चालक नै सडकमा उत्रेर यातायात बन्द गरेपछि...
परासी : पश्चिम नवलपरासी क्षेत्रका चालक सडकमा उत्रेर सार्वजनिक यातायात बन्द गराएका छन्। शुक्रबार बिहानदेखि परासी क्षेत्रमा ट्रक, ट्याक्टर र टेम्पो छिटपुटरुपमा सञ्चालन हुन थालेपछि चालक सडकमा उत्रेर अवरोध गर्न थालेका हुन्।
उनीहरुले भूमही-भैरहवा सडकखण्डको परासी चोकमा बसेर सार्वजनिक सवारीसाधनमा रोक लगाएका छन्। अवरोधका कारण भैरहवा जान लागेका ट्रक र स्थानीय रुटमा चल्ने केही टेम्पो रोकिएका छन्। निजी कार र जीपलाई अवरोध नगरेपनि उनीहरुलाई समेत रोकेर सबै चालकको समस्या एउटै भएको भन्दै आफ्नो आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेका छन्।
मुलुकी अपराध संहितामा तोकिएको सजायप्रति असन्तुष्टि जनाउँदै चालक असोज १ गतेदेखि आन्दालोनमा छन्। जसका कारण पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा चल्ने सार्वजनिक यातायात चल्न सकेका छैनन्। आन्दोलनका कारण पश्चिम नवलपरासीमा इन्धनको समेत अभाव हुन थालेको छ।