अन्नपूर्ण मिडिया नेटवर्कको प्रादेशिक कार्यालय हेटौंडामा
हेटौंडा : अन्नपूर्ण मिडिया नेटवर्ककले प्रदेश ३ को राजधानी हेटौंडामा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ। शुक्रबार प्रादेशिक कार्यालयको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन्।
प्रदेशिक कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारको समृद्धि अभियानमा मिडिया सँगसँगै अगाडि बढ्नुपर्ने बताए। ‘सरकार र मिडियाको बाटो अलग भए समृद्धिको अभियान असफल हुन्छ’, उनले भने, ‘अभियान असफल भए जनताले दुःख पाउँछन्।’
कार्यक्रममा मुख्यमन्त्री पौडेलले संघीयतालाई संस्थागत गर्न मिडिया लाग्नुपर्नेमा जोड दिए। समृद्धिको नारा सरकारको नभइ जनताको भएको उनको भनाइ छ। अन्नपूर्णजस्तो राष्ट्रिय मिडियाले प्रादेशिक कार्यालय हेटौंडामा खोलेकोमा खुशी व्यक्त गर्दै उनले मुलुकको परिवर्तनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पारे।
‘मुलुकमा जतिपनि परिवर्तन भए ति सबै मिडियाको साथमै भएका छन्’, मुख्यमन्त्री पौडेलले भने, ‘पञ्चायती व्यवस्थाको अन्त्य, जनआन्दोलनको सफलता र सविधान निर्माण मिडियाको साथले मात्र सम्भव भएको हो। अन्नपूर्णबाट प्रदेश ३ ले समृद्धिको आशा गरेको छ।’
त्यसैगरी प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिग्राम जमरकट्टेले जनचाहना अनुसार समय सापेक्ष रुपमा मिडिया रुपान्तरण हुनुपर्नेमा जोड दिए। ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा मिडियाले भूमिका खेल्नुपर्छ’, उनले भने, ‘अन्नपूर्ण मिडियालाई यसका लागि अग्रसर हुन आग्रह गर्दछु।’
कार्यक्रममा बोल्दै एपीवान एचडी टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्रीले हरेक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने तयारी अन्तर्गत प्रदेश ३ को प्रदेशिक कार्यालय हेटौंडामा स्थापना भएको बताए।
एपीवान टेलिभिजनका बजार तथा वितरण महाप्रबन्धक विकास लामिछानेले जनताका लागि मिडिया साथीका रुपमा अगाडि बढाउन अन्नपूर्ण लागि परेको उल्लेख गरे।। प्रदेशलाई सम्बोधन गर्न नै प्रादेशिक कार्यालय स्थापना भएको उनको भनाइ छ। प्रादेशिक कार्यालयबाट एपीवान टेलिभिजनले प्रदेश स्तरीय कार्यक्रम उत्पादन गर्ने उनले बताए।
कार्यक्रमका सभापति एवम् अन्नपूर्ण मिडिया नेटवर्कका मानव संशाधन तथा प्रशासन विभागका प्रमुख सुदमकुमार सिजापतिले मिडियालाई जनताको बनाउनकै लागि प्रदेश ३ को राजधानी हेटौंडामा प्रादेशिक कार्यालय स्थापना जानकारी दिए।