नाका बन्द भएपछि ‘कर्णालीभन्दा विकट तातोपानी’
तातोपानी : तीनवर्ष अघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ। नेपाल चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याई हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान कोही ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ।
चिया पसलहुँदै १० वर्षदेखि तातोपानी गेष्ट हाउस सञ्चालन गर्दै आएकी शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछिन्। तातोपानी नाका सञ्चालन हुँदा हुने गरेको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो।
२०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उनलाई तातोपानीको घर ‘नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार’ भनेजस्तै भएको छ।
नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानीमा छन्। ‘नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ’, शेर्पाले भनिन्, ‘भूकम्पबाट त बच्यौं तर अर्को विपद् आइलागेको छ।’
सीमाको करिब पाँच सय मिटर तल कोदारीमा नाका खुल्ने आशामा चार परिवार बसिरहेका छन्। ‘अन्यत्र जाने ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन’, कोदारीमा भेटिएका पूर्णबहादुर श्रेष्ठले भने, ‘हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो।’
२०७३ साउनमा आएको भोटेकोशीको बाढीले सीमाको लिपिङ बजार ध्वस्त बनाए पनि कोदारीका केही घर बचेका छन्। सडक बाढीले कटान गरेपछि पुनः सडक निर्माण नहुँदा सीमा क्षेत्रका बासिन्दा आफूलाई कर्णालीबासीका रूपमा चिनाउँछन्। ‘सडक नहुँदा खाद्यान्न ल्याउन र बिरामी पर्दा उपचार गराउन पनि समस्या छ’, श्रेष्ठ भन्छन्, ‘कम्तिमा सडकमात्रै भए पनि केही सहज हुन्थ्यो।’
तातोपानीबाट लिपिङ जाने सडक पहिरोले बगाएपछि पैदल हिंडडुल गर्न स्थानीयले बनाएको फड्के
तातोपानीदेखि लिपिङसम्मको चार किलोमिटर खण्ड ठाउँठाउँमा कटान भएको छ। तल भोटेकोशी नदीले काट्ने र माथिबाट पहिरो आउने गर्दा पैदल हिँड्न पनि कठिन छ। सडक बन्ला अनि नाका खुल्ला र सामान्य भए पनि व्यवसाय गर्न पाइएला भन्ने आशामा गाउँ नछाडेका पासाङ ठिलेन शेर्पालाई अब सधैंका लागि नाका नखुल्ने हो की भन्ने चिन्ताले सताउन थालेको छ। ‘ठूला व्यवसायी जताबाट नाका चल्छ उतैबाट व्यापार गर्छन्’, उनी भन्छन्, ‘हामी झोलामा सामान ल्याएर स्थानीय बजारमा बेचेर जीविकोपार्जन गर्न ठूलो समस्या भयो।’
चुनावताका आफूले जिते तत्काल नाका सञ्चालनमा ल्याउँछौं भनेर भोट माग्ने नेतासँग उनी आक्रोशित छन्। ‘नाका खोल्नु त कता हो कता सडक नै नबनाएर हामीलाई कर्णाली भन्दा विकटकोे बासिन्दा बनाइदिए’, उनले आक्रोस पोखे, ‘यस्तै चाला हो भने अब नेताहरू हामी कहाँ फेरि भोट माग्न नआए हुन्छ।’
भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तातोपानी भन्सार कार्यालय
नाका खोल्ने पहलसँगै सडक छिटो निर्माण गर्न सरकारका सम्बन्धित सबै मन्त्रालयमा पुगिसकेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए। सडक नहुँदा खाद्यान्न ढुवानी, बिरामीको उपचारलगायत समस्या आएकाले तत्काल समाधानको उपाय निकाल्न उनले सरकारसँग आग्रह गरे। बाह्रबिसे तातोपानी खण्डको मर्मत र तातोपानी लिपिङ खण्ड पुनर्निर्माण गर्नुपर्नेमा पनि श्रेष्ठको जोड छ।