कर्मचारी छनौटमा आफूलाई नपारेको भन्दै स्वास्थ्यचौकीमा तालाबन्दी
बैतडी : बैतडीको पुरचौंडी नगरपालिका-९ स्थित तल्लादेही स्वास्थ्यचौकीमा तालाबन्दी गरिएको छ । प्रयोगशालाका लागि नगरपालिकाले कर्मचारी छनौटमा आफूलाई नपारेको भन्दै त्यहाँका केही स्थानीयले बिहीबार स्वास्थ्यचौकीमा तालाबन्दी गरेको तल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउँदले जानकारी दिए।
नगरपालिकाले ल्याब असिष्टेन्टका लागि दरबन्दी आह्वान गरेको र सो दरबन्दीमा स्थानीयलाई छनौट नगरेर बाहिरको मान्छे छनौट गरेको भन्दै ल्याब असिटेन्टका उम्मेदवार लोकेश कुमार भण्डारी र उनका सहयोगीले तालाबन्दी गरेको उनले बताए। उनले भने, 'दुईजना आएर एक्कासी स्वास्थ्यचौकीमा तालाबन्दी गरे। उपचारका लागि आएका बिरामी पनि त्यत्तिकै फर्काउनुपर्यो।यताको मान्छे नराखेर बाहिरको मान्छे राख्ने भन्दै तालाबन्दी गरियो।'
स्वास्थ्यचौकीमा दिउँसो १२ बजेतिर तालाबन्दी गरिएपछि कुनै सेवा प्रवाह गर्न नसकिएको इन्चार्ज साउँदले बताए । उनले भने, 'स्वास्थ्यचौकीबाट २४अै घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ ।स्वास्थ्यचौकीमा तालाबन्दी गरेपछि उक्त सेवा पनि ठप्पा भएको छ। यो विषयमा वडा अध्यक्षलाई जानकारी गराइसकेको छु। ताला खुल्यो भने बस्छु। नत्र म पनि नगरपालिकातिर जान्छु। काम नै नगर्न पाएपछि खाली बसेर के गर्नु?
यता पुर्चौडी नगरपालिकाका उपप्रमुख जानकी बमले तल्लादेहीका स्थानीयको आवेदन परेपनि आवश्यक कागजात नपुगेकोले नगरपालिकाले स्थानीयलाई ल्याब कर्मचारीको रुपमा राख्न नसकेको प्रष्ट पारिन्। उनले भने, 'परीक्षा समितिले कर्मचारी छनौट गरेको हो। स्थानीय भन्दैमा योग्यता नपुगेका मान्छे राख्न सकिदैन। सकभर हामीले स्थानीयलाई प्राथमिकता दिएका छौं। तर स्थानीय भन्दैमा सबै कुरा मिचेर राख्न सकिदैन्।' नगर उपप्रमुख बमले नपरपालिका भित्रका मान्छेलाई कर्मचारीको रुपमा छनोट गरिएको बताइन्।