'साहित्य सिटामोल होइन'
आख्यानकार नयनराज पाण्डेको संस्मरण-किताब 'यार' ले २०७४ सालको पद्मश्री साहित्य पुरस्कार पाएको छ। 'यार' मा उनले आफ्ना मित्र र आफन्तसँगको निजी सम्बन्धमार्फतबाट समाजका समस्या र ती समस्याले सम्बन्धमा पार्ने असरबारे लेखेका छन्। 'निदाएँ जगदम्बा', 'नांगो मान्छेको डायरी', 'उलार', 'लू', 'घामकीरी', 'सल्लीपिर' उपन्यासका लेखक पाण्डेसँग 'सम्पूर्ण'का लागि दीपक सापकोटाले संवाद गरेका छन्ः
लेखनका सुरुवाती दिन कस्ता थिए ?
रहरले सुरु भयो। उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डेजस्ता आफन्त साहित्यमा चर्चित हुनुहुन्थ्यो। नियमित रूपमा घरमा हुलाकबाट साहित्यिक पत्रिका 'रूपरेखा' आउँथ्यो। त्यसबाहेक रेडियो नेपालको बाल कार्यक्रमले पनि बाल्यकालमा आकर्षित गर्यो। एसएलसी दिएपछि 'रूपरेखा', 'गोरखापत्र', 'मधुपर्क', 'समीक्षा', 'मातृभूमि' लगायत पत्रपत्रिकामा कविता छापिन थाले। त्यतिबेला त्यसरी रचना छापिँदा केके न भएजस्तो लाग्थ्यो। केहीले पढेँ भनेर हौसला पनि दिन्थे। त्यो हौसलाले काम गर्यो। साहित्यले समाजमा कति र कसरी प्रभाव पार्छ भन्नेतर्फ त्यति सोचिएको थिएन त्यतिबेला। लेख्न र छापिन पाए पुग्यो भन्ने लाग्थ्यो । मामाघर घुम्न काठमाडौं आएको बेला श्यामल, विमल निभा, ललिजन रावल, नकुल सिलवाललगायत अग्रज र समकालीनहरूसित भेटेपछि बिस्तारै साहित्यबारे गम्भीर बन्न थालेँ। त्यसपछि लेख्नु भनेको स्वान्त सुखाय नभएर सत्ता, सरकार, सिस्टम र समयसित निरन्तर झगडा गर्नु हो भन्ने लाग्न थाल्यो। आजसम्म लेखनमार्फत झगडा नै गरिरहेछु।
लेखनको सुरुवाततिर पत्रकारिता गर्नुभयो, फिल्म लेख्नुभयो। पत्रकारितामा सत्य लेखिन्छ, फिक्सनमा कल्पना। कल्पना र सत्यबीच द्वन्द्व हुन्छ बेलाबेला। यसको सन्तुलन गर्न फिक्सन राइटर र पत्रकारमा कसको बढी जिम्मेवारी हुन्छ ?
पत्रकारिता र सचेत लेखन सँगसँगै जस्तो सुरु भयो। एसएलसीपछि स्थानीय 'सुरमा सरोबर' भन्ने साप्ताहिक पत्रिकामा स्तम्भ लेखन सुरु गरेँ। लगत्तै त्यसमा सहायक सम्पादक पनि भएँ। काठमाडौँबाट छापिने 'धरातल' दैनिकको नेपालगञ्जस्थित संवाददाता पनि भएँ। आज फर्केर हेर्दा लाग्छ, मैले ती दिनमा आफ्नो जीवनभरिलाई पुग्ने सामग्री बटुलेको रहेछु। त्यतिबेलाका अनुभव र अनुभूति आजसम्म मलाई काम लागिरहेका छन्। त्यो मेरो मधेशको समाजभित्र पस्ने र त्यहाँका चरित्रलाई स्मृतिमा जीवित राख्ने बेला रहेछ। पछि २०४४ सालतिर काठमाडौं आएपछि यहाँ पनि केही समय पत्रकारितामा लागेँ। पत्रकारितामा सत्य आवश्यक हुन्छ। तर, साहित्यमा त त्योभन्दा बढ्ता सत्य चाहिने रहेछ। साहित्यले घटनाबारे सूचना मात्र दिँदैन, घटनाको अन्तर्यमा पस्न सिकाउँछ। घटनाका कारण र परिणाम खोतल्न सिकाउँछ। तर, एउटा कुरा भने मलाई लाग्छ, साहित्यमा लाग्न चाहनेले केही समय पत्रकारिता गरेको राम्रो !
कल्पनामा उडान भर्नुपर्छ तर खुट्टाको बूढीऔँलाले भुइँ छुनैपर्छ भन्नुहुन्छ। यो कस्तो दर्शन हो ? त्यसो हुँदा एउटा उपन्यासकार दुर्घटनामा पर्ने सम्भावना हुन्न ?
यसलाई स्थूल रूपमा बुझ्नुभयो भने त बर्बादै भयो नि। कल्पनामा उड्ने भनेको सशरीर उड्ने त होइन नि। खुट्टाको बूढीऔँलाले भए पनि जमिन छोइरहनुपर्छ भनेको साहित्य कुनै न कुनै तहमा जमिनसित, समय र समाजसित जोडिनैपर्छ भन्न खोजेको हुँ। मेरो लेखनको प्रवृत्ति त्यही हो। मलाई पनि कल्पनामा खूब उड्न मन लाग्छ। तर, केबल रुमानी कल्पनाको काम छैन। अलिकति भए पनि जमिनसित जोडिनु भनेको लेखक धेरै खालको दुर्घटनाबाट जोगिनु हो भन्ने मलाई लाग्छ।
'यार'को प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एकदमै गजब। संस्मरणमा लेखक छद्मबाट बाहिर निस्किनुपर्छ र इमानदार हुने आँट गर्नुपर्छ भन्ने सोचले 'यार' लेखको हुँ। पाठकले मेरो सोचलाई स्विकार्नुभएको छ भन्ने लागेको छ।
'यार'मा अनेक साथी, अनेक घटनाको संयोजन छ। साथीहरूप्रति इमानदार लेखन गर्नुभएको देखिन्छ। त्यस्ता केही मित्रबारे बताउनुस्, जसले तपाईंमा, लेखनमा व्यापक परिर्वतन ल्याए।
'यार' शीर्षककै संस्मरणमा मैले जुन घटनाक्रमको उल्लेख गरेको छु, त्यसले मेरो जीवनमा सम्बन्धप्रतिको अवधारणामा नै आमूल परिवर्तन ल्याइदिएको छ। मलाई लेखनमा जिम्मेवार हुनु सिकाउनुभएकै श्यामल दाइले हो। उहाँप्रति त म सदैव ऋणी रहनेछु । मित्र राजेन्द्र पराजुलीसितको मेरो मित्रतामा अनेक रङ छन्। त्यसैले आज मेरा समकालीनमा सबैभन्दा नजिकको मित्र हो उहाँ। पुरुषोत्तम सुवेदी सधैँ मेरो मार्गदर्शक बन्नुभएको छ। त्यसबाहेक मेरा अनेक कर्म, कुकर्मलाई बेहोरेर मलाई निरन्तर साथ दिइरहने मेरी जीवनसाथी सानुको पनि मेरो लेखकीय व्यक्तित्व निर्माणमा ठूलो साथ छ। उहाँहरू सबैसितको मेरो साथ र संगत मेरा जीवनका प्राप्ति हुन्।
सुरुमा तपाईंको लेखनको बाटो र लय कस्तो थियो ? अहिले फर्केर हेर्दा त्यो बाटो र सपनाप्रति कति माया लाग्छ ? बाटो सही हिँडिएछ भन्ने लाग्छ ?
सुरुवातको हिँडाइ रहरको हिँडाइ थियो। गन्तव्यको ठेगान नभएको हिँडाइ। तर, जब मलाई म कहाँ पुग्ने भन्ने बोध भयो, त्यसपछि मेरो हिँडाइको लय फेरियो। सपनाहरू पनि फेरिए। जीवनमा जे सही र गलत गरियो, त्यही सपनालाई पछ्याउनका लागि नै गरियो। तर, हरेक परिणामले नयाँ अनुभव र अनुभूति दिए र ती सबै मेरा लागि लेखनका ऊर्जा भए। त्यसैले मलाई आफू हिँडेको बाटोप्रति कुनै गुनासो छैन।
भनिरहनु परेन, तपाईं सफल लेखक हो। सफलताले मान्छेले कस्तो बनाउँछ ?
सफलताले मान्छेलाई सहिष्णु र विनम्र बनाउँछ भन्ने लाग्छ। असफलताले तनाव दिन्छ। तनावले मान्छेको स्वभाव फेरिदिन्छ। ऊ अरूको ईष्र्या गर्छ। अरूलाई खराब देख्छ। उसको तनावले उसको सारा व्यक्तित्वलाई प्रभावित गरिदिन्छ।
हाम्रा समालोचक, समीक्षकप्रति केही टिप्पणी छन् ?
लेखकले समालोचक, समीक्षकप्रति धेरै भर परिरहनु हुँदैन। जसरी सबै पाठकका आ-आफ्नै बुझाइ हुन्छन्, त्यसैले फरक-फरक समीक्षकले एउटै कृतिलाई फरक-फरक पाराले हेरिरहेका, बुझिरहेका हुन्छन्। लेखक सिर्जनाको गाडीमा सवार भएको यात्रु हो। समीक्षकहरू यता जा र उता जा भनेर बाटो देखाउन खोज्ने ट्राफिक प्रहरी हुन्। तपाईंको इच्छा हो, ट्राफिकले देखाएकै बाटोमा हिँड्ने या अलिक अगाडि गएपछि फेरि अर्कोतिर मोडिने। समाजमा ट्राफिकको महत्व छ। उसले सुरक्षित यात्राको प्रयास गर्छ। हामी लेखक कहिले अप्ठ्यारो बाटोमा पनि हिँड्नुपर्छ। कहिलेकाहीँ लेन मिचेर पनि हिँड्नुपर्छ।
'उलार'माथि नाटक बन्दै छ। बहुचर्चित उपन्यासमाथि नाटक बनाउँदा त्यसको मौलिकता, शैली र स्वरूपमा के परिर्वतन हुन सक्ला ?
नाटक बन्ने, सिनेमा बन्ने कुराहरू भइरहन्छन्। एकपल्ट मञ्चन पनि भइसकेको हो 'उलार'। तर, कस्तो बनेको थियो, मैले पनि हेर्न भ्याइनँ। 'सल्लीपिर'को पनि सिनेमाको 'कपिराइट' बेचेको छु। पटकथामा काम हुँदै छ भन्ने सुनेको छु। सिनेमा फरक विधा हो। त्यसैले उपन्यासमा जे छ, त्यही सिनेमा या नाटकमा पनि हुनैपर्छ भन्ने लाग्दैन।
नेपाली साहित्यको स्तर कस्तो पाउनुहुन्छ ? नेपाली साहित्यको भविष्य कस्तो देख्नुभएको छ ?
कस्तो छ भनेर भन्न सक्ने आधिकारिक व्यक्ति म होइनँ। तर, पछिल्लो समय लेखकमा लेखनप्रतिको अनुराग बढेको छ, नयाँ विषयमा काम गर्ने जाँगर बढेको छ। यसले भविष्य सुन्दर बनाउँछ भन्ने मेरो धारणा हो। आजको लेखनको मूल्यांकन, आजै हुने कुरा पनि होइन। साहित्य सिटामोल होइन, खायो कि असर देखियो।
आत्ममूल्यांकन गर्नुपर्दा तपाईं नेपाली लेखनमा कहाँ, कुन स्थानमा हुनुहुन्छ ?
म संघर्षरत लेखक हुँ । संघर्षमा मज्जा हुन्छ। यसले केही नयाँ लेखूँ भन्ने जोश दिइरहन्छ। मैले अझै मेरो लेखनको 'बेस्ट' दिन सकेको छैन। त्यसैले त्यसतर्फ प्रयत्नशील छु र यो मेरो लेखकीय जीवनभरि जारी रहनेछ।
नेपाली आख्यान निरन्तर प्रकाशन भइरहेका छन्। तर, गुणस्तर चाहिँ निरन्तर खस्किरहेको छ, भनिन्छ। नेपाली साहित्य किन खस्किरहेको छ त ?
आजको लेखनको अहिले नै मूल्यांकन गरिहाल्ने हतारले यस्तो धारणा निर्माण गर्छ। २०४४ सालमा मेरो पहिलो उपन्यास छापिएको थियो। त्यतिबेलाको साहित्यिक बजारमा पनि नेपाली लेखकले पहिलाको जस्तो लेख्न सकेनन् भन्ने कुरा भैरहन्थ्यो। यस्ता कुरा सबै कालखण्डमा सधैँ रहनेछन्। मैले त अचेल नेपाली साहित्यमा निरन्तर नयाँ विषय र नयाँ बहसको प्रवेश भइरहेको देखेको छु। मलाई त यो ठीक बाटोमा यात्रारत छ जस्तो लागिरहेको छ।
हाम्रोमा कस्ता विषय साहित्यमा लेखिनुपथ्र्यो ? किन लेख्न सकिएन ? कस्तो लेखिएको छ ?
ऐतिहासिक घटनाक्रमलाई पुनव्र्याख्या गर्ने खालको लेखन अलिक कम भइरहेको छ। यो धेरै ठूलो अध्ययन र साधनाको विषय पनि हो। मेरो ल्याकतले त्यस्ता विषयमा कलम चलाउन सक्दैन। किशोर साहित्य पूरै सुनसान छ। त्यतातिर पनि गम्भीर ढंगले काम हुनुपर्छ जस्तो लाग्छ। विज्ञान साहित्य पनि हामी लेखिरहेका छैनौँ। आख्यानका शिल्पगत पक्षमा अझै धेरै काम गर्नुपर्ने छ। अब लेखक अलिक सहजताबाट निस्किएर चुनौतीको सामना गर्ने ऊर्जासहित आउनुपर्छ भन्ने मलाई लाग्छ।