भेटियो विश्वकै पुरानो बियर
इजरायल र अमेरिकाबाट संयुक्त रूपमा खटिएका अनुसन्धानकर्ताले १३ हजार वर्ष पुरानो बियर भेटेका छन् । यो विश्वकै सबैभन्दा पुरानो बियर रहेको अनुसन्धानकर्ताहरूको विश्वास छ । इजरायलको नातुफियन चिहान छेउमा रहेको ‘रेजफेट’ गुफामा यो बियर फेला परेको थियो ।
स्ट्यान्डफोर्ड र हाइफा विश्वविद्यालयका विज्ञहरू यस अनुसन्धानमा खटिएका थिए । स्ट्यान्डफोर्डका प्रोफेसर ली लियु भन्छन्, ‘मान्छेले बनाएको विश्वकै पुरानो बियर पत्ता लागेको छ ।’
अनुसन्धानका क्रममा गहुँ र जौबाट उक्त बियर बनाइएको संकेतहरू पाइयो । यो अन्वेषणले बियरका बारेमा दुई वटा मान्यतालाई भत्काइदिएको छ । बियरको इतिहास पाँच हजार वर्ष पुरानो मात्रै छ भन्ने तथ्य गलत भएको छ । बियर रोटीको सहायक उत्पादन हैन रहेछ भन्ने प्रमाणित भयो । ‘जर्नल अफ आर्कियोलोजिकल साइन्स’का अनुसार मान्छेको मृत्यु हुँदा चढाउनलाई बियर बनाइयो ।
‘यो डिस्कोभरीले के संकेत गर्छ भने अल्कोहल कृषिजन्य वस्तुको ‘बाँकी’ उत्पादन होइन । बरु यो त रीतिरिवाज र आध्यात्मिक क्रियाकलापका लागि उत्पादन गरिएको रहेछ,’ प्रोफेसर ली लियु भन्छन् । यो अनुसन्धान ‘जर्नल अफ आइर्कियोलोजिकल साइन्स’ मा प्रकाशित गरिएको छ ।