प्रवेश परीक्षा नदिएकाले पनि कानुन पढ्न पाउने, कालोकोट र ब्याच भने अनिवार्य
काठमाडौँ : त्रिभुवन विश्वविद्यालय कानुन संकायले प्रवेश परीक्षामा सामेल नभएकालाई पनि कानुन तहको स्नातक तह पढ्न पाउने व्यवस्था गरेको छ। पहिले प्रवेश परीक्षा दिएकाले मात्र पढ्न पाउने व्यवस्थालाई हटाएर त्रिविले परीक्षामा सामेल नभएकाले पनि पढ्न पाउने व्यवस्था गरेको हो।
सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा. दिनानाथ पराजुलीले बताए।पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना पाउने व्यवस्था थियो।
उनका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई शुक्रबारदेखि असोज १५ गतेसम्म भर्ना खुला गरिएको बताए। अहिले करिब तीन हजार ६४५ जनाले भर्ना गरिसकेका छन्। कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करिब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो। अहिले असोजबाट पढाइ समेत सुरु भइसकेको छ।
कालोकोट र ब्याच अनिवार्य
अबदेखि कानुनमा स्नातक तह पढ्नका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको छ। स्नातकोत्तर तह र स्नातक तहकै पाँच वर्षे बीएएलएलबीमा कालोकोट र ब्याच अनिवार्य गरेको क्याम्पसले यस वर्षदेखि तीन वर्षे एलएलबीमा पनि उक्त व्यवस्था गरेको छ।
विद्यार्थीलाई अनुशासनमा राख्न र कानुनको विद्यार्थीको बोध गराउनका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको क्याम्पस प्रमुख पराजुलीले बताए।रासस