म्यानमारसँग ११-१ ले पराजित नेपाल छनोट चरणबाट बाहिरियो
काठमाडौं : नेपाल एसियाली फुटबल महासंघ (एएफसी) यू-१६ उमन्स च्याम्पियनसिपको छनोट प्रतियोगिताबाट बाहिरिएको छ। समूह ईअन्तर्गत शुक्रबार भएको खेलमा म्यानमारसँग ११-१ को भारीअन्तरले पराजित भएसँगै आयोजक नेपाल छनोट प्रतियोगिताबाटै बाहिरिएको हो।
अर्काे वर्ष हुने एएफसी यू-१६ उमन्स च्याम्पियनसिपको छनोट सम्भावना जीवित राख्न नेपाललाई म्यानमारविरुद्धको खेलमा कम्तीमा बराबरीको नतिजा आवश्यक थियो। यद्यपि नेपालले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन।
नेपाल समूह ईअन्तर्गतको आफ्नो पहिलो खेलमा फिलिपिन्ससँग ४-० गोलअन्तरले पराजित भएको थियो। हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले सुरुआतबाटै खराब प्रदर्शन गरेको थियो।
नेपालले विशेषगरी पहिलो हाफमा सम्हालिन नसक्दा ठूलोअन्तरको पराजय बेहोर्न बाध्य बन्यो। खेल सुरु भएको चौथो मिनेटबाटै गोल बेहोर्न सुरु गरेको नेपाल पहिलो हाफमै १०-० ले पछि परेको थियो। दोस्रो हाफमा भने केही सम्हालिएको नेपालले एक गोल बेहोर्दा आफूले पनि एक गोल फर्काएको थियो।
नेपालका लागि दोस्रो हाफमा निकिता थोकरले एक गोल फर्काएकी थिइन्। नेपालले अब समूहगत चरणको आफ्नो अन्तिम खेलमा आइतबार मलेसियासँग खेल्नेछ।
समूहका शीर्ष दुई टोली सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिपको फाइनल चरणका लागि छनोट हुनेछन्।