एसिया कप क्रिकेट : भारतलाई चोटको चिन्ता
दुबईका : जारी एसिया कप क्रिकेट प्रतियोगिताको ‘सुपर फोर’ चरण अघिसम्म आफूलाई अपराजित राखेको भारतीय टोलीलाई आगामी खेलमा भने महŒवपूर्ण खेलाडीको चोटको समस्याले पिराल्ने भएको छ । बुधबार समूह ‘ए’अन्तर्गत पाकिस्तानविरुद्धको खेलपछि चोटकै कारण भारतले टोलीमा तीनजना खेलाडी परिवर्तन गरेको छ । बलिङ अलराउन्डर हार्दिक पान्ड्यासहित स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर श्रदुल ठाकुर भारतको एसिया कप टोलीबाट बाहिरिएका छन् ।
पाकिस्तानविरुद्धको खेलमा बलिङ गर्ने क्रममा शरीरको तल्लो भागमा समस्या देखिएपछि हार्दिकलाई मैदानबाट स्ट्रेचरमा राखेर बाहिर निकालिएको थियो । त्यसयता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले विज्ञप्तिमार्फत हार्दिकले प्रतियोगिताका बाँकी खेल खेल्न नसक्ने जानकारी गराएको छ । हार्दिकले एसिया कप सकिएलगत्तै सुरु हुने वेस्ट इन्डिजविरुद्धको शृंखलासमेत गुमाउन सक्ने अनुमान गरिएको छ ।
पाकिस्तानविरुद्धकै खेलमा फिल्डिङ गर्ने क्रममा औंलामा चोट बोक्न पुगेका अक्षरले पनि प्रतियोगिताका बाँकी खेल गुमाउने बीसीसीआईले जनाएको छ । अक्षर पाकिस्तानविरुद्धको खेलमा हार्दिक घाइते भएपछि परिवर्तित खेलाडीका रूपमा फिल्डिङका लागि मैदानमा प्रवेश गरेका थिए । उनीहरूबाहेक श्रदुलले पनि चोटकै कारण टोली छाडेका छन् ।
हङकङविरुद्ध भएको समूहगत चरणको आफ्नो पहिलो खेलमा बलिङ गर्ने क्रममा ‘हिप र ग्रोइन’मा समस्या देखिएपछि उनलाई पनि बीसीसीआईले घर फर्काएको हो । बीसीसीआईले उनीहरू तीनै खेलाडीको स्थानमा थप तीन खेलाडीलाई टोलीमा समावेश गरिसकेको छ । बीसीसीआईले अक्षरको स्थानमा रभिन्द्र जडेजा, हार्दिकको स्थानमा चहर र श्रदुलको स्थानमा सिद्धार्थ कउललाई टोलीमा समावेश गरेको छ ।
यसैबीच, एसिया कप क्रिकेटअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको छ । जितसँगै भारतले जारी प्रतियोगितामा आफूलाई अपराजित राखेको छ । पाकिस्तान र भारत दुवै टोली यसअघि नै सुपर फोर चरणमा प्रवेश गरिसकेकाले मंगलबारको खेलको नतिजा जित हारमा मात्रै सीमित रहेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जिती पहिले ब्याटिङमा आएको पाकिस्तानले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६२ रन बनाएको थियो ।
भारतले २९ ओभरमै केवल दुई विकेट गुमाएर विजयी लक्ष्य भेट्टायो । भारतको जितमा ब्याटिङतर्फ कप्तान रोहित शर्माले ३९ बलमा ५२ रनको योगदान गरे । उनले तीन छक्का र ६ चौका प्रहार गरे । शिखर धवनले ४६ रन जोडे भने अम्बाती रायडु र दिनेश कार्तिक समान ३१÷३१ रनमा अविजित रहे । शिखरले एक छक्का र ६ चौका तथा दिनेशले एक छक्का र दुई चौका हिर्काए ।
त्यसअघि भुवनेश्वर कुमारले सशक्त बलिङ गर्दै पाकिस्तानलाई सस्तो योगफलमा रोक्न मद्दत पु¥याएका थिए । म्यान अफ दी म्याच चुनिएका भुवनेश्वरले सात ओभर बलिङ गर्दै एक मेडनसहित १५ रन खर्चिएर तीन महŒवपूर्ण विकेट लिए । केदार जाधवले पनि तीन विकेट हात पारे । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ४७ रन बनाए । सोएब मलिकले ४३ रन थपे ।०००