विश्व च्याम्पियनसँग चाल चल्दा

विश्व च्याम्पियनसँग चाल चल्दा

काठमाडौं : नेपाली बुद्धिचाल खेलमा अहिलेका धुरन्धर खेलाडी हुन्, मदनकृष्ण कायस्थ । २७ वर्षीय यी भक्तपुरे खेलाडीको बुद्धिचाल खेल्ने क्षमता बेजोडको छ । त्यसैले उनी पछिल्ला वर्ष पाका र अनुभवी खेलाडीलाई लगातार पछि पार्दै नेपाल च्याम्पियन बनिरहेका छन् । मदनकृष्ण अहिले अर्को साता जर्जियामा आयोजना हुने ‘४३औं चेस ओलम्पियाड’को तयारीमा व्यस्त छन् ।

घरभित्रै चर्चित खेलाडीलाई प्रतिद्वन्द्वी बनाएर बुद्धिचालको चाल चलिरहेका उनका लागि बिहीबार ठूलो अवसर जुट्यो । नेपाली बुद्धिचाल खेलाडीका लागि सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको मुखमै कायस्थले पूर्वविश्व च्याम्पियन जिएम झु चेनसँग बुद्धिचालको चाल चल्ने कला सिक्ने अवसर पाएका हुन् । नेपाल बुद्धिचाल संघले ओलम्पियाडमा सहभागी र अन्य राष्ट्रिय स्तरका खेलाडीलाई चेनसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर जुटाइदिएको थियो ।

‘बुद्धिचालमा राम्रा खेलाडीसँग खेल्ने इच्छा सबैको हुन्छ । अझ विश्व च्याम्पियन जस्तो अनुभवी खेलाडीसँग खेल्न पाउनु हाम्रो लागि ठूलो अवसर हो’, मदनकृष्णले भने । सन् २००१ को विश्व बुद्धिचाल च्याम्पिन झु बुधबार मात्र दुईदिने भ्रमणका लागि नेपाल आएकी थिइन् । संघले नेपाली खेलाडीको स्तर विकास गर्न झुसँग काठमाडौंमा मैत्रीपूर्ण खेल खेल्ने मौका जुराइदिएको हो ।

झु चेस ओलम्पियाडकै क्रममा जर्जियामा आयोजना हुने विश्व बुद्धिचाल महासंघको चुनावी अभियानका लागि नेपालका प्रतिनिधिसँग छलफल गर्न काठमाडौं आएकी हुन् । झुले महासंघको कोषाध्यक्ष पदमा चुनाव लड्ने तयारी गरिरहेको बताइएको छ । झुसँग मैत्री खेल खेल्न झापा दमककी खुश्वु थापा पनि बुधबार नै काठमाडौं आएकी थिइन् । ओलम्पियाडमा सहभागिता जनाउन लागेकी १४ वर्षीया खुश्बुले झुसँगको खेलले आत्मविश्वास बढाएको बताइन् ।

ओलम्पियाडमा नेपालबाट सहभागिता जनाउन लागेकी खुश्वु सबैभन्दा कान्छी खेलाडी हुन् । मदनकृष्ण र खुश्बुसँगै अन्य ३० जना खेलाडीले पनि पूर्वविश्व च्याम्पियन झुुसँग मैत्रीपूर्ण खेल खेले । लाइनै राखिएका ३० वटा बोर्डमा ३० जना खेलाडीसँग झुले एकैसाथ क्रमैसँग चाल चलेकी थिइन् ।

‘नेपालका चर्चित खेलाडीसँग खेल्न पाउँदा निकै खुसी भएँ । यहाँका खेलाडी धेरै क्षमतावान् पाएँ । नेपालको आतिथ्यले पनि मेरो मन छोएको छ । बुद्धिचाल सबै उमेरका खेलाडीले खेल्नसक्ने खेल भएकाले यसको फाइदा धेरै छ’, ४२ वर्षीया झुले भनिन् ।

संघले पनि झु नेपाल आएको मौकालाई भरपूर सदुपयोग गरेको हो । ‘शीर्ष खेलाडीलाई विश्व च्याम्पियनसँग खेलाउँदा अनुभव साटिनुका साथै ओलम्पियाड खेल्ने खेलाडीका लागि थप सहयोग भएको छ’, संघका पूर्वअध्यक्ष एवं विश्व बुद्धिचाल महासंघ इथिक्स कमिटीका सदस्य राजेशहरि जोशीले भने । जोशी एसिएन बुद्धिचाल महासंघ जोनल ३.२ का अध्यक्षसमेत हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.