कर बक्यौता १ खर्ब ६ अर्ब
करदाताबाट सरकारले उठाउन बाँकी यो करमध्ये ९० अर्ब ६२ करोड आयकर र १५ अर्ब ८१ करोड मूल्य अभिवृद्धि कर हो।
काठमाडौं : चालु आर्थिक वर्षको यस अवधिसम्म कर बक्यौता एक खर्ब ६ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। करदाताबाट सरकारले उठाउन बाँकी यो करमध्ये ९० अर्ब ६२ करोड आयकर र १५ अर्ब ८१ करोड मूल्य अभिवृद्धि कर हो। करदाताले सरकारले तोकेको समयभित्र कर नतिर्दा बक्यौता रहन गएको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुंगेलले जानकारी दिए।
‘बक्यौता कर प्रत्येक महिना घटबढ भइरहन्छ’, उनले भने, ‘कतिपय कर भने विभिन्न कारणले पनि बक्यौता रहन गएको छ।’ आयकर निर्धारण भएको १५ दिनमा तिरिसक्नुपर्नेछ भने मूल्य अभिवृद्धि कर प्रत्येक महिनाको २५ गते बुझाउनुपर्ने व्यवस्था छ। कर बक्यौता हुनुको प्रमुख कारण समयमा कर दाखिला नहुनु नै रहेको विभागको भनाइ छ।
मूल्य अभिवृद्धि कर ऐनमा तोकिएको अवधिभित्र कर नबुझाए करदाताको सम्पत्तिमाथिको दाबी, त्यसको लिलाम, बिक्री तथा नेपालबाहिर लैजान रोक लगाइने, भुक्तानी लिने र खाता रोक्का गरी बक्यौता असुल्न सकिने व्यवस्था छ।
गत मंसिरसम्म राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड रुपैयाँ थियो। सरकारलाई दिनहुँ खर्च जोहो गर्ने चिन्ता परिरहँदा कर बक्यौता दिनप्रतिदिन बढ्दो ट्रेनमा छ।
ठूला करदाता कार्यालयका अनुसार ठूला फर्मबाट उठ्नुपर्ने आयकरको बक्यौता त्यतिबेला ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको यस्तो बक्यौता ९४ करोड ७७ लाख रुपैयाँ थियो। बक्यौता बढेपछि कर तिर्न आन्तरिक राजस्व विभागले पटक–पटक सार्वजनिक सूचना जारी गरे पनि धेरै करदाताले सरकारलाई अटेर गरिरहेका छन्।
बक्यौता उठ्न बाँकी रहेको सूचीका करदातामध्ये केही राजस्व न्यायाधीकरण र केही सर्वोच्च अदालत पुगेका छन्। कर अधिकृतले निर्धारण गरेको करमा चित्त नबुझेमा प्रशासकीय पुनरवलोकन, राजस्व न्यायाधिकरण र सर्वोच्च अदालतमा करदाता जान पाउने कानुनी व्यवस्था छ। सम्बन्धित निकायबाट समयमा निर्णय नहुँदा पनि बक्यौता उठ्न नसकेको हो।
आयकरतर्फ सबैभन्दा बढी एनसेल प्राइभेट लिमिटेडको कर बक्यौता छ। ‘एनसेलको हालसम्म ६५ अर्ब कर बक्यौता छ’, उनले भने, ‘अन्यको कसैको दुई चार करोड र कसैको दुई चार लाख छ।’ एनसेलले पुँजीगत लाभकर नतिरेका कारण कर बक्यौता रहन गएको हो।
एनसेलको सेयर स्वामित्व टेलियासोनेराले एक्जियटालाई बेच्दा पुँजीगत लाभकर छली गरेको थियो। कानुनअनुसार समयमै कर नतिर्दा एनसेलको कर बक्यौता बढी हुन गएको हो। एनसेलले यो अवधिसम्म करिब २३ अर्ब पुँजीगत लाभकर तिरिसकेको छ। यसबाहेक अब टेलियासोनेराको नाममा ६५ अर्ब कर बक्यौता रहेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक धनिराम शर्माले बताए।
उनका अनुसार करमध्ये ५९ अर्ब टेलियासोनोरियाको हो भने बाँकी ६ अर्ब नेपाली लागनीकर्ता निरजगोविन्दको ६ अर्ब छ। निरजगोविन्दको अदालतमा मुद्दा छ’, उनले भने, ‘त्यसको केही पनि भएको छैन।’
पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडाले एनसेलबाट बाँकी कर असुल गर्न सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने संसद्को अर्थ समितिमा बताएका थिए। उनले स्वीडेनको कम्पनी टेलियासोनेराबाट कर असुल्ने नयाँ विकल्पका रूपमा डीडीए गर्न लागेको बताए। नेपाली कम्पनीहरूले एनसेलको डीडीए गर्न आवेदन नदिएपछि ठूला करदाता कार्यालयले विदेशी कम्पनीको खोजी सुरु गरेको हो। कार्यालयले केही दिनअघि सूचना प्रकाशित गरेर असोज २६(अक्टोबर १२) तारिखभित्र एनसेलको डीडीए गर्न इच्छुक विदेशी कम्पनीले आवेदन आग्रह गरेको छ।
यसका साथै एनसेलको २० अर्ब ५२ करोड बेरुजु देखिएको छ। यसअघि एनसेलको बेरुजु ३२ अर्ब थियो। एनसेलले ११ अर्बभन्दा बढी बेरुजु फर्स्योट गरिसकेको छ।