दसैंलाई हवाई टिकट महँगो मात्रै

दसैंलाई हवाई टिकट महँगो मात्रै

काठमाडौं : सिन्धुलीका सुमन लुइँटेल दसैंंको भोलिपल्ट काठमाडौंबाट स्याङ्जा जाने तयारीमा छन् । ६ महिनाको बालकसहित श्रीमती लिएर काठमाडौंबाट पोखरा जहाजमा जाने योजना बनाएका लुइँटेलले दुई/तीनवटा ट्राभल एजेन्सी र सीधै वायुसेवा कम्पनीसँग नै टिकट किन्न प्रयास गरे तर टिकट किनेनन् । अन्य समयजस्तै सस्तो टिकट पाइने र ३५ सयदेखि चार हजार रुपैयाँमै एउटा टिकट पाइने आशा गरेका लुइँटेलले पाँच हजारभन्दा कमको टिकट नपाएपछि हवाई यात्रा नै रद्द गरे । दुई जना काठमाडौंबाट पोखरा जान १० हजार रुपैयाँभन्दा बढी खर्च हुने भएपछि उनले सार्वजनिक सवारी नै प्रयोग गर्ने निर्णय गरे ।

लुइँटेलका अनुसार आन्तरिक वायुसेवा कम्पनीले अन्य समयमा जस्तै दसैंमा पनि सस्तो टिकट बेच्नुपर्नेमा त्यसो नगरी सबैले कार्टेलिङ गरेर सबैजसो गन्तव्यमा एउटै दर कायम गरेका रहेछन् । उनले भने, ‘काठमाडौंबाट पोखरा जान सबैको एउटै दर ५२ सय रुपैयाँ मात्रै हवाई भाडा निर्धारण गरेका रहेछन् ।’ छिटो र सहजता खोज्ने सपना सस्तो टिकट नपाएकै कारण र वायुसेवा कम्पनीको सिन्डिकेटले रोकिएको लुइँटेल दाबी गर्छन् । अरु बेला छुट र विभिन्न प्रकारको भाडादर हुने दसैंमा नै किन नहुने उनले भने ?

लुइँटेलजस्तै अन्य यात्रुलाई पनि दसैंलाई महँगा बाहेकको विकल्प छैन । आन्तरिक वायुसेवाले घटस्थापनादेखि टीकाको भोलिपल्टसम्म काठमाडौंबाट बाहिरिने यात्रुका लागि सहुलियत भाडादर हटाएका छन् । सबै वायुसेवा कम्पनीले दसैंका लागि महँगो भाडादरमा मात्रै टिकट बेचिरहेका छन् । ‘यो समय भनेको अफ सिजनको बीचमा हुने अवसर मात्रै हो, दसैंमा एकतर्फी यात्रु मात्रै हुने भएकाले वायुसेवाले आफ्नो लागत उडानको निम्ति पनि सस्तो टिकट नबेच्ने गरेको हुन्’, वायुसेवा सञ्चालक संघका प्रवक्ता तथा सीता एयरका महाप्रबन्धक घनश्याम आचार्यले भने ।

दसैंका बेला वायुसेवा कम्पनीले महँगोमा नभइ सरकारले नै तोकिएको अधिकतम मूल्यको सीमाभित्रै रहेर टिकट बिक्री गरेको आचार्यको भनाइ छ । उनका अनुसार अन्य समयमा प्रतिस्पर्धी बजारकै कारण जहाजको सिट भर्न पनि स्किम ल्याउनुपर्ने, सस्तो टिकट दिएर यात्रु आकर्षण गर्नुपर्ने हुन्छ । दसैंमा यात्रु बढी हुने र जानैपर्नेले मात्रै जहाज प्रयोग गर्ने भएकाले हवाई कम्पनीले सस्तो टिकट नबेचेको आचार्य बताउँछन् ।

बर्सेनि दसैंको समयमा वायुसेवाले नियमित भाडादरमा मात्रै टिकट काट्ने गरेकाले यो वर्ष पनि सोही व्यवस्था गरिएको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । उनका अनुसार ‘घटस्थापनादेखि टीकाको दिनसम्मलाई सस्तो टिकट बिक्री गरिएको छैन । यात्रुले चाहेकै बेला टिकट किन्न सक्ने र जहिले बुक गरेर पनि हुने व्यवस्थाका कारण सहज भएको छ । विगतमा जस्तो चाप यो पटक नहुने भएकाले अहिलेसम्म अतिरिक्त उडान गर्ने तालिका तय भएको छैन । भएकै उडान तालिका अनुसार टिकट बिक्री भइरहेको मानन्धरले बताए ।

दसैं आउन एक महिना बाँकी भए पनि महँगो÷सस्तो नभनी जानैपर्ने यात्रुले टिकट बुकिङ गरिरहेका छन् । काठमाडौंबाट, राजविराज, भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा गरी दैनिक चारवटा जहाजले १८ वटा उडान गरिरहेको श्रीले थप उडानको योजना बनाएको छैन । गत वर्षको तुलनामा मुग्लिन–नारायणघाट सडक सहज भएको, जहाजको क्षमता बढेकाले पनि यो वर्ष कम चाप हुने अनुमान मानन्धरको छ ।

जहाजको संख्या र क्षमता बढेकाले टिकट पाउनै त्यति धेरै मुस्किल नभएकाले वायुसेवाले काठमाडौंबाट जानेका लागि नर्मल र फर्कनेका लागि सस्तो टिकट दिने गरेको सिम्रिक एयरका बजार निर्देशक प्रज्जव थापाले बताए । उनले भने, ‘घटस्थापनादेखि टीकाको दिनसम्म मात्रै अलि बढी चाप हुने हो ।’ यो समयमा काठमाडौंबाट जानेलाई महँगो टिकट दिएपछि मध्ये दसैंको समयमा काठमाडौं फर्कने यात्रु कम हुने भएकाले अधिक छुट दिएर टिकट बिक्री गर्ने गरिएको थापा बताउँछन् ।

आन्तरिक वायुसेवा कम्पनीले अन्य समयमा जस्तै दसैंमा पनि सस्तो टिकट बेच्नुपर्नेमा त्यसो नगरी सबैले कार्टेलिङ गरेर सबैजसो गन्तव्यमा एउटै दर कायम गरेका छन् ।

वायुसेवा कम्पनी थोरै हुँदा सस्तो महँगो भन्ने टिकट नै नहुने भए पनि पछिल्लो समय वायुसेवा कम्पनीबीचको प्रतिस्पर्धाले नै टिकटदर फरक परिरहेको एरोलिना टुर एन्ड ट्राभलका प्रबन्धक लक्ष्मण कार्की बताउँछन् । उनका अनुसार जहाज भनेकै पैसा हुनेले चढ्ने यातायात साधन भन्ने गरेका छन् । आवश्यकपर्नेले तोकिएको भाडा तिर्नुको विकल्पै छैन । वायुसेवा कम्पनीले जुन भाडादर निर्धारण गर्छन् त्यतिकै टिकट काट्नुपर्ने र यात्रुले दसैंंमा कुनै विकल्प नपाउने कार्की बताउँछन् ।

उनका अनुसार अन्य समयमा काठमाडौंबाट भद्रपुर २७ सयमा पनि टिकट पाइने भए पनि दसैंलाई सबै वायुसेवाले नौ हजार चार सय तोकेका छन् । सबै वायुसेवाको भाडादर उस्तै छ जुनबाट टिकट काटे पनि उत्तिनै पैसा पर्ने गरी दर तय भएको छ ।

ट्राभल एजेन्सका अनुसार अन्य समयमा २९ सय ५० मा पाइने भरतपुरको टिकलाई ३७ सय ५० तोकिएको छ । काठमाडौं–धनगढी १३ हजार एक सयको दर छ । यो गन्तव्यमा अन्य समयमा सस्तो टिकट ५५ सयसम्म पाइने गरेको थियो । भद्रपुरको सस्तो टिकट २७ सयमा पाइने गरेको भए पनि अहिले नौ हजार चार सयको मात्रै, विराटनगर ५५ सयसम्मको सस्तो टिकट ७ हजार आठ सयमात्रै, भैरहवामा सस्तोमा ४७ सयमा पाइने टिकट ६४ सय मात्रै, पोखरा ४३ सयसम्म पाइने सस्तो टिकट ५२ सयको मात्रै र नेपालगन्ज ५६ सयमा पाइने सस्तो टिकट १० हजार तीन सयको मात्रै दसैंलाई उपलब्ध रहेको टिकेटिङ एजेन्सीले जानकारी दिएका छन् ।

आन्तरिक उडामा करिब ५० वटा वायुसेवा कम्पनीले दैनिक डेढ सय उडान गर्ने भए पनि धेरैको उडान सुगम क्षेत्र (सहरी विमानस्थल)मा मात्रै छ । दुर्गम क्षेत्र मानिने तुम्लिङटार, भोजपुर, ओखलढुंगासहितका गन्तव्यमा जान भने टिकटै नपाइने अवस्था छ । यी गन्तव्यमा अन्य समयमा पनि नपाइने भएकाले दसैंलाई टिकट पाउन कठिन छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.