नक्सा सच्याऊ

नक्सा सच्याऊ

नेपालको नक्साको विषयमा फेरि बहस सुरु भएको छ। निसान छापमा प्रयुक्त देशको नक्सामा महाकालीको उद्गम लिम्पियाधुरा छुटाइएको प्रसंगबाट सुरु यो बहसले अहिले नेपालको नक्सा सम्बन्धमा धेर जानकारी उजागर गरेको छ। नेपालमा प्रयोग हुने अधिकांश नक्सा भारतमा छापिने र तिनमा अन्तर्राष्ट्रिय सिमाना रेखांकनमा नियतवश त्रुटि गरिने तथ्य उजागर भएको छ। नक्सा केवल कागजका लिखत होइनन्, देशको भूअखण्डता सुनिश्चित गर्ने आधिकारिक दस्ताबेज हुन्। नक्सामा कोरिने सीमारेखा सिसाकलमले कोरेका धर्का होइनन्, इतिहासका विभिन्न कालखण्डमा तय भएका वास्तविकता हुन्। नेपालमा प्रयोगमा आइरहेका नक्सामा यी सीमारेखा तलमाथि गर्ने प्रयास भइरहेको छ।

नक्सासम्बन्धी बहसको मुख्य चासो महाकालीको उद्गम विन्दु लिम्पियाधुराबारे हो। प्रयोगमा आइरहेका नक्सामा दार्चुला जिल्लामा पर्ने लिपुलेक-कालापानी-लिम्पियाधुरा क्षेत्र नेपाली सीमाबाहिर पारिएको छ। यो त्रुटिपूर्ण नक्साले नेपालको कुल क्षेत्रफलबाट ३७२ वर्गकिलोमिटर चोइट्याउँछ। त्यसैले यो नक्सा सच्याउनु जरुरी छ। तर नक्सालाई कसरी र के आधारमा सच्याउने भन्ने मुख्य प्रश्न हो। लिम्पियाधुरासँग जोडिने मुख्य विवाद महाकाली नदीको उद्गम कहाँ हो भन्ने हो।

विसं १८७२ चैत १ गते (सन् १८१६ मार्च ४) गते नेपाल र अंग्रेज सरकारबीच सम्पन्न सुगौली सन्धिलाई नेपालको आधुनिक सिमानाको मानक मानिएको छ। उक्त सन्धिको धारा ५ मा नेपालले काली नदीको पश्चिममा पर्ने देशसितका सम्बन्ध र सम्पूर्ण दाबी परित्याग गर्ने उल्लेख छ। यो प्रावधानले नेपालको काली नदीको पूर्वीभाग नेपाल हुने स्वीकार गरेको छ, तर काली नदीको उद्गम कुन हो भन्नेमा विवाद झिकिएको छ।

दार्चुला जिल्लामा गुंजीनजिक दुई नदीको संगम छ। तीमध्ये एउटा नदीको उद्गम त्यसभन्दा पूर्वमा रहेको लिपुलेक हो भने अर्कोको पश्चिममा रहेको लिम्पियाधुरा। गुंजीमा मिसिएर बग्ने नदी नै महाकाली हो। लिपुलेकबाट बगेर आएको नदीलाई काली भन्ने हो भने लिपुलेक नै कालीको मुहान हुन्छ। लिम्पियाधुराबाट आएको नदी काली भन्ने हो भने लिम्पियाधुरा कालीको मुहान हुन्छ। लिम्पियाधुरा कालीको मुहान भन्ने मानियो भने नेपालले मिचिएको १९६ वर्ग किलोमिटर भूभाग फिर्ता पाउनुपर्छ।

यही सन्दर्भमा नै नेपाल र भारतको सीमा निर्धारण गर्ने आधिकारिक नक्सा कुनलाई मान्ने भन्ने प्रश्न उठ्छ। यो प्रश्न उब्जिनुको पछाडि विभिन्न समयमा तयार पारिएका नक्सा कारक छन्। सुगौली सन्धिभन्दा दुई महिना पहिला सन् १८१६ जनवरी २ मा ब्रिटिस भारतले बनाएको ब्रिटिस भारतको नक्सालाई आधिकारिक पुरानो नक्सा मानिन्छ। उक्त नक्सामा लिम्पियाधुराबाट बगेर आउने नदीलाई कालीनदी भनिएको छ। सन् १८२७ मा ब्रिटिस-भारतले नै तयार पारेको अर्को नक्साले पनि लिम्पियाधुरालाई नै काली नदीको उद्गम मानिएको छ। उक्त नक्सा बेलायती संसद्द्वारा पारित ऐनअनुसार बनाइएको थियो।

त्यस्तै सन् १८३०, १८४६, १८३७, १८४९ र १८५० मा तयार पारिएका ब्रिटिस-भारतका नक्साहरूले पनि लिम्पियाधुरालाई नै कालीको मुहान निश्चित गरेका छन्। सन् १८५६ मा इस्ट इन्डिया कम्पनीका सर्भेयर जनरलले तयार पारेको नेपालको पहिलो विस्तृत नक्साले पनि लिम्पियाधुरालाई नै कालीको उद्गम बताएको छ। त्यस्तै सन् १८३४ मा जर्मनीबाट र सन् १९६७ मा रूसबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुरालाई नै काली नदीको उद्गम बताइएको छ।

सन् १८७९ मा पहिलोपटक लिम्पियाधुरालाई काली नदीको उद्गम नमान्ने गरी नक्सा तयार पारिएको पाइन्छ। सर्भे अफ इन्डियाबाट प्रकाशित सो नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई कुटी याङ्दी र लिपुलेकबाट उद्गम भएको नदीलाई काली भनेर उल्लेख गरिएको छ। यी आधारमा हेर्दा लिम्पियाधुरा नै महाकालीको उद्गम भएको प्रमाणित हुन्छ।

नेपालले आपैmंले सच्याएर प्रकाशन गर्दैमा मात्र नेपाल-भारत सीमा विवादको यो मुख्य चुरो मुद्दा सल्टिने होइन। त्यसका लागि दुई देशबीच वार्ता र सहमति हुन जरुरी छ। नेपाल-भारत सीमा संयुक्त बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) का बैठकमा नेपालले पटकपटक पुराना नक्साका आधारमा लिम्पियाधुरा-कालापानी-लिपुलेक नेपालमा पर्ने दाबी गरिआएको छ। आशा गरौं, जारी सीमा बैठकले यो मुद्दा टुंगो लगाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.