चालकको हडतालले यातायात ठप्प
धनगढी : भदौदेखि लागू भएको मुलुकी देवानी संहितामा दुर्घटनाबारे उल्लेख गरिएको प्रावधानको विरोधमा चालकले गरेको हडतालका कारण प्रदेशभरिको यातायात ठप्प भएको छ । कैलालीका तीन यातायात समिति, सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली रिभरसाइड यातायात, कञ्चनपुरका महाकाली यातायात, पवनदूत यातायात, डडेलधुराको उग्रतारा यातायात र डोटीको शैलेश्वरी यातायातका सार्वजनिक सवारी नचल्दा यात्रु मर्कामा परेका छन् ।
चार दिनदेखि प्रदेश ७ को सार्वजनिक यातायात बन्द हुँदा यात्रु अलपत्र परेका हुन् । असोज १ गते चालक र पूर्वजनमुक्ति सेनाको बन्दले यातायात सञ्चालन भएन भने २ गतेदेखि चालकले गाडी चलाएका छैनन् । मुलुकी देवानी संहितामा चालकको लापरवाहीले कसैको मृत्यु भए १० वर्षसम्म जेल सजाय हुने व्यवस्थाको चालकले विरोध गर्दै हडताल गरेका हुन् । चाडबाडका बेला पनि सार्वजनिक सवारी नचलेपछि यात्रु समस्यामा परेका छन् ।
उनीहरूले रातो नम्बर प्लेट भएका बुकिङमा जाने गाडीसमेत बन्द गरेका छन् । नेतृत्व कसैले पनि नलिएकाले आन्दोलन टुंगिने सम्भावना न्यून रहेको स्थानीय बताउँछन् । काउन्टर खुला रहे पनि यातायात मजदुरले सवारीसाधन चल्न दिएका छैनन् । सवारीसाधन नचलाउँदा यात्रु बसपार्कमा अलपत्र परेका छन् ।
चार दिनदेखि सवारीसाधन सञ्चालन नहुँदा समस्यामा परेको भारतको मुम्बईबाट फर्किएका बाजुराको बुढीनन्दा गाउँपालिका–७ का कर्णबहादुर जेठाराले बताए । ‘बिरामीको उपचार गर्न मुम्बई गएको थिएँ’, जेठाराले भने, ‘तर ४ दिनदेखिको यातायात बन्दले होटलको बास भएको छ ।’
सुदूरपश्चिम यातायात व्यवसायी संघले बिहीबार सबै चालकलाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष निस्केको छैन । दिपायल जाने यात्रु बाला सिंह पनि बसपार्कमा अलपत्र छन् । ‘गाडी कहिले चल्ने हो थाहै छैन, बसपार्कको वास भएको छ’, उनले भने । गाडीचालक चिरञ्जीवी ढुंगेलले सबै चालकलाई दोषी बनाउने गरी ऐन आएकाले विरोधमा उत्रिएको बताए । ‘चालकलाई मान्छे मार्ने रहर हुन्छ ? दुर्घटना त भैपरी आउने कुरा त हो नि !’ उनले भने ।
अज्ञात व्यक्तिले सूचना जारी गर्दैमा भएको चालकको हडतालले मजदुर संगठन, यातायात व्यवसायी पनि दोधारमा परेका छन् । ‘कसले पो बसपार्कमा आएर अब हडताल गर्नुपर्छ भनेर गयो, अहिले सबै चालक हडतालमा छन्, उनीहरूको नेता को हो ? कोसँग वार्ता गर्ने ? केही थाहा छैन, तैपनि हामीले गाडी चलाउन अनुरोध गरेका छौं’, सुदूरपश्चिम यातायात व्यवसायी पदम सापकोटाले भने । चालकको नेतृत्व नभएकाले माग पूरा हुनेमा शंका रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सचिव जितबहादुर मल्लले बताए ।
उनले चालकलाई सोह्र श्राद्ध नजिकै आइरहेको र दसैंका लागि समेत यात्रुको आवागमन बढेकाले सवारी चलाउन आग्रह गरेको बताए । ‘तर हाम्रो कुरामा उनीहरू तयार भएका छैनन्’, उनले भने । उनले यातायात मजदुर संघ÷संगठनले सरकारलाई नयाँ मुलुकी देवानी संहितामा दुर्घटनाका प्रावधान परिवर्तन गर्न सरकारलाई जानकारी गराइसकेको बताए । उनले व्यवस्थित भएर मजदुरलाई हडतालमा उत्रिन आग्रह गरे ।