ अनुसार कारबाही प्रक्रिया चलाउँदा बढीमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ। यस्तै काला बजारी ऐनअन्तरगत १० वर्ष कैद र पाँच लाख जरिवाना, खाद्य ऐन अन्र्तगत ६ महिना कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान छ। जनताको स्वास्थ्यमाथी खेलवाड गर्ने कम्पनीलाई उपभोक्ता संरक्षण ऐन अन्तरगत कारवाही प्रक्रिया चलाउनुपर्ने उपभोक्ताले माग गरेका छन्।
अनुमगनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको खाद्य सामग्री भेटिएको सहायक प्रजिअ थापाले बताए। म्याद गुज्रेका खाद्य सामग्री अनुगमन टोलीले जफत गरेको छ। चाडपर्व नजिकिँदै गर्दा व्यापारीले उपभोक्तालाई ठग्ने, म्याद गुज्रेका सामान बिक्री गर्ने, अखाद्य सामग्री बिक्री गर्ने भएकाले अनुगमनमा कडाइ गरिएको उनले बताए बताए।
सरोकारवाला निकायले अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बरबहादुर अधिकारीले बताए। सामान खरिद गर्दा उपभोक्ता आफै सचेत हुनुपर्ने, सामान खरिद गर्दा म्याद भए नभएको जाँच गरेर मात्र सामान खरिद गर्नुपर्ने उनको भनाइ छ।