प्रहरीमा जागिर छाड्नेको लर्को : राजीनामा लेख्दै विदेश उड्छन् जवान
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाललाई नियुक्त गरेसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए। आईजीपी नियुक्तिमा राजनीति हाबी भएको र योग्यताको कदर नभएको भन्दै खरेल सेवाबाट बाहिरिएका थिए।
अर्का डीआईजी नवराज सिलवालले आफू एक नम्बरमा हुँदाहुँदै सरकारले ‘बाइपास’ गरेर जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेको भन्दै सर्वोच्च गुहारे। आईजीपी नियुक्ति सरकारको कार्यक्षेत्रभित्र पर्ने भए पनि सिलवालले सर्वोच्च अदालत गुहारे पनि अन्ततः प्रकाश अर्याललाई आईजीपी नियुक्त गर्यो। चन्दलाई आईजीपीको कार्यकालबाट रोक्न सिलवाल सफल भए पनि अर्यालको नियुक्ति रोक्न सकेनन्। अर्यालसँगको इगोकै कारण सिलवालले राजीनामा दिए।
माथिल्ला पदका प्रहरी कर्मचारीले इगोकै कारण राजीनामा दिँदै आए पनि तल्लो दर्जाले भने परिवार धान्न मुस्किल भएपछि वैदेशिक रोजगारीमा जान राजीनामा दिने गरेका छन्। पछिल्ला दिनमा प्रहरीमा भविष्य नदेखेको भन्दै जागिर छाड्नेको लर्को लागेको छ। एक वर्षमा मात्रै तीन जना डीआईजीसहित दुई हजार चार सय १५ जनाले जागिर छाडिसकेका छन्। सबैले घरायसी कारण देखाएर राजीनामा दिए पनि त्यसका पछाडिको कारण भविष्य नदेखेरै हो।
जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवल्दार छन्। एक वर्षमा एक हजार ६ सय ९० जनाले जागिर छाडेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। हवल्दारपछि प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र जवानले जागिर छाडेका छन्। मुख्यालयका अनुसार गतवर्ष साउनदेखि यो साउनसम्म प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल, शिला कंसाकार र नवराज सिलवालले राजीनामा दिए। प्रहरी उपरीक्षक (एसपी) सानुकाजी लामिछाने र गोरक्षसिंह भण्डारीले पनि राजीनामा दिएका छन्। यीसँगै दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी), नौ जना प्रहरी निरीक्षक, एक सय चार जना सई, दुई सय ७६ जना असई, दुई सय ८७ जना जवान र ४२ जना प्रहरी कार्यालय सहयोगीले जागिर छाडेका छन्।
१८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन्। उनीहरू जागिरपछि अन्य पेसामा लाग्दै आएका छन्। केहीले जागिरभन्दा वैदेशिक रोजगारीमा राम्रो आम्दानी देखेपछि पनि जागिर छाड्ने गरेका छन्। प्रहरीमा पेन्सन भएका कर्मचारीलाई अफगानिस्तान, इराक, सिंगापुरका विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड र त्यहाँकै प्रहरीमा राम्रो अवसर भएकाले जागिर छाड्ने क्रम बढेको प्रहरी मुख्यालयको बुझाइ छ।
‘पेन्सनमा जाने उमेरमा रिभाइज गर्नुपर्ने देख्छु। संगठनमा ट्रेन भएपछि जागिर छाड्ने प्रवृत्तिले राज्यलाई नै घाटा पुग्छ’, पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने, ‘जति बेला संगठनमा अनुभवी कर्मचारी चाहिन्छ, त्यतिबेलै छाड्दा त्यसले असर गर्छ। तर अर्को पक्ष जागिर खाएर परिवार धान्न मुस्किल परेपछि अर्को पेसा रोज्नु स्वाभाविक हो।’ राज्यले यस्ता समस्या समयमै समाधान गर्नुपर्नेमा उनको जोड छ।
प्रहरीमा मात्रै नभई सेना, सशस्त्र प्रहरी र निजामती कर्मचारीभित्र पनि यस्ता समस्या छन्। ‘बाग्लुङ घर भएका जवानले काठमाडौंमा ड्युटी गर्नुपर्योभने कोठाभाडा तिरेर कसरी काम गर्न सक्छ’, ठकुरीले भने, ‘बच्चाबच्ची पढाउनसमेत पैसा नभएपछि राम्रो आम्दानी खोज्दै विदेश जान जागिर नछाडी सुखै छैन।’
प्रहरीमा जागिर छाड्ने र नयाँ भर्ना हुने नौलो विषय नभएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए। ‘७४ हजारको संगठनमा केही छाडेर जानु स्वाभाविकै हो। अवसर नै नभएर भने होइन। पुरानाले छाडे नयाँले स्थान पाउँछन्’, उनले भने।